महिला खबर
धरान, कात्तिक २२ । धरानको सर्दुखोला किनारमा रहेको सगरमाथा वस्तीकी निर्मला राईको उमेर ४५ वर्ष कट्यो । तीन छोराछोरी र वृद्ध श्रीमान भएकी उनी परिवारको गुजारा चलाउन दिनभर गिट्टी कुट्छिन् ।
सानैदेखि गिट्टी कुटेकी निर्मलाका हात धेरै चोटी ढुंगा र ह्याम्मरले थिचिए, पटक–पटक रगत बग्यो । आँखामा ढुंगाको धुलो त कति प-यो हिसाब नै छैन । आफूभन्दा १५ वर्ष जेठा श्रीमान वृद्ध छन् । उनले हप्तामा २ सय बेल्चा गिट्टी जम्मा गर्छिन् । ठेकेदारले आएर प्रति बेल्चाको ६ रुपैयाँका दरले गिट्टी किनेर लैजान्छन् । त्यसैबाट उनको परिवार चलेको छ । निर्मला भन्छिन् ‘चोरेर खानु हुँदैन, काम गरेर त खानु पर्छ तर, महँगीले बाँच्नै गाह्रो भयो ।’
धरान ११ को सुकुम्बासी वस्तीका अधिकांश महिलाको जीवन निर्मलाको जस्तै छ । सर्दुखोला किनारमा निर्मला जस्तै उमेरका धेरै महिला गिट्टी कुटिरहेका भेटिन्छन् । उनीहरू गिट्टी कुटेर घर व्यवहार चलाउँछन् । आफू, छोराछोरी र श्रीमानको पालनपालनमा समेत उनीहरूको जिम्मेवारी छ । बल हुनेहरू बजारमा अन्य काम गर्न जान्छन् । तर, गह्रौं काम गर्न नसकिने भएपछि खोलाको डिलमा बसेर गिट्टी कुट्ने गरेको उनीहरू बताउँछन् । खोला किनारमै भेटिएकी कुमारी राई भन्छिन् ‘बल हुँदासम्म ज्यामी काम गरियो, अहिले बसेर काम गर्न सजिलो भएकाले गिट्टी कुट्छौं । परिवार र आफूलाई खर्च जुटाउन सजिलो भएको छ ।’
त्यसैपनि उमेर ढल्किँदै गएकाहरूमा राम्ररी आँखा नदेख्ने, हात काम्ने जस्ता समस्या हुन्छन् । त्यसमाथि गिट्टी कुट्दा आँखामा धुलो र ढुंगाका चोईटा पस्ने, हातमा चोट लाग्ने जस्ता समस्या आउँछन् ।
उनीहरूका समस्यालाई न्यूनिकरण गर्न धरान उपमहानगरपालिकाले खोलामा गिट्टी कुटेर दैनिक गुजारा चलाउने धरान ११ सगरमाथा वस्तीका २५ परिवार सुकुम्बासीलाई स्वास्थ्य सुरक्षा सामग्रीहरू छाता, पन्जा, चस्मा र औषधी वितरण गरेको छ । सुरक्षा सामग्री पाएपनि उनीहरू खुसी छन् । कुमारी राई भन्छिन् ‘अब चाहिं चस्मा पाईयो आँखामा धुलो नपस्ने भो, मज्जाले काम गरिन्छ ।’
उनीहरूलाई छाता, चस्मा, पन्जा, डिटोल, तौलिया, कटन जस्ता सामाग्री वितरण गरिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले गिट्टी कुटेर जीवन यापन गर्नेहरूलाई अर्को विकल्प नहुन्जेलसम्मका लागि सुरक्षित रुपमा गिट्टी कुटेर जीवन यापनमा मद्दत गर्न यस्तो सहयोग गरेको बताए । उनले भने ‘हामीले उहाँहरूलाई सँधै गिट्टी कुट्नुस् भनेर प्रोत्साहन गर्न होइन, तत्कालका लागि सुरक्षित रहन सहयोग गरेका हौं ।’
असुरक्षित रुपमा गिट्टी कुट्दा स्थानीयको आँखा, हातमा चोट लाग्नुको साथै घाम र पानीले गिट्टी कुट्न समस्या हुने देखिएपछि स्वास्थ्य र सुरक्षाका सामग्री वितरण गरिएको उपमहानगरका सामाजिक विकास अधिकृत सुनिल नेपालले बताए । उनले गरिब सुकुम्बासीहरूलाई गिट्टीको साटो च्याउखेती जस्ता अन्य वैकल्पिक पेशामा प्रोत्साहन गर्ने बताए । वडा नागरिक मञ्च धरान ११ की संयोजक कमला राईले उपमहानगरको सहयोगले सुकुम्बासी क्षेत्रका दिदी बहिनीको स्वास्थ्य समस्या घट्ने विश्वास व्यक्त गरिन् ।
प्रकाशित मितिः २०७२ कात्तिक २२ गते आईतवार
Comment Here!