सुमित्रा केःसी
रुकुम, कात्तिक १६ । विगत दशवर्षे द्वन्द्वको समयमा राज्य पक्षबाट आमा मारिएपछि बेपत्ता भएकी रोल्पा मिरुल गा वि स की एक बालिकाको परिवारसँग पुनर्मिलन भएको छ ।
जिल्ला बालकल्याण समिति रुकुमको पहलमा परिवारको खोजी गरि १४ वर्षपछि द्वन्द्व प्रभावित बालिका अमृता बुढालाई परिवारसँग पुनर्मिलन गराईएको हो । बालकल्याण समितिले १५ वर्षीय बालिका अमृतालाई उनका बुवा मुलवहादु्रको जिम्मा लगाएको छ ।
मानसिक सन्तुलन ठीक नहुँदा अमृताकी आमा मनगी बुढा एक वर्षकी नाबालिका छोरीलाई साथमा लिएर घरबाट निस्कीएको उनका बुवा मुलबहादुर बुढाले बताए । बालिकाकी आमाको रुकुम खलँगामा २०५८ पुस महिनामा राज्यपक्षबाट हत्या भएको थियो ।
आमाको हत्या भएपछि बालिकाको हेरचाह रुकुम मुसिकोटका दुर्गा बुढा र भाईसरा बुढाले गर्दै आएका थिए । उनिहरूको पनि मृत्यु भएपछि बालिका समस्यामा पर्दै आएकी थिईन ।
अमृता अहिले मुसिकोटको त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छिन । १४ वर्षपछि परिवा सँग पुनर्मिलन हुँदा निकै खुसी लागेको उनले बताइन ।
प्रकाशित मिति २०७२ कात्तिक १६ गते साेमवार
Comment Here!