महिला खबर
काठमाडौं, कात्तिक २४ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सर्बेन्द्र खनालले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाले भोग्नु परेका हिंसा न्यूनिकरणका लागि आफू सँधै सक्रिय रहेको बताउनु भएको छ ।
डान्सबार, रेष्टुरेण्ट, मसाज पार्लरलगायतका अनौपचारीक क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसाका बारेमा जानकारी दिन रक्षा नेपालले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एसएसपी खनालले कानुनी मान्यता लिएर सञ्चालन भएका क्षेत्रमा काम गरेका महिलाले प्रहरीबाट कुनै समस्या भोग्नु परे तुरुन्तै उजुरी गर्न समेत आग्रह गर्नुभयो । विगतका वर्षमा भन्दा पछिल्लो समयमा यो क्षेत्र निकै सुधारिएकाल विस्तारै यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आफू लागि पर्ने उहाँको प्रतिवद्धता थियो ।
कार्यक्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने अधिकांश महिलाले प्रहरीले अनावश्यक दुःख दिएको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै ठमेलमा मसाज चलाउदै आउनु भएकी सिता पण्डितले प्रहरीले बिना कारण मसाज पार्लर बन्द गरिदिँदा आर्थिक रुपमा धेरै घाटा बेहोर्नु परेको गुनासो गर्नुभयो । लामो समयदेखि मनोरञ्जन क्षेत्रमा काम गर्दै आउनुभएकी सुष्मा पुडासैनीले पनि दर्ता गरेर नियम अनुसार सञ्चालन भएका मनोरञ्जन क्षेत्रलाई प्रहरीले अनावश्यक हस्तक्षेप गर्दै महिलालाई दुःख दिने गरेको गुनासो गर्नुभयो । कर तिरेर अन्य व्यवसाय जस्तै मर्यादित हिसावले काम गर्दा पनि समाजिक रुपमा समस्या भोग्नुपर्ने उहाँको गुनासो थियो । श्रमिक महिला रक्षा संघका अध्यक्ष सविना लिम्बुले यो क्षेत्रमा काम गर्ने दिदी बहिनीले घरदेखी कार्यस्थलसम्म अनेक समस्या भोग्नु पर्ने भएकाले सरोकारवाला निकायले समयमै समस्या समाधानमा ध्यान दिनु पर्ने माग राख्नुभयो । त्यस्तै रक्षा नेपालको अध्यक्ष मेनुका थापाले जुन पेशाले आफू र परिवार बाँचेका छन् त्यसलाई मर्यादित बनाउँदै आफ्नो पेशाका बारेमा गर्व गर्न महिलालाई आग्रह गर्नुभयो । मनोरञ्जन क्षेत्रमा काम गर्ने ३५ सय महिलाले कुनै न कुनै प्रकारको हिंसाको सामना गर्नु परेको रक्षा नेपालको तथ्याङ्कले देखाएको छ ।
कार्यक्रममा अधिवक्ता स्वागत नेपालले कानुन अनुसार काम गर्दा समस्या आयो भने न्यायको खोजी गर्न सुझाव दिनुभयो । मसाज व्यवसायी संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ आफूमाथि हुने समस्या समाधान गर्नको लागि सबैभन्दा पहिला आफै सचेत हुनुपर्ने बताउनुभयो । नचिनेका मानिसलाई विश्वास गर्दा पनि महिला समस्यामा पर्ने गरेको उहाँको भनाई छ ।
रक्षा नेपाल र श्रमिक महिला रक्षा संघको संयुक्त आयोजनामा भएको उक्त छलफल कार्यक्रममा विभिन्न अनौपचारिक क्षेत्रमा काम गर्ने ३० जना महिलाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७२ कात्तिक २४ गते मंगलवार
Comment Here!