समानताः तिहारको सबैभन्दा ठूलो उपहार


प्रकाशित मिति :2015-11-11 12:00:18

‘यसपालीको तिहारमा दाजुभाइले दिदीबहिनीलाई खुसी पार्न महँगा उपहार खोजी गर्नु पर्दैन । एउटै बाबुआमाका सन्तान हामी आजदेखी समान हैसियतका भयौं भन्न सके दिदीबहिनीका लागि यो भन्दा ठूलो उपहार अरु केही हुँदैन ।’

गीता मैनाली

तिहारः दिदीबहिनीले दाजुभाईलाई माया र सद्भाव दर्शाउँदै उपहार दिने पर्वको रुपमा चिनिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि द्धितियासम्मका पाँच दिन मनाइने तिहार हिन्दुहरूको दोस्रो ठूलो चाड हो । यमपञ्चक भनिने यी दिनमा विभिन्न पशुपंक्षी, धनधान्यकी देवी लक्ष्मी र दाजुभाइको पूजा गरिन्छ ।

पौराणिक कथा अनुसार सँधै व्यस्त रहने यमराजलाई दिदी यमुनाले आफ्नो घरमा बोलाएकी र दिदीको निम्तो मानेर यमराजले पाँच दिनसम्म दिदीको सेवा सत्कार स्वीकार गरी उनको घरमा आरामसाथ बसेका यी पाँच दिनलाई नै यमपञ्चक भनिएको हो ।

शास्त्रअनुसार आफ्नी दिदीकहाँ रहँदा उनको व्यवहारले प्रसन्न भएका मृत्युका देवता यमराजले दिदी यमुनालाई आफूसँग केही वर माग्न लगाए । भाइको आग्रहमा दिदी यमुनाले आफ्नालागि भाइ यमराज प्रिय भएजस्तै अरुका दिदीबहिनीका लागि पनि तिनका दाजुभाइ त्यत्तिकै प्रिय हुने भएकाले कसैका दाजुभाइको मृत्यु नहोस् र प्रत्येक वर्ष आफ्ना दाजुभाइको स्वागत सत्कार गर्न पाउँन भन्ने वर मागिन् ।

दिदीको आग्रहमा यमराजले मृत्यु सृष्टिको नियम भएकाले आफूले रोकेर नरोकिने बताए । बरु कार्तिक शुक्ल द्धितियाका दिन पूजा गरेर दिदीबहिनीले लगाइदिएको माला र तेलको घेरा नसुकेसम्म त्यस्ता दाजुभाइको मृत्यु नहुने बताए । त्यहि मान्यताको आधारमा यस दिन कहिल्यै नओइलाउने मखमली फूल र दुबोको माला लगाउने तथा तेलको घेराभित्र बसी टीका लगाउने र दाजुभाइको पूजा गर्ने चलन चलेको हो ।

कथा र मान्यता जे जस्ता भएपनि यमपञ्चकका यी पाँच दिन साँस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छन् । जस अन्र्तगत पहिलोदेखि चौथो दिनसम्म मानवमात्रका सहयोगी पशुपंक्षीको पूजा गर्ने प्रचलन छ भने पछिल्लो दिन अर्थात दिदी यमुनाले भाइ यमराजलाई टीका लगाइदिएको दिनलाई भाइटिका भनिन्छ र आ–आफ्ना दाजुभाइलाई टीका लगाइन्छ ।

तिहारको पहिलो दिन काग तिहारको रुपमा यमराजका दुत एवं शुभःअशुभका सम्वाहक मानिने कागलाई श्रद्धापूर्वक घरमा पाकेका परिकार खान दिने चलन छ । दोस्रो दिन कुकुर तिहार भैरवको वाहन एवं यमराजको ढोकेका रुपमा कुकुरलाई श्रद्धापूर्वक पूजा गरी माला लगाइदिने, पकवान तथा मिष्ठान्न खानेकुरा खुवाउने चलन छ । तिहारको तेस्रो दिन बिहान लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ भने साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआजाका लागि दिपावली गर्ने, देउसीभैलो खेल्ने र मध्यरातमा लक्ष्मीको पूजा गर्ने गरिन्छ ।

