यसरी सफल भयौँ हामी


प्रकाशित मिति :2015-11-12 10:00:59

बाँकेका विभिन्न गाविसमा समुदायको नेतृत्व गरिरहेका छन् महिलाले । उनीहरूको सफलताको सार भनेको कसैले कुरा काट्यो भनेर हीनताबोध मान्ने होइन । निरन्तर यात्रा जारी राख्नुपर्छ । सफलता हात पर्छ–पर्छ ।

 ठाकुरसिंह थारू

Thakur Singh Tharuनेपालगन्ज, कात्तिक २६ । उनलाई पहिले बोल्नै डर लाग्थ्यो । दलित समुदायको, त्यो पनि महिला कसरी बोल्नु अरूका अगाडि ? मनमा यस्तै आउँथ्यो । उनी अहिले गाउँको वडा नागरिक मञ्चको अध्यक्ष छानिएकी छिन् । दलित समुदायको महिलालाई गाउँको नेतृत्वमा पुर्‍याएकोे हो बाँकेको सीतापुर गाविसले । उनी हुन्– ३० वर्षीया मीना सुनार ।

आफँ कसरी यो ठाउँसम्म आइपुगेँ भनेर मीनाले यसरी बेलिविस्तार लगाइन्, ‘सुरुमा मलाई अरूका अगाडि बोल्न पनि डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्न सक्दिनथेँ । त्यसैले घरको कामैमा दिन बित्थ्यो । तर, हरेस खाइनँ । सार्वजनिक कार्यक्रममा आउजाउ गर्न छोडिनँ । गर्दै जाँदा नागरिक समाजले विश्वास गर्‍यो । अहिले नागरिक वडा मञ्चको अध्यक्ष भएकी छु । गाउँको नेतृत्व गर्न थालेपछि सबैले मलाई सम्मान गर्न थालेका छन् । पहिले दलित भनेर हेप्न खोज्नेहरूले पनि अहिले सम्मानका साथ नमस्कार गर्छन् ।’

गाउँ विकास समितिमा निर्वाचित प्रतिनिधि नभएका कारण वडाको विकास योजनाका काम नागरिक वडा मञ्चको अध्यक्षले गर्नुपर्छ । वडा अध्यक्षले गर्नुपर्ने सबै काम अहिले मीनाले गर्ने गरेकी छिन् । जनप्रतिनिधि नभएका बेला गाउँको अगुवाइ गर्ने जिम्मेवारी उनैको हो । विकास योजना छनोटदेखि कार्यान्वयनसम्मको जिम्मेवारी उनको काँधमा छ । उनको हस्ताक्षरबिना विकास योजनाको काम अगाडि बढ्न सक्दैन । उनी थुप्रै सामुदायिक समँहमा समेत आबद्ध छिन् । मीनाको परिचय गाउँको अगुवा (नेता) बनेको छ । अहिले दलित समुदायकी महिलाको अगुवाइमा सिङ्गो गाउँ चलेको छ ।

तीन वर्षअघिसम्म उनी घरमै खुम्चेर बसेकी थिइन् । कोहीसँग बोल्न पनि धक मान्थिन् । ‘वडा नागरिक मञ्चको अध्यक्ष भएपछि समुदायमा मेरो परिचय फेरिएको छ । कसैले दलित भनेर हेप्न सक्दैन । दलित भनेर घरको आँगनमा टेक्न नखोज्नेहरू अहिले काम लिएर आउँछन्,’ मीना भन्छिन्, ‘तर, यो अवस्थासम्म आइपुग्न मैले निकै चुनौती खेप्नुपर्‍यो । हरेस खाएर छोडेको भए सफल हुन गाह्रो थियो ।’
सीतापुर– ४ एल गाउँकी ४० वर्षीया सीता विकलाई पनि सामुदायिक संस्थामा नेतृत्व गर्न कम्ती सङ्घर्ष गर्नुपरेन । समुदायको हेपाहा प्रवृत्ति र घरपरिवारको दबाबबीच उनी निरन्तर अघि बढिरहिन् । निरन्तर सङ्घर्षले अहिले उनी आधा दर्जन सरकारी तथा सामुदायिक संस्थाहरूको नेतृत्व गर्न सफल छिन् । सीता भन्छिन्, ‘सङ्घर्षले पनि धेरै कुरा सिकाउँदो रहेछ ।’

उनी अहिले गाउँ विकास समितिमा गठन गरिएको पारालिगल सञ्जालकी अध्यक्ष हुन् । स्थानीय गुराँस सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष, पुष्प महिला सहकारी संस्था र सिर्जना दलित महिला समँहकी अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको सदस्य, वडा नागरिक मञ्च, खानेपानी तथा सरसफाइ समिति, जिल्ला विकास समितिले गठन गरेको समँहको पनि सदस्य छिन् । गाउँमा हुने सबैजसो कार्यक्रममा उनको उपस्थिति अनिवार्यजस्तै छ । उनले यति धेरै समँहको नेतृत्व गर्न थालेको करिब पाँच वर्ष भयो ।

‘सानै उमेरदेखि विद्रोही बानी । कसैले हेप्न खोज्यो भने पनि प्रतिकार गर्थें । त्यही बानीले मलाई यहाँसम्म ल्यायो,’ कक्षा १० सम्म पढेकी सीता भन्छिन्, ‘पहिले दलित भनेपछि हेप्ने, घरभित्र पस्न नदिने मान्छे नै अहिले सम्मान गर्छन् ।’

पहिला दलितमाथि हुने छुवाछुतविरुद्धमा बोल्दा गाउँका कथित ठँला जातका भनिनेहरू उनको घर भाँड्न लाग्थे । घरपरिवारले पनि त्यस्तो किन गरेको भन्दै सीतालाई नै हप्काउँथे । तर, उनले आफ्नो जिद्दी छोडिनन् । हामी पनि यही समुदायको मान्छे हौँ । हाम्रो पनि अधिकार छ । दलित भनेको मान्छे होइन र, हेप्ने ? आखिर हाम्रो रगत पनि रातो छ । उनीहरूजस्तै हामी पनि पानी पिउँछौँ, भात खान्छौँ । दलित भनेर हेप्दा मन रुन्छ । त्यसैले मुखमुखै लागेको हो भनेर जवाफ दिन्थिन् । सीता भन्छिन्, ‘त्यही विद्रोहीपनले म अहिले यो स्थानमा छु ।’

सीतापुर सी गाउँकी तिलसरा नेपाली स्वय्सेविका छिन् । यसअघि उक्त गाविसमा दलित समुदायबाट महिलाले स्वयम्सेविका बन्ने अवसर पाएका थिएनन् । तर, सङ्घर्षले उनलाई यहाँसम्म ल्याएको छ । स्वास्थ्यसम्बन्धी काममा उनी गाउँमा अहोरात्र खटिने गरेकी छिन् । समुदायमा स्वास्थ्यसम्बन्धी सेवा गर्न पाएकोमा खुसी छिन् । गाउँका सबै समुदायका स्थानीय परिवार नियोजनका साधनदेखि बालबालिकाको उपचारसम्मका लागि सल्लाह लिन उनीकहाँ पुग्छन् ।

यसअघि समाजमा उनलाई तल्लो जातको भनेर हेपिन्थ्यो । ठँलाबडाहरू उनको घर–आँगनमा टेक्न नाक खुम्च्याउँथे । अहिले उनीहरू निसङ्कोच स्वास्थ्यसम्बन्धी सल्लाह तथा परामर्श लिन उनको घरमा पुग्छन् । यसले उपल्लो र तल्लो जातबीच कोरिएको रेखा पनि मेटिँदै गएको छ । उनले भनिन्, ‘रोगले जातभात भन्दैन । हिजोको कुरा बिर्सिएर पाएको जिम्मेवारी निर्वाह गर्दै छु ।’

कोहलपुर– ११ गन्धर्व टोलकी ३८ वर्षीया कमला गन्धर्व पनि आफ्नो समुदायको अगुवा हुन् । उनले त्यहाँका महिलालाई सङ्गठित गरी समसामयिक विषयमा छलफल चलाउँदै आएकी छिन् । ‘हामी अगाडि नबढ्ने हो भने हाम्रो समुदाय अगाडि बढ्न सक्दैन । त्यसैले गाउँका दिदीबहिनीलाई जम्मा गरेर छलफल गर्छौं,’ उनले भनिन्, ‘एकजुट भएर लाग्दा हाम्रो कुराको पनि सुनुवाइ हुन्छ । कसैले हेप्न सक्दैन ।’

नेतृत्व तहसम्म आइपुग्न उनीहरूले कम्ती सङ्घर्ष गर्नुपरेको छैन । उनीहरूलाई सुरुमा तिरस्कार गरियो । तर, उनीहरू त्यसलाई बेवास्ता गर्दै निरन्तर लागिरहे । त्यही सङ्घर्षले समुदायका अगुवा बन्न सफल भए । ‘गाउँको बैठकमा जाँदा छुट्टै बस्नुपथ्र्यो । छुट्टै बस्दा कुरा पनि काट्थे । दलित महिलाले केही गर्न सक्दैनन् भनेर हेप्थे,’ सीताले विगत सम्झँदै भनिन्, ‘तर, त्यसको कुनै पर्वाह नगरी आफ्नो बाटो लागिरहेेँ । अहिले आएर सफल भइएको छ ।’

(सञ्चारिका फिचर सेवा)
(ठाकुरसिंह, बाँकेका पत्रकार हुन् ।)     

प्रकाशित मिति :२०१५ कात्तिक २६ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: