सुमित्रा के सी
रुकुम, कात्तिक २३ । चाडपर्वहरू नजिएको मौका छोपेर रुकुममा व्यापारीले कालोबजारी गर्न थालेका छन् । मध्यपश्चिममा पर्ने पहाडी जिल्ला रुकुममा पनि अघोषित नाकाबन्दीको प्रत्यक्ष असर परेको छ । जसले गर्दा जिल्लामा उपभोग्य वस्तुको अभाव शुरु भएको छ भने व्यापारीले उपभोग्य वस्तुको मुल्य दोब्बर वढाएका छन् ।
खाने तेल, चिनी, घिउ, खाना पकाउने ग्याँस, दाउरा, फुलमाला, पुजा सामान, भाई मसलालगायत हरेक वस्तुको मुल्य हवात्तै बढेकाले रुकुमका महिला दिदीबहिनी महँगीले गर्दा यसपालीको तिहार खल्लो हुने बताउँछन् ।
रुकुमको पेउघा गाविसकी पदमी बोहरालाई छिटो मिठाइका परिकार बनाएर तिहारमा माईत जाने हतार छ । त्यसैले उहाँ सेलरोटी पकाउन सदमुकाम मुसिकोटमा खाने तेलको खोजीमा ४, ५ वटा पसल चहार्नुभयो तर, पाउनुभएन ।
‘जँहा सोध्यो तेलै छैन भन्छन्, खै नभएकै हो की व्यापारीले भाउ बढाउनलाई लुकाएका हुन् । बरु महँगै पैसा तिरेर भएपनि किन्थ्यौ नि, अब तिहारमा लिने भनैकै त्यही हो, सेल रोटी नलिएर पनि के माईत जानु’ तेल नपाएपछि उहाँको गुनासो थियो ।
रुकुममा तिहारमा सेलरोेटी, फिनी, अनरसालगायतका मिठाइका परिकार बनाएर आफ्ना दाजुभाईका लागि कोशेली लाने चलन छ । भाई टिकाको केहि दिनअघि देखिनै घर घरमा यी परिकार बनाएर राखिन्छ । तर, गाँउघरमा यसपटक चर्चा भने महँगी र नाकाबन्दी कै छ ।
रुकुमको पेउघा गाविस कै निर्मला खड्काले १५० रुपैयाँमा आउने तोरीको तेल २१० रुपैयाँमा किन्नु परेको बताउनुभयो । उहाँको अनुभवमा खाने तेलको यत्ती धेरै मुल्य बढेको पहिलो पटक हो । तिहारको समयमा त झन महँगी कम हुनु पर्ने निर्मलाको विचार छ ।
‘आफूलाई काम नगरी खान पुग्दनै, घरमा राम्रो उत्पादन हुँदैन हामी सबै किनेरै काम चलाउने गर्छौ,यसरी सबै वस्तुको मुल्य दोब्बर भएपछि कसरी तिहार मनाउन ?’उहाँले पीडा मिश्रित आवाजमा भन्नुभयो ।
मुसिकोट नगरपालिकाकी लक्ष्मी ओलीले ५० रुपैयाँ पर्ने मालालाई १५० रुपयाँमा किनेको बताउँनुभयो । उहाँ भन्नुहुन्छ ‘यस पालीको तिहार साह्रै नरमाईलो हुने भो व्यापारीले चाहिएको सामान छैन भन्छन्, भएपनि दोब्बर मुल्य तिर्नुपर्छ, यसरी मुल्य असुल्ने व्यापारीलाई कारवाही हुनु पर्छ, प्रशासनले पनि लापरवाही गरेको छ ।’
नाकाबन्दीले गर्दा इन्धनको अभाव भएपछि रुकुमका व्यापारी र स्थानिय प्रशासनबिच साविकको भन्दा केहि मुल्य बढाउने सहमति भएको थियो । तर, धेरै जसो व्यापारीले अहिले खाद्य वस्तुको अस्वाभिक मुल्य बढाएको उपभोक्ताको गुनासो छ ।
स्थानिय प्रशासनले समयमै बजार अनुगमन नगर्दा व्यापारीहरुले कालोबजारी गर्न शुरु गरेका छन् ।
प्रकाशित मिति : २०१५ कात्तिक २३ गते साेमवार
Comment Here!