महिला खबर
कञ्चनपुर,कात्तिक २९ । कञ्चनपुरमा रहेका बर्थिङ सेन्टरमा सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एचआइभी एड्सको सङ्क्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरमा कार्यरत ८० जना स्वास्थ्यकर्मीलाई यसबारे तालिम दिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका निरीक्षक रतनबहादुर विष्टले बताउनु भयो ।
एचआइभी एड्सबाट सङ्क्रमित आमा गर्भवती भएमा नियमित चेकजाँचका क्रममा औषधि सेवन गराई शिशुलाई सुरक्षित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको निरीक्षक विष्टले बताउनुभयो ