व्यावसायिक कृषिले फेरियो जीवन


प्रकाशित मिति :2015-11-08 12:30:38

चुलो र चौकोमा सिमित रुपन्देहीका महिला व्यावसायिक कृषि क्षेत्रमा संलग्न भएपछि उनीहरूको आर्थिक र सामाजिक दुवै हैसियत बदलिएको छ ।

विष्णु घिमिरे

____ ______ ____ _____ ________ ______ __ ______ ______ ______, _____ _____

आम्दानीको स्रोत केही नभएपछि ज्यालादारी गर्ने र वनमा दाउरा खोजेर बिक्री गर्ने पार्वती सुनारकोे जीवनमा व्यावसायिक कृषिले ठूलो परिवर्तन ल्याइदिएको छ । उनी अहिले सबै खर्च कटाएर पनि वार्षिक झण्डै २ लाख रुपैयाँ आम्दानी गर्छिन् । उनले एकल रुपमा व्यावसायिक कुखुरा, बाख्रा र बंगुर पालन र तरकारी खेती गरेकी छन् । सामूहिक रुपमा बेसार खेती पनि गरेकी छन् । कृषिमा लगनशिल भएवापत उनले राष्ट्रियस्तरको पुरस्कार समेत पाएकी छन् ।

सफल किसानलाई पुरस्कृत गर्दै आएको हेफर इन्टरनेसनल नेपालले उनलाई २०७० असोजमा उत्कृष्ट महिला स्वणर््िाम प्रतिभा पुरस्कारबाट सम्मान ग¥यो । उनकै टोलमा भव्य कार्यक्रम गरेर नगद ७० हजार प्रदान गरियो । ‘धेरै पढाइ, सीप र नयाँ प्रविधि नजान्दा पनि आम्दानी गर्न सकिने भएकाले व्यावसायिक कृषि हामी जस्ता महिलाका लागि उपयोगी रहेछ’ पार्वतीले भनिन् ‘यही कामले दाम पनि दिलायो । नाम पनि दिलायो ।’

बुटवल–१५ मा रहेको पिछडिएको दलित बस्तिकी पार्वती सुनारको विगत निकै दर्दनाक थियो ।  डेढ कठ्ठा जग्गा र त्यसमा बनेको झुप्रो घर बन्धकी राखेर दुई लाख १० हजार ऋण लिएकी पार्वतीले ज्यालादारीले जीवन धान्न नसक्ने देखेपछि २०६५ देखी दुईवटा बाख्रा पाल्न सुरु गरिन् । त्यसको आम्दानीबाट कुखुरा र बंगुर पाल्न र तरकारी खेती गर्न थालिन्  । उनले सामूहिक खेतीमा पनि हात अगाडि बढाइन । पाँच जनाको समूह बनाएर चार कठ्ठामा घा“स खेती तथा ३ कठ्ठामा बेसार खेती गरिन् । ‘यसबाट सोचेभन्दा बढी आम्दानी भयो ।’ पार्वतीले सुनाइन् ।

व्यावसायिक कृषकका रुपमा स्थापित छन् रुपन्देही पर्रोहाकी सुजनी चौधरी । १० वर्षअघिसम्म उनी तिनाउ नदीमा गिट्टी कुटेर गुजारा चलाउँथिन् ।  यसै समयमा गाँउमा महिला समूह गठन भयो । उनी पनि समूहमा आवद्ध भइन् । समूहबाट ऋण लिएर बाख्रा पालन र व्यावसायिक तरकारी खेती थालिन् । यसले उनको जीवनमा छोटो समयमा धेरै परिवर्तन ल्यायो । ४ कठ्ठा जग्गा किनिन् । ४ कोठे घर बनाइन् । व्यावसायिक कृषिबाट थोरै समयमा धेरै प्रगति गरेको भन्दै हेफर इन्टरनेसनल नेपालले उनलाई २ वर्षअघि स्वर्णिम पुरस्कारबाट सम्मान गर्‍यो । ‘मेहनत गर्न सके आम्दानी पनि राम्रै छ ।’ ७० हजार रुपैयाँसहित प्रंशसापत्र पाएकी सुजनीले भनिन् ‘घर छोडेर अन्त जान नपर्ने र परिवार सम्हाल्दै व्यवसाय सम्हाल्न सकिने भएकाले व्यावसायिक कृषि महिलाका लागि राम्रो छ ।’

