घरघरमा हिंसा निगरानी


प्रकाशित मिति :2015-11-02 11:27:10

मोरङका दक्षिणी गाउँहरूमा घरघरमा हिंसा निगरानी गर्ने अभियान चलेको छ । गाउँगाउँमा निगरानी समूहले काम गर्न थालेपछि हिंसाविरुद्ध महिला खुलेर बोल्न थालेका छन् ।  

 नेत्र पी. अधिकारी

netra
मोरङ । झन्डै एक वर्षअघि दादरबेरियाकी ३६ वर्षीया रेनु राजवंशीले श्रीमानबाट अलग हुने निर्णय गरिन् । श्रीमानले दिनहुँजसो कुटपिट गर्न थालेपछि उनी घर छोडेर हिँडिन् । केही दिन माइतमा बसिन् । त्यसपछि उनलाई गाउँमा गठन गरेको निगरानी समूहले महिला संरक्षणगृहमा ल्यायो । संरक्षणगृहमा धेरै दिनको ‘काउन्सिलिङ’पछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगियो । मोरङ प्रहरीमा रेनु पक्ष र उनका श्रीमान् मनोज राजवंशी पक्षका व्यक्तिलाई डाकियो । दुवै पक्षबीच लामो छलफल भयो । अन्ततः रेनु घर फर्कन राजी भइन् । घर फर्कने रेनुको निर्णयपछि उनका श्रीमान् प्रहरी कार्यालयमा डाको छोडेर रोए । उनले आफ्नो गल्ती भएको त्यतिबेलै स्वीकार गरे । अहिले रेनु–मनोजको परिवारमा मिलाप छ । दुवैजना मिलेर बसेका छन् । मनोज भन्छन्, ‘मैले पहिले ठूलो गल्ती गरेछु, अब त्यस्तो हुँदैन ।’

मोरङ थलाहा– १ की ३५ वर्षीया सुष्मा विश्वासले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन् । मदिरा सेवन गरेर उनका श्रीमान् सन्तोष विश्वासले दिनहुँजसो कुटपिट गर्न थालेपछि उनले सहन सकिनन् । त्यसपछि घर छोडेर माइत गइन् । माइतमै बसेर उनले सम्बन्धविच्छेदको मुद्दा हाल्ने तयारी गरिन् । गाउँमा महिलामाथि हुने गरेका हिंसा निगरानी गर्दै आएको निगरानी समूहका महिलाले उनलाई सम्बन्धविच्छेद गर्न दिएनन् । दुवै पक्षका व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाएर छलफल चलाइयो । छलफलपछि श्रीमान् सन्तोषले गाउँभेलासामु आफूबाट गल्ती भएको स्वीकार गरे । सन्तोषले आइन्दा कुनै पनि प्रकारका हिंसा नगर्ने प्रतिबद्धता जनाएपछि सुष्मा घर फर्किन् । सुष्मा भन्छिन्, ‘अहिले श्रीमान्ले गाली गर्न पनि छोड्नुभयो ।’

थलाहाकै ३३ वर्षीया आशा उरावलाई श्रीमान् स्वार्थी उरावले दाइजोलगायतका विभिन्न कारण देखाउँदै दिनहुँजसो कुटपिट गर्थे । मदिरा सेवन गरेर श्रीमानले पिट्ने गरे पनि उनले कसैलाई सुनाएकी थिइनन् । विवाह भएर आएदेखि नै श्रीमानले दाइजो किन नल्याएको भन्दै दैनिक कुटपिट गर्थे । एक दिन श्रीमानले पिटेर उनको हात नै भाँचिदिए । हात भाँचिएपछि बल्ल गाउँलेले थाहा पाए । त्यसपछि गाउँलेको सहयोगमा उनले निगरानी समूहमा आएर उजुरी गरिन् । निगरानी समूहले गाउँमा मुद्दा मिलाउने प्रत्यत्न गरे पनि सम्भव भएन । त्यसपछि प्रहरीचौकीमा छलफल भयो । छलफलपछि आशाका श्रीमानले गल्ती स्वीकार गरे । त्यसपछि श्रीमतीसँग दाइजोको कुरै गर्न छाडे । प्रहरीचौकीमा आएर मुद्दा मिलेदेखि श्रीमानबाट कुनै यातना नपाएको उनले बताइन् । उनले भनिन्, ‘निगरानी समूहले नयाँ जीवन दियो । परिवार पनि राम्रो भयो ।’

स्थानीयस्तरमा गठित निगरानी समूहले आफूहरूसमक्ष आएका उजुरी समाधान गर्न नसकेमा सम्बन्धित निकायमा सिफारिस गर्ने गरेको छ । कतिपय गम्भीर मुद्दामा राजनीतिक दलले दबाब दिने गरे पनि महिलाले विचलित नभईकन आफ्नो काम अघि बढाइरहेका छन् । दक्षिणी गाविस कदमहामा ससुराले बुहारीलाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा सिफारिस गरी कानुनी कारबाहीमा ल्याइएको निगरानी समूहकी अश्विनी मण्डलले बताइन् ।

नेपाल सरकारको महिला सशक्तीकरण नीतिअन्तर्गत गठित निगरानी समूहको प्रभावकारिता बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख महेश्वरी विष्टको भनाइ छ । महिला सशक्तीकरणका लागि सरकारलाई डीएफआईडीले सहयोग गरेको छ । मोरङसहित २९ जिल्लामा सञ्चालित कार्यक्रमले महिला हिंसा अन्त्यका लागि प्रत्यक्ष रूपमा सहयोग मिलेको प्रमुख विष्टको भनाइ छ । महिला तथा बालबालिका कार्यालय मोरङले महिला हिंसा बढी हुने गाविस छनोट गरी निगरानी समूहमार्फत मुद्दा मिलाउँदै आएको छ । पहिलो चरणमा दक्षिणवर्ती १० वटा गाविसमा निगरानी समूह गठन गरिएको हो । थलाहा, कदमहा, भाथिगछ, महादेवा, बुधनगर, दादरबेरिया, मझारे, बबियाबिर्ता, अमाहीवरियाती, सिसवनी जहदा गाविसका वडा–वडामा निगरानी समूह गठन गरिएको कार्यालयकी प्रमुख विष्टले जानकारी दिइन् । १० वटा गाविसमा ८० वटा निगरानी समूहले काम गरिरहेको उनको भनाइ छ ।

प्रमुख विष्टका अनुसार निगरानी समूहलाई आधारभूत कानुनी ज्ञान र अदालतमा हुने बहसबारे जिल्ला र पुनरावेदन अदालतमा लगेर प्रशिक्षण दिइएको छ । उनीहरूलाई समय–समयमा थप तालिम पनि दिने गरिएको हुन्छ । गएको आर्थिक वर्षदेखि निगरानी समूह गठन गरिएपछि हालसम्म चार सय ५७ वटा महिलामाथि हुने गरेका हिंसाका मुद्दा समाधान भएको महिला तथा बालबालिका कार्यालयको अभिलेखमा उल्लेख छ । निगरानी समूहले समाधान गर्न नसकेका ७६ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय र अदालतमा पठाइएको छ ।

निगरानी समूह गठन गरेपछि जिल्ला अदालतसम्म आउने मुद्दाको सङ्ख्या बढ्दै गएको छ । गाउँघरमै दबिएर रहेका घटना बाहिर आउन थालेपछि महिला पीडित भएर बस्नुपर्ने बाध्यता हट्दै गएको छ । गत आर्थिक वर्षमा महिला तथा बालबालिका कार्यालयबाट आएका १० वटा मुद्दा अदालतमा चलिरहेको कानुनी सहायता समिति मोरङका अधिवक्ता राजुकिरण पौडेलले जानकारी दिए । मोरङको दक्षिणी गाविसबाट बढी महिलामाथि हुने गरेका हिंसाका घटना आउने गरेको उनको भनाइ छ । पौडेलका भनाइमा कानुनी सहायता केन्द्रमा मुद्दा लडिदिनका लागि सम्बन्धविच्छेद, बहुविवाह, बलात्कारको मुद्दा आउने गर्छन् । कानुनी सहायतासम्बन्धी ऐन २०५४ अनुसार वार्षिक ४० हजारभन्दा कम आम्दानी भएका पीडित व्यक्तिको मुद्दा निःशुल्क लड्ने व्यवस्था रहेको पौडेलले बताए ।

महिला हिंसा अन्त्यका लागि निगरानी समूहले गर्ने काममा बिस्तारै राजनीतिक दल र स्थानीय अधिकारकर्मीले पनि सघाउन थालेका छन् । निगरानी समूहले समाधान गर्न नसकेका घरेलु हिंसाका मुद्दा बालबालिका कार्यालयसम्म आउने गरेका छन् । बालबालिका कार्यालयले घरेलु हिंसाका घटनालाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) मा सिफारिस गर्ने गरेको छ । ओरेकले संरक्षणगृहमा राखेर परामर्श दिने गरेको ओरेक विराटनगरकी प्रमुख विमला ढुङ्गाना बताउँछिन् ।

महिला बालबालिका कार्यालयबाट सिफारिस भएर आएका आठवटा घरेलु हिंसाका मुद्दा ओरेक कार्यालयले हेरेको ढुङ्गानाले बताइन् । उनका अनुसार घरेलु हिंसाबाट पीडित पाँचजना महिलालाई परिवारमा पुनस्र्थापना गरियो भने तीनजनाको मुद्दा अदालतमा चलिरहेको छ । ग्रामीण बस्तीहरूमा रहेका महिला अभियानकर्मी नै घरेलु हिंसाको सिकार बन्ने गरेको ढुङ्गानाको भनाइ छ । कतिपय गाउँका पुरुषमा चेतनाको अभावका कारण अभियानकर्मी महिला नै हिंसापीडित हुनुपरेको छ । कतिपय अभियानकर्मीलाई पनि संरक्षणगृहमा राखेर परिवारमा पुनस्र्थापना गर्ने गरिएको ढुङ्गानाको भनाइ छ ।
(सञ्चारिका फिचर सेवा)
(नेत्र, विराटनगरका पत्रकार हुन् ।)     

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: