दुर्गा देवकोटा
टीकापुर, कात्तिक १६ । निजामति कर्मचारी युनियनले टीकापुर अस्पतालले निस्कासन गरेका महिला कर्मचारीलाई पुर्नबहाली गर्न माग गरेको छ ।
कैलालीको टीकापुर अस्पतालमा कार्यरत चार जना ए.एन.एम कर्मचारीलाई निस्कासन गरेको प्रति निजामति कर्मचारी युनियनले गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
युनियनले गरेको पत्रकार सम्मेलनमा करिव ६ वर्षसम्म स्वयम् सेवक र तीन वर्ष कर्मचारीका रुपमा गरी ९ वर्षसम्म सेवा गरेका श्रमजीबिलाई पारिश्रमिक बढाई पाउँ भनी निवेदन दिएकै कारण सेवाबाट वर्खास्त गर्ने निर्णय अलोकतान्त्रिक भएको जनाएको छ ।
पत्रकार सम्मेलनपछि नेपाल निजामति कर्मचारी युनियनका कार्यबहाक अध्यक्ष रुद्रमणि खरेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्णयलाई यथासिघ्र पुनरावलोकन गरी निस्कासित कर्मचारीलाई काम गर्ने गराउने वातावरण मिलाउन आग्रह गरिएको छ ।
युनियनले आफूहरूको माग सरल तरिकाले सुनुवाई नभएमा कडा आन्दोलनका कार्यक्रमका साथ आन्दोलनमा उत्रिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
टीकापुर अस्पताल विकास समितिले तलव बृद्धिको माग गरेको भन्दै चार जना महिला कर्मचारी (ए.एन.एम) उर्मिला घिमिरे, कोकिला कुंवर, कमला खत्री, सुमित्रा पुनलाई बर्खास्त गरेको थियो ।
प्रकाशित मिति २०७२ कात्तिक १६ गते सोमवार
Comment Here!