खेमा बस्नेत
कैलाली, कात्तिक १९ । अत्तरिया नगरपालिका २ मालाखेतीमा रहेको खानेपानीको धाराले कुनै जातीलाई विभेद गरेको छैन् । स्थानीय ब्राम्हण समुदायका मानिसको जमिनमा रहेको उक्त धारामा सबै समुदायका मानिसहरूले सहज रुपमा पानी खान पाउँछन् । धारामा सबै जातका मानिसले पानी भरेको देख्दा जातीय विभेद अन्त्य भएको देखिन्छ । त्यो धारामा गैैर दलित र दलित दुबै समुदायका मानिसहरू लाइनमा क्रमशः पानी भर्ने गर्दछन् । नवज्योती दलित महिला समुहकी अध्यक्ष शान्तिदेवी विकको पहलमा अत्तरिया नगरपालिकाले निर्माण गरेको उक्त पानीको धारा दलित र गैर दलित समुदायका मानिसहरूको संयुक्त धारा हो ।
पहिला दलितहरूलाई पानीको धारा छुन समेत नदिने क्षेत्री बाह्मण समुदायका मानिसहरू आजकाल एकै ठाउमा पानी भर्ने गरेका छन् ।
दलित र गैरदलितको खानेपानीको लागि संयुक्त धारा निर्माण भएपछि दलित र गैरदलित विचमा विभेद अन्त्य गर्न मद्धत मिलेको ५७ वर्षीय नन्ददेवी जोशीले बताइन् । ‘बगेको पानीको के दोष, आखिर बगेको गंगाको पानी सबैले जल भनेर शिरमा हाल्छन्’ जोशीले भनिन् ‘पानीमा सबैको बराबरको हक लाग्छ ।’
पानीको बहाना लिएर एकै ठाउँमा भेला हुन पाउँदा दलित र गैरदलित समुदायका मानिसहरू विच एक आपसका कुराहरू आदानप्रदान हुन थालेको छ । जसले गर्दा सामाजिक र संस्कारिक विकृति अन्त्यको लागि सकारात्मक भूमिकाको निर्माण हुने गरेको छ । ‘एक आपसमा कुराकानी हुने भएपछि दुवै समुदाय विचको दुरी घ्टदै जान्छ’ स्थानीय नन्दादेवीले भनिन् ‘धाराले विभेद अन्त्य गर्न महत्वपूर्ण काम गरेको छ ।’ यसअघि उक्त टोलमा सकारात्मक वातावरण सिर्जन गर्नको लागि दलित र गैरदलित सुदायका मानिसहरूको लागि यस खालको अवसर थिएन । धारा निर्माण पछि क्षेत्री, बाहुन,दलित सबै समुदायका मानिसहरू एकै धाराको पानी खान थालेको स्थानीय ६० वर्षीय जगदेवी कामी बताउँछिन् ।
‘पहिले क्षेत्रीनी,बाहुनी,कमीनी भनेर नामले बोलाउँथे । धारा छुन दिइदैनथ्यो, छोइएमा सुनपानीले शुद्ध गरिन्थ्यो’ कामीले भनिन् ‘अहिले त्यो व्यवहार परिवर्तन हुँदै आएको छ, हामीले दलित हुँदा पाएको विभेद छोराछोरी भोग्न परेको छैन ।’ जगदेवीका अनुसार अहिले सो वस्तीमा जुुनसुकै समुदायका विहेवारी हुँदा जातभातको विभेद नगरी सहयोग आदनप्रदान समेत हुने गरेको छ ।‘अहिले दलित वा गैरदलित दुवै समुदायका मान्छे पर्दा जन्ती र मर्दा मलामी जाने गरेका छन्’ उनले भनिन ‘सैबले सबैप्रति समान व्यहार गरेको देख्दा खुसी लाग्छ ।’
धाराको निर्माणले नै दलित र गैरदलित विचको सम्बन्ध सुधार भएको स्थानीय हेमा विकको बुझाई छ । जातीय विभेद हुँदै गएको भएपनि यसअघि अहिलेको जस्तो नभएको उनले बताइन् ।‘यसअघि विभेद विस्तार कम हुँदै गएको थियो’ हेमाले भनिन् ‘धारा निर्माण भएपछि भने दुवै समुदायका विच भाइचाराको सम्बन्ध निर्माण भएको छ ।’
गैरदलितको धारामा छुन समेत नपाएकी हेमा आजकाल दलित, ब्राम्हण, क्षेत्री सबै समुदाका मानिसहरू पानी खाने धारामा पानी भर्न पाउँदा खुसी छिन् । ‘पहिले धारा छुँदा गाली पाइने भएपनि आजकाल त्यस्तो छैन् । हामीहरू सँगै पानी भर्छौ’ हेमाले भनिन् ‘व्यवहार पनि धेरै राम्रो गर्छन् ।’ यसअघिसम्म दलितले धारा छोएमा सुनपानी छर्केको देखेकी लक्ष्मी विक अहिले गैरदलितबाट हुने व्यवहार प्रति खुसी देखिएकी छिन् ।
प्रकाशित मिति २०७२ कात्तिक १९ गते बिहीवार
Comment Here!