महिला खबर
कञ्चनपुर, कात्तिक १९ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको सिद्धनाथ निम्न माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिएको छ । जिल्ला शिक्षा कार्यालयको विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत छात्रालाई लक्षित गरी दुई लाख ५० हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको हो ।
रजस्वला भएका बेला छात्रालाई शौचालय भित्रबाटै प्याड फाल्नका लागि इन्सुलेटर अलग्गै रुपमा निर्माण गरिएको र बाहिरबाट आगो लगाएर फालिएका प्याडलाई जलाउन मिल्ने गरी शौचालय निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “छात्रामैत्री शौचालय निर्माण गरिएपछि छात्राको सहज रुपमा शौचालयको प्रयोगमा पहुँच पुगेको छ ।”
छात्रामैत्री शौचालय नहुँदा विगतमा छात्राले रजस्वला हुँदा घरमै बस्दै आएको उल्लेख गर्दै विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भन्नुभयो –´अलग्गै शौचालय निर्माणले छात्रा नियमित रुपमा विद्यालयमा आउन थालेका छन् ।
विद्यालयमा २४० मध्ये छात्राको सङ्ख्या ११४ रहेको छ । यसैगरी जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका अन्य नौ विद्यालयमा पनि २२ लाख ५० हजार रुपैयाँको लागतमा छात्रामैत्री शौचालय निर्माण गरिएको जनाएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक १९ गते बिहीवार
Comment Here!