बेलिना थापा
लमजुङ, कात्तिक २४ । लमजुङमा लैङि्गक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । नोभेम्बर २५ अथार्त मंसिर ९ गतेदेखि १६ दिनसम्म लैङि्गक हिंसाविरुद्धको अभियान मनाइने भएको हो ।
अन्तर्राष्ट्रियस्तर मै महिला हिंसाविरुद्धको यो अभियानलाई एकदिनमा मात्र सिमित नराखी १६ दिनसम्म मनाउने गरिएको छ । सोही अनुरूप नेपाल सरकार र बिभिन्न संघंसंस्थाले महिलाविरुद्धका हिंसाजन्य गतिविधि अन्त्यका लागि १६ दिनसम्म विभिन्न दबाव तथा चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो ।
चारवर्ष अघि समुदायस्तरदेखि महिला हिंसा विरुद्ध आवाज उठाउन तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलता कायम गर्न महिला मानवअधिकार रक्षकहरूको नेतृत्वमा महिला हिंसाविरुद्धको १०० दिने अभियान सञ्चालन गरिएको थियो ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा विभिन्न रचनात्मक कार्यक्रम गर्नका लागि महिला विकास अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय संयोजन समिति गठन गरिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका संयेजक एवं प्रमुख जिल्ला अधिकारी मोहन अकेलाको अध्यक्षतामा सोमबार बसेको बैठकले समिति गठन गरेको हो । समितिमा पत्रकार महासंघ, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयका प्रतिनिधि सदस्य रहेका छन् ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघले २५ नोभेम्वरलाई विश्वभर महिलाहिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेपछि विश्वभर यो अभियान मनाइँदै आएको छ ।
अखिल नेपाल महिला संघले सन् १९८३ अथार्त विक्रम संम्वत २०३८ सालमा पञ्चायती शासन कालमा नमिता सुनिता हत्याकाण्डको देशब्यापी विरोध कार्यक्रम गरि महिला हिंसाको विरोधको अभियान शुरुवात गरेको थियो । त्यसको १६ बर्षपछि सन् १९९९ मा संयुक्त राष्ट्र संघले २५ नोभेम्वरलाई विश्वभर महिलाहिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति :२०७२ कात्तिक २४ गते मंगलवार
Comment Here!