महिला खबर
बाग्लुङ, कात्तिक २६। बाग्लुङमा ‘मेडिक मोबाइल’ मार्फत सेवा दिन थालेपछि मातृ मृत्युदरमा कमी आएको छ ।
नवजात शिशु मृत्यु दर कम र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नेपालमा नै नमुनाका रुपमा यस्तो स्वास्थ्य सेवा सुरु गरेको हो ।
‘मेडिक मोबाइल’ लागू गरिएपछि महिला गर्भवती भएदेखि सुत्केरी नहुनेबेलासम्म स्वास्थ्य सम्बन्धित अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत जानकारी दिँदै आएका छन् । गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिई गाउँ गाउँमा खटाएपछि यो सेवाको सकारात्म परिणाम आएको हो।
नेपालमै पहिलोपटक बागलुङ जिल्लामा गर्भवती महिलाको सम्पूर्ण जानकारी ‘मेडिक मोबाइल’मा राखेर स्वास्थ्य परीक्षण गर्ने गरी यो सेवा लागू गरिएकाले यो सेवा प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार गाउँमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई विभिन्न स्वास्थ्य समस्या समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्नेछ । मातृ मृत्युदर कम गर्न ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाको स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी गराउन जिल्लाका ५८ गाविस र एक नगरपालिकामा यो सेवा लागू गरिएको छ ।
प्रकाशित मितिः २०७२ कात्तिक २६ गते बिहीवार
Comment Here!