रुपन्देहीमा १ सय २ वटा कृषि सहकारी छन् । कृषि सहकारीले कृषिमा लाग्न चाहनेहरूका लागि सहुलियतमा ऋण दिन थालेपछि पनि रुपन्देहीका धेरै गृहिणी महिला व्यावसाियक कृषक बनेका छन् । त्यसमध्येकी हुन् तिलोत्तमा १२ की समकुमारी नेपाली । तीन वर्ष अगाडि कृषि सहकारीबाट ३ लाख रुपैयाँ ऋण लिएर उनले बंगुर पालन शुरु गरेकी थिइन् । सुरुमा तीन वटा माउ र एउटा पाठो किनेकी उनले अहिले १७ वटा ठूला वंगुर पु¥याएकी छन् । पाठापाठी ३३ वटा छन् । ३१ वर्षे समकुमारीको परिवारमा पति र दुई बच्चा छन् । परिवारको खर्च राम्रैसँग चलेको छ । आर्थिक समस्या हट्दै गएको छ । उनले भनिन्, ‘अहिले त बंगुर पालनबाट वार्षिक ९० हजार आम्दानी गर्ने भएकी छु ।’

समयमा ऋण तिर्दै र आम्दानी गर्दै गएपछि उनी सहकारीबाट समेत पुरस्कृत भएकी छन् । सहकारीकी व्यवस्थापक शिवा पौडेल सहकारीबाट ऋण लिएर राम्रो सदुपयोग गरेकाले उनलाई सम्मान गरिएको बताउँछिन् । यसले अरु महिलालाई पनि कृषि गर्न उत्साह थपिने उनी सुनाउँछिन् ।

तिलोत्तमा १० की दिपा थारु व्यावसायिक कृषिबाट आर्थिक पक्ष सुधार गर्न लागि परेकी छन् । एकल महिला दिपाले सहकारीबाट ऋण लिएर ४ वर्षदेखि भैंसी पालन थालेकी हुन् । यसबाट राम्रो आम्दानी गर्दै गएपछि उनको आथिर्क अवस्था सुधार हुँदै गएको छ । भैंसीको दुध विक्रि गर्दै सहकारीको ऋण तिर्दै आएकी उनी सानो सहयोगले पनि धेरै सुधार आएकोमा खुशी छन् । उनको मिहिनेतको प्रंसशा गर्दै सहकारीले उनलाई पुरस्कृत गरेको छ ।

रुपन्देही कृषि सहकारी संघकी अध्यक्ष झुपा न्यौपानेका भनाइमा, ‘गाउँ—गाउँमा सहकारी खुलेर सहुलियतमा ऋण दिन थालेपछि गृहिणी महिला व्यावसायिक कृषक बनेका छन् ।’ परम्परागत सीपलाई केही निखार्दा मात्रै पनि व्यावसायिक कृषि अंगाल्न सकिने भएकाले धेरै महिला यता आकर्षित भएको उनले बताइन् । सहकारी र महिला समूहका माध्यमबाट व्यावसायिक कृषिमा लागेका महिला व्यावसायिक रुपमा सफल बन्दै गएका छन् । पछिल्लो समय समूहमा आवद्ध भइ महिला कृषिमा लगनशील हुने क्रम बढेसँगै उनीहरूको जीवनस्तरमा परिवर्तन आएको छ । राम्रो काम गरेकाहरूलाई जिल्ला कृषि कार्यालयले पनि पुरस्कृत गरेर प्रोत्साहन गर्ने गरेको छ । बालिविकास अधिकृत जयवहादुर महत्राका अनुसार गतवर्ष निरन्तर कृषक महिला समूह, चेतनशील महिला कृषक समूह र कालिकामाई महिला कृषक समूह पुरस्कृत भएका थिए ।

कृषि विकास कार्यालयको तथ्यांकमा रुपन्देहीमा ६५ प्रतिशत महिला कृषि कर्ममा छन् । उनीहरूले खेत जोत्ने बाहेक कृषिका लागि गनुपर्ने सबै काम गर्दछन् । जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारी माछा पालन, तरकारी तथा च्याउ खेतीमा महिलाहरूको आर्कषण बढेको बताउँछन् । महिलाहरू तरकारी, च्याउ खेती तथा माछा पालनमा बढी आर्कषित भएको उनी बताउँछन् ।

(घिमिरे नयाँपत्रिका दैनिकका बुटवल संवाददाता हुन् । )

प्रकाशित मिति :२०७२ कात्तिक २२ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: