महिला खबर
काठमाडौं, कात्तिक २४ । राष्ट्रपति विद्या भण्डारीले मुलुकका सबै राजनीतिक शक्तिलाई वार्ता, सहमति, एकता र सहकार्यबाट अघि बढ्न आह्वान गर्नुभएको छ ।
गणेशमान सिंह जन्मशताब्दी वर्षका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन स्मृति शान्ति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकमा तत्काल देखिएका समस्या र असहजतालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सबै राजनीतिक शक्तिको एकता र सहकार्यले निरन्तरता पाउन सकेमा मात्र गणेशमान र अमर सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक दलको एकता र सहकार्यबाट नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो, परिवर्तनकारी राजनीतिक शक्तिको सुझबुझपूर्ण एकता र सहकार्यबाट नै अत्यन्त जटिल र पट्यारलाग्दो सङ्क्रमणकाल अन्त्य गरी नेपालको संविधान जारी गर्न हामीलाई सफलता मिलेको हो ।”
गणेशमान र अमर सहिदले गरेको योगदान र तिनका जीवनदर्शन सबैका लागि प्रेरणाका स्रोत हुन् भन्दै राष्ट्रपति भण्डारीले उहाँहरूको योगदानको स्मरण र कदर गर्न अधुरा सपना पूरा गर्न थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो ।
काँग्रेस नेता सुजाता कोइरालाले मुलुकको अहिलेको विषम परिस्थितिबाट निकास पाउन सबै दल एक भएर मेलमिलाप र सहकार्यका साथ अघि बढ्नुपर्ने बताउनुुभयो ।
प्रकाशित मिति: २०१५ कात्तिक २४गते मंगलवार
Comment Here!