संविधानको सर्वोच्चतालाई ध्यानमा राख्दै राष्ट्रिय एकतालाई बलियाे बनाउँछुः राष्ट्रपति
आयोगद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना
महिला खबर
काठमाडाैं, कात्तिक २३। राष्ट्रपति विद्या भण्डारीले संविधानको सर्वोच्चतालाई ध्यानमा राख्दै समग्र राष्ट्रको सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउन निरन्तर क्रियाशील रहने बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा राष्ट्रपति भण्डारीले नयाँ संविधानको कार्यान्वयनसँगै आफूलाई दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने बताउनुभयो ।
‘संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै कुनै एउटा समुदायका लागि मात्रभन्दा पनि समग्र राष्ट्र र राष्ट्रियताको विकाससँगै एकताको पक्षमा सबै नेपालीको भावनाअनुसार नै काम गर्ने छु’, राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले समाजमा रहेका विभेदलाई चिर्दै मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अग्रसर हुनुपर्नेमा समेत जोड दिनुभयो ।
यस अवसरमा राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईंले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा पहिलो महिला राष्ट्रपति हुनुभएकामा सफल कार्यकालको शुभकामना दिनुभएकाे थियो ।
आयोगका सचिव लेखबहादुर कार्कीले नेपाली महिलाको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकार कायम गर्न राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
प्रकाशित मितिः २०७२ कात्तिक २३ गते साेमवार
Comment Here!