लक्ष्मीपूजा रमाइलोका साथै तिहारको महत्वपूर्ण पक्ष पनि हो । दर्शनशास्त्री डा. गोविन्द उपाध्यायका अनुसार वैदिककालमा भगवान बिष्णुले अर्धाङ्गिनीको रुपमा आफ्नो जिम्मेवारी सम्हलेर आफूलाई पूर्ण सहयोग पु¥याएकोले खुसी भएर पत्नी लक्ष्मीको पूजा गरी आजदेखी तिम्रो नाम उच्चारण नगरी पुरुषले पूर्णता पाउन सक्दैनन् भनि आर्शिवाद दिएका थिए रे । त्यसैले सुमधुर पारिवारिक सम्बन्ध सुधारका लागि श्रीमतीले श्रीमानको नाममा ब्रत बस्ने चलन भएजस्तै लक्ष्मीपूजाको दिन श्रीमानले श्रीमतीलाई पूजा गर्ने अर्थात उपहार दिएर खुसी पार्ने दिन रहेको दर्शनशास्त्री डा. उपाध्यायले बताए ।

तर, समाजमा यसको अर्थ नबुझीकन घरकी गृहिणीले दिनभर भोको बसेर राती बिष्णु (अर्काकी) पत्नीलाई पूजा गर्ने तर आफ्ना श्रीमान भने जुवा(तास र देउसीभैलोमा रमाउँदै हिड्ने चलन बढेको छ । अर्थ नबुझीकन मनाइने यस्ता चाडपर्वहरूमा महिला रमाइलोको अनुभव गर्नुभन्दा कामको बढी बोझले झन् थकित हुने गर्दछन् । हाम्रा हरेक चाडपर्वहरू पारिवारिक सुख र सम्वृद्धिका लागि कुनैपनि साइनोमा होस् महिला र पुरुषको सुमधुर सम्बन्ध सुधारमा केन्द्रित रहेका छन् ।

महिलाका नामको अगाडी श्री नलगाइएको कारण उल्लेख गर्दै डा. उपाध्याय भन्छन् ‘स्त्री नभईकन पुरुषले पूर्णता पाउँन सक्दैन त्यसैले पुरुषको नामको अगाडि श्री लेखिएको हो । श्री को अर्थ नै पूर्णता प्राप्त पुरुष हो, जस्तै सीताराम, राधाकृष्ण आदि । हाम्रो धार्मिक विधिविधान अनुसार कुनैपनि पूजाआजा गर्दा श्रीमतीलाई दाहिने राख्नु भनेर उल्लेख गरिएको छ । सृष्टिको पालन पोषणको जिम्मेवारी पाएका भगवान बिष्णुले आफ्नो जिम्मेवारी पूरा गर्न सघाएकाले श्रीमतीदेखि खुसी भएर मध्यरातमा शोड्षोपचार विधिले पूजा गरी नाना किसिमका आभूषण पहिर्‍याएर लक्ष्मीलाई खुसी पारेका थिए ।’

शास्त्रको अध्ययन बिना नै प्रसङ्ग नबुझेर गरिने पूजाले आजकल फेसनको रुप धारण गरेको उल्लेख गर्दै डा. उपाध्याय भन्छन्, ‘शास्त्रले महिलाको सशक्तिकरणमा जोड दिएको छ तर यहाँ महिलालाई सम्पत्तिको रुपमा मात्र पूजा गरिन्छ ।’ उनी थप्छन् ‘शास्त्र नबुझीकन शास्त्रको अपव्याख्या गर्ने चलन बढेकोले महिलालाई सम्पत्तीको रुपमा पूजागर्ने चलन बढेको हो, यो राम्रो होईन ।’

तिहारको चौथो दिन गोवर्धन अथवा भूमि जोत्ने गोरुको पूजा गरिन्छ । यमपञ्चकको पाचौँ दिनलाई भाइटीकाका रुपमा मनाइन्छ । जुन तिहारको प्रमुख दिन पनि हो ।

यस दिन दिदीबहनीहरुद्वारा यमराजको पूजा गरी आफ्ना दाजुभाइको समुन्नती, यश, सुख, सुस्वास्थ्य तथा दिर्धायुको कामना गर्दै पूजा गरी सप्तरंगी टीका, मखमली फूल र दुवोको माला लगाई मिठामिठा खानेकुरा खुवाइन्छ । साथै दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई आफ्नो गच्छे अनुसार दक्षिणा र उपहार दिने चलन छ ।

आफ्ना दिदीबहिनी नहुने दाजुभाइले फुपु वा मामाका छोरीचेलीको हातबाट वा मितेरी साइनोका दिदीबहिनी खोजेर टीका लगाउने गर्दछन् । तर, दाजुभाइ नहुने दिदीबहिनीहरुले उसैगरी यमराजको पूजा गरी जेठी दिदीले आफुमुनीका बहिनीलाई टीका लगाइदिने चलन छ ।

महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझा पैत्रिक सम्पत्तिमा छोरा र छोरीबीच समान हक स्थापना कानुनी रुपमै भैसकेको अवस्थामा हाम्रा साँस्कृतिक धरोहरलाई वैज्ञानिक समदृष्टिकोण सहित अवलम्बन गरिनु जरुरी रहेको बताउँछिन् ।

पछिल्लो समय दिदीबहिनीले पैत्रिक सम्पत्तिमा हक खोज्न थालेपछि दाजुभाइबीचमा केही वैमनस्यता उत्पन्न हुने वातावरण सिर्जना हुँदै गएको प्रति संकेत गर्दै सीता भन्छिन्, ‘जन्मदेखी खोजिएको हकका आधारमा पारिवारिक विखण्डन आउँनु हुँदैन ।

छोरा र छोरी हुर्काउँदा गरिएको भेदभावले पनि अहिले पैत्रिक सम्पत्तिमा समान हकको अवधारणा आउँदा परिवार र समाजमा एकखालको अप्रिय परिस्थिति सिर्जना हुनु स्वभाविक हो ।’ उनका भनाइमा, अहिले छोरा र छोरीबीच नयाँ मूल्य र मान्यताको शुरुवात भएको छ । त्यसमा पनि छोरी र बहिनीलाई गरिने व्यवहार फरक हुन्छ ।

सम्पत्तिमा महिलाको अधिकार भन्ने बित्तिकै छोरीलाई अधिकार दिन अग्रसर हुने जमात बढेपनि बहिनीलाई अंश दिन हिचकिचाउने प्रशस्त छन् ।
सीताका अनुसार, छोरीले अंश पाउँनु भनेको पारिवारिक विखण्डन निम्त्याउनु होईन । परिवार र समाजमा देखिएको यो मनोवैज्ञानिक द्वन्द्व समाज रुपान्तरणको प्रस्थान विन्दु हो । उनका भनाइमा, ‘यसपालीको तिहारमा दाजुभाइले दिदीबहिनीलाई खुसी पार्न महँगा उपहारको खोजी गर्नु भन्दा एउटै बाबुआमाका सन्तान हामी आजदेखी समान हैसियतका भयौं भन्न सके दिदीबहिनीका लागि यो भन्दा ठूलो उपहार अरु केही हुँन सक्दैन ।’

तिहार एउटा बहुआयामिक चाड हो । जुन चाडको अवधीमा मानव जीवनका सहयोगी पशुपंक्षीको सम्मान तथा धनधान्यकी देवीको पूजा गर्नुका साथै दाजुबहिनी र दिदीभाइबीचको स्नेह साटासाट गर्ने गरिन्छ । जसरी एउटी आमाले आफूले दुखकष्ट सहेर पनि आफ्ना सन्तानको सुख चाहन्छिन्, उसैगरी दिदीबहिनी पनि माया, ममता र स्नेहले गर्दा आफूहरूले जति दुःखकष्ट सहनुपरे पनि आफ्ना दाजुभाइको भलोमात्र चिताउँछन् भन्ने मान्यताका आधारमा यस दिन दाजुभाइको पूजा गर्ने गरिएको हो ।

प्रकाशित मितिः २०७२ कात्तिक २५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: