महिला खबर
काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका विदेश विभाग प्रमुख सुजाता कोइरालाले तराई, पहाड र हिमाल फुटाउने ग्राण्ड डिजाईन भैरहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन केन्द्रिय महिला विभागले दिपावली तथा छठको उपलक्ष्यमा आज काठमाडौंमा गरेको चियापान एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताउनु भएको हो ।
उहाँले देश संकटमा परेको बेला राजनीतिक दलहरूले दलिय स्वार्थ त्यागेर राष्ट्रियको हितलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिनुभयो । भारतले गरेको नाकाबन्दी खोल्न दुवै देशले पहल गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।
महिला विभागले गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले देशभित्रको समस्या छिमेकीलाई दोष दिएर हल नहुने बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन र मधेशको समस्या समाधानका लागि आफ्नो पार्टी प्रतिपक्षमा रहेर पनि जिम्मेवार भूमिका निर्वाह गर्ने बिचार व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा पत्रकार महासंघ अध्यक्ष महेन्द्र विष्टले आम जनताले भोगेको समस्या प्रति इङि्गत गर्दै भन्नुभयो ‘चुलो निभेका बेला चिया खान पाउनु खुसीको कुरा हो ।’
उहाँले देश जटिल अवस्थाबाट गुज्रिरहेको बेला राजनीतिक दलहरू पक्ष र प्रतिपक्ष भन्दा पनि राष्ट्रिय मुद्दाामा एकै ठाउँमा उभिएर समस्याको हल खोज्न पार्टीहरूलाई सुझाव दिनुभयो ।
शुभकामना आदान प्रादान कार्यक्रममा बोल्दै पूर्व सञ्चार मन्त्री तथा कांग्रेस प्रचार विभागका प्रमुख मिनेन्द्र रिजालले देशमा आपूर्ति व्यवस्था असहज भएकोले दिपावली धेरै उत्साहका साथ मनाउने अवस्था नभएको बताउनुभयो । उहाँले मधेशले मागेका सबै कुरा संविधानमा समेट्न नसकिने बताउनुभयो ।
प्रकाशित मिति :२०७२ कात्तिक २३ गते सोमवार
Comment Here!