सडकबाट उठाएर परिवारमा


प्रकाशित मिति :2015-11-13 09:00:15

सडक–गल्लीमा भेटिने मानसिक रोगी महिला माया–ममता पाएपछि ठीक हुने गरेका छन् । परिवारको हिंसा र उपेक्षाले बाध्य भएर सडकमा पुगेकाहरू थोरै मात्र सहारा पाउनासाथ सामान्य अवस्थामा फर्किएका उदाहरण धेरै छन् ।

नारायण ढुङ्गाना
narayanचितवन ,कात्तिक २७। टाउकोमा थोत्रो रुमाल बाँधेकी छिन् । वर्षौंदेखि नुहाएकी छैनन् । शरीर मैलो छ । थोत्रो कुर्तामाथि गन्जी लगाएकी छिन् । पिठ्युँमा झुत्रा कपडाको ठूलो पोको बोकेकी छिन् । बेलाबेला बर्बराउँछिन् । हेटौँडा उपमहानगरको सडकमा मानसिक सन्तुलन गुमाएको अवस्थामा प्रहरीले उनलाई भेटे । पहिले–पहिले त्यस्ता व्यक्ति भेट्दा कसैको पनि ध्यान जाँदैनथ्यो । उनीहरूका लागि पनि आश्रम छ भन्ने थाहा पाएपछि २० पुस ०६९ मा प्रहरीले ती महिलाको उद्धार गर्‍यो र मानव सेवा आश्रममा पुर्‍याइदियो ।

त्यहाँ उनको भावनात्मक उपचार सुरु भयो । प्रेमले कुरा गर्न थालेपछि केही महिनामै उनमा परिवर्तन देखिन थाल्यो । उनले आफ्नो घर–ठेगानासमेत बताइन् । नाम सीता गोले । बारा अमलेखगञ्ज घर । १३ वर्षअघि आफ्नै श्रीमानबाट उनी भारतमा बेचिएकी थिइन् । कोठीका काला राताहरूलाई छिचोलेर उनी घर आउन सफल भइन् । घरमा आउँदा श्रीमानको अत्तोपत्तो थिएन । बेचिएकी वेश्या भनेर उनलाई माइतीले समेत घरमा बस्न दिएनन् । त्यसपछि सडक उनको सहारा बन्न पुग्यो । कोठीमा बिताएका काला दिनहरू छोडेर परिवारको माया खोज्दै आएकी सीतालाई आफन्तले पनि स्वीकार नगर्दा उनमा मानसिक विचलन आयो । त्यसपछि सडकमा कराउँदै हिँड्न थालिन् । प्रहरी र मानवअधिकारवादीको सहयोगमा उद्धार गरी उपचार पाएकी उनी अहिले सामान्य अवस्थामा छिन् र आमासँग बस्दै आएकी छिन् ।

सानो नानीसमेत लिएर सडकमै बर्बराउँदै हिँड्ने एक महिलाको ०७१ भदौमा प्रहरीले हेटाैँडाबाट उद्धार गर्‍यो । उनको साथमा रहेको पोकोमा नागरिकता भेटिएपछि उनको पहिचान खुल्यो । नाम मनराखी बुढा, घर रुकुम । उपचारपछि उनको माइती पक्ष सम्पर्कमा आयो । उनलाई पनि परिवारमा पुनस्र्थापित गरियो ।

 pic

गर्भवती अवस्थामा ११ भदौ ०७२ मा रौतहटको सडकबाट उद्धार गरिएकी एक महिलालाई आश्रमले उपचार गर्‍यो । उनी सामान्य अवस्थामा पुगिन् । उनका आफन्तहरू पनि भेटिए । तर, आर्थिक समस्या देखाउँदै तिनलाई माइती र घरका सदस्यले लैजान मानेनन् ।

मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीका अनुसार भर्खरै उद्धार गरेर उपचार प्रक्रियामा रहेकी एक अर्की महिलाले एक साताअघि छोरी (खुसी) पाइन् । उनको परिचय खुल्न बाँकी छ । ‘प्रेमले कुरा गर्छौं । स्याहार–सुसार गर्छौं अनि आफैँ जीवनमा परिवर्तन हुन थाल्छ,’ अभियन्ता रूपा भन्छिन्, मानिस खानाको भन्दा प्रेमको भोको हुने रहेछ भन्ने अहिले मैले बुझेकी छु ।’ शुक्रबार र शनिबार आश्रमले ‘सडक सेवा’ कार्यक्रम चलाउँछ । सडकमा पुगेर यस्ता व्यक्ति भेटिए उद्धार गर्ने काम गर्दछ ।

१६ पुस ०७० मा भारत बिहार घर भएकी ४५ वर्षीया मीरा साहलाई सडकबाटै उद्धार गरियो । उनको भावनात्मक र केही मानसिक उपचार पनि भयो । आश्रमको पारिवारिक मायाले डेढ वर्षमा घर–ठेगाना भन्न सकिन् । त्यसपछि उनको परिवारमा पुनर्मिलन गराउन स्वयम्सेवकहरू खटिए । हालै मात्र परिवारमा पुनर्मिलन गराउँदा माइतीगाउँ नै स्तब्ध भयो । गाउँलेमा हर्षका आँसु बगे । छोरी सुनिता मरेको भनेर माया मारेकी आमा छोरी देखेर भक्कानिएर रुन थालिन् । श्रीमान् उमेश साहले अर्की श्रीमती ल्याएपछि उनलाई घरबाट निकालिएको थियो । त्यसपछि उनी सडकमा पुगेकी थिइन् । नेपालबाट गएका स्वयम्सेवक भोला चौलागाईंका अनुसार मीराजस्ता चारजना भारतीयसहित ६२ जनालाई पुनस्र्थापित गराउन आश्रम सफल भएको छ । यसमा ३८ महिला छन् ।

delivary

०६६ बाट सुरु भएको अभियान सुरुमा स्कुल शिक्षा थियो । ०६९ बाट आश्रम नै चलाएर मानसिक सन्तुलन गुमाएका सडकवासीको सहयोग गरिरहेको यो आश्रमले अहिलेसम्म सडकबाट तीन सयको उद्धार गरिसकेको छ जसमा एक सय ८० महिला र एक सय २० पुरुष छन् । ६२ जना परिवारमा पुनस्र्थापित भइसकेका छन् । त्यसमा ३८ महिला छन् । चितवनमा मात्रै तीनजना पुनस्र्थापित भएको अभियन्ता ममता शर्मा बताउँछिन् ।

काठमाडौं, अर्घाखाँची, मकवानपुर र चितवनलगायत क्षेत्रमा अभियान चलिरहेको छ । आश्रम चितवन र मकवानपुरमा छन् । सडकबाट उद्धार गरिएका महिलालाई लक्ष्मी र पुरुषलाई नारायण भनेर पुकारिन्छ ।

अभियन्ताहरू सडकमा भेटिएकालाई ‘जिउँदो देवता’ भएको बताउँछन् । कालिगढले बनाएको मूर्तिलाई दूध चढाउनुभन्दा सडकमा रहेका जिउँदो देवतालाई दूध पिलाउँदा धर्म मिल्ने मानव सेवा आश्रमका संयोजक रामजी अधिकारीको भनाइ छ । स्वार्थसहितको सहयोग आश्रममा मान्य छैन । स्वतस्फुर्त आएको सहयोगबाट उद्धार गरिएकालाई हेरचाह गरिन्छ । यहाँ विज्ञ प्राविधिक र मानसिक रोग विशेषज्ञले नियमित सेवा दिने गरेका छन् ।

आश्रममा ल्याइएपछि अकुपन्चर र एकुपे्रसर थेरापी गरिन्छ । डान्सिङ, क्लापिङ, लाफिङ तथा वाटरथेरापीबाट उनीहरूको उपचार हुन्छ । आवश्यक भए अन्तिममा औषधिसमेत प्रयोग गर्ने गरिएको छ ।

पुरुषको तुलनामा महिलाले पारिवारिक चिन्ता धेरै लिने गर्छन् । त्यसमाथि अरूको सहारामा बस्नुपर्ने सामाजिक संस्कारका कारण महिलामा डिप्रेसनको समस्या धेरै देखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आर्थिक अवस्था कमजोर हुने, आफूले खर्च गर्न नपाउने, आवश्यकता पूरा गर्न समस्या हुने, अरूको कमाइमा बस्नुपर्ने र दबाबमा काम गर्नुपर्नेलगायतका कारणबाट पनि महिलामा मनोसामाजिक समस्या आउने मनोविमर्शकर्ता नगेन्द्र लुइँटेल बताउँछन् ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले चितवनको तीनवटा गाविसका दुई सय चालीस महिला र पुरुषमा गरेको अध्ययनमा करिब २९ प्रतिशत महिलामा उदासीनतासम्बन्धी समस्या भएको पाइएको थियो । त्यस्तो समस्या पुरुषमा १४ प्रतिशत मात्र थियो । मानिसले चाहना प्राप्त गर्न विभिन्न गतिविधिमा भाग लिने क्रममा दुःखको अनुभव बढ्दै जाँदा यस्ता समस्या आउने मनोविमर्शदाता अनुप अधिकारीको भनाइ छ ।

(सञ्चारिका फिचर सेवा)
( नारायण, राससका पत्रकार हुन् ।)

प्रकाशित मिति : २०१५ कात्तिक २७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: