बन्दको मारमा महिला


प्रकाशित मिति :2015-11-05 10:08:15

ठूलाठूला माग राखेर गरिने बन्द–हडतालले सानो–सानो काम गरेर खाने श्रमिकमाथि कतिसम्म अत्याचार गरेको हुन्छ भन्ने थाहा पाउन विराटनगर आसपासमा ज्यालादारी काम गर्ने मजदुर महिलाको समस्या हेरे पुग्छ ।

कुमार लुइँटेल

kumar luitel मोरङ । कटहरीकी झुमावती साहलाई अरूबेला भन्दा बन्द–हडतालका बेला घर–व्यवहारको गर्जो टार्न समस्या हुन्छ । दैनिक ज्यालादारीमा काम गर्ने झुमावतीलाई उद्योग बन्द भएपछि झन् समस्या पर्छ । दैनिक आठ घन्टा श्रम गरेर साप्ताहिक रूपमा ज्याला बुझ्ने उनीजस्ता मजदुरले चार हप्तासम्म पैसा पाएनन् । उद्योग नचल्दा उनीजस्तै धेरै महिला बेरोजगार बन्नुपरेको छ । महिलाले बन्द भनेर काम नपाए पनि उद्योगले कतिपय पुरुषलाई भित्रभित्रै काम लगाइरहेको झुमावतीलाई थाहा छ । तर, उनी केही गर्न सक्दिनन् । साउन र भदौ महिना झुमावती र उनको परिवारका लागि निकै कष्टकर रह्यो । उनी भन्छिन्, ‘मधेसमा लगातार दुई महिनासम्म बन्द भएपछि हामीलाई हातमुख जोर्न समस्या भयो ।’

पूर्वीतराईमा झुमावतीजस्तै बन्दका बेला बेरोजगार हुने धेरै महिलाले घरको गर्जो टार्न निकै कठिनाइ भोग्नुपरेको छ । आफ्नो कमाइबाट परिवारलाई खाना र नानाको जोहो गर्दै आएकी विराटनगर– १३ की सरिता मण्डलको समस्या पनि यही हो । उनका लागि बन्द–हडताल कालजस्तै भएर आउने गर्छ । सरिता भन्छिन्, ‘बन्द हुँदा त्यसको सबैभन्दा धेरै मार हामीलाई पर्दोरहेछ ।’ बन्दले आफूहरूलाई दुःख थपेको भन्दै उनले यो अवधिमा दैनिक उपभोग्य सामानको जोहो, केटाकेटी विद्यालय नजाँदा गर्नुपर्ने थप हेरचाह र जिम्मेवारी थेगिनसक्नु हुने बताइन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा काम गर्ने श्रमिक महिलाले बन्दमा काम पाउँदैनन् । बन्दका बेला प्रहरी सुरक्षामा कच्चा पदार्थ आयात गरी उत्पादनको कार्य जारी रहँदा पनि महिला कामदारलाई भने कामबाट विमुख गराइन्छ । सीतादेवी साह यस्तै दैनिक ज्यालादारी काम गर्न वञ्चित एक कामदार हुन् । सुनसरी खनारकी बासिन्दा उनलाई यसपटकको मधेस बन्दका क्रममा काममा नआउन भनियो, यद्यपि उद्योग पूर्णतः बन्द थिएन । सीतादेवी भन्छिन्, ‘हामीलाई नआउनु भनियो, तर केही पुरुष भित्रभित्रै काम गरिरहेका थिए ।’
त्यहाँ महिला र पुरुषबीच ज्यालामा पनि विभेद छ । ज्यालामा हुने विभेदको विषयमा केही समयअघि करिडोरका उद्योगमा काम गर्ने महिलाले गुनासो गरेका थिए । तर, उद्योग व्यवस्थापनले ज्यालाबारे कुरा उठाए काम नदिने धम्की दियो । त्यसपछि उनीहरूको बोली बन्द भयो । सरकारी नियमअनुसार दैनिक न्यूनतम आठ घन्टा काम गर्दा तीन सय १८ रुपैयाँ दिनुपर्छ । ओभरटाइम १२ घन्टा गरे चार सय ७७ रुपैयाँ दिइन्छ । तर, उद्योगले महिला र पुरुषलाई दिने ज्यालामा विभेद गरेको छ । महिलालाई तीन सय रुपैयाँ मात्र दिइन्छ भने पुरुषले चार सय ७० रुपैयाँ पाउँछन् । सीता भन्छिन्, ‘बन्दको बहाना बनाएर हामीलाई काम गर्न नआउन भनियो, सँगैका लोग्नेमान्छेहरू काममा आइरहेका छन् । हामीले काम गर्न नपाउँदा हाम्रा केटाकेटी भोकै बस्न बाध्य छन् ।’

उद्योग सङ्गठन मोरङका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा पाँच सय उद्योग सञ्चालनमा छन् । ती उद्योगमा काम गर्नेमध्ये धेरै महिला छन् । बन्दको अवधिमा २० अर्बभन्दा बढी आर्थिक नोक्सानी भएको उद्योग सङ्गठनका कार्यकारी सचिव सोम अधिकारीले बताए । उनले भने, ‘बन्दका बेला उद्योग झन् रुग्ण बनेकाले धेरै कामदारलाई असर पुगेको छ ।’ उनले यो अवधिमा उद्योग नचल्दा श्रमिकलाई ज्याला दिने काम अझ कठिन भएको बताए । महिला श्रमिकमाथि ज्यालामा विभेद हुने गरेको विषयमा भने आफू जानकार नभएको अधिकारीले बताए । तर, व्यावहारिक रूपमा श्रम गर्ने महिला बेरोजगार बन्दा भने पीडा थपिएको आफूले पनि महसुस गरेको उनको भनाइ थियो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडा भन्छन्, ‘बन्दले उद्योग र उद्योगीका समस्या चुलिने अवस्थामा मजदुरका समस्या गौण भएकोजस्तो लाग्छ । तर, यसलाई बेवास्ता गर्न भने मिल्दैन ।’ उनका भनाइमा बन्दले चौतर्फी रूपमा असर गर्छ । यसको मारमा मजदुर पनि पर्छन् । शारडाले महिला र पुरुष श्रमिकलाई ज्यालाको विषयमा आफ्नो उद्योगमा कुनै भेदभाव नरहेको दाबी गरे । आफैँ आर्थिक उपार्जन गरेर दैनिक खर्च धान्नुपर्ने बाध्यतामा रहेका महिला भने यो बेला धेरै समस्यामा पर्ने गरेको शारडा बताउँछन् ।

महिला अधिकारको क्षेत्रमा कार्यरत नारी विकास सङ्घ विराटनगरकी कार्यक्रम अधिकृत सरिता अधिकारी बन्दको प्रभाव महिलामै धेरै पर्ने बताउँछिन् । सरिताका भनाइमा दैनिक श्रम गर्नेहरू बन्दमा अझ धेरै पीडित हुन्छन् । बिहान खायो बेलुका के खाउँ भन्ने अवस्थाका धेरै परिवार महिलाले चलाएका छन् । बन्दमा उनीहरू चर्को समस्यामा पर्छन् ।

खासगरी उद्योगमा आश्रित महिला त्यसको सिकार हुने गरेको उनले बताइन् । महिलाले नै बिहान–बेलुकाको खानादेखि अन्य आवश्यकताको जोहो गर्नुपर्ने अवस्थामा समस्या चर्को हुने अधिकारी बताउँछिन् । श्रममा हुने विभेद औद्योगिक क्षेत्रको एउटा ठूलो समस्या रहेको बताउँदै उनले भनिन्, ‘धेरै अघिदेखि विभेदको सिकार बन्दै आएका महिला हेपिने काम अन्त्य हुन जरुरी छ ।’

पूर्वाञ्चलकी महिलावादी कार्यकर्ता मञ्जु साह श्रमिक महिला जुनसुकै नाममा विभेदको सिकार भइरहेको बताउँछिन् । महिलालाई कुनै पनि बहानामा गरिने विभेदको सन्देश सकारात्मक नभएकाले यसलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । साह भन्छिन्, ‘विभेदको शृङ्खला रोक्न महिला स्वयम् पनि सक्रिय हुनुपर्छ । अन्याय सहेर बस्नुहुन्न ।’
(सञ्चारिका फिचर सेवा)
(कुमार, विराटनगरका पत्रकार हुन् ।)

प्रकाशित मिति :२०७२ कात्तिक १९ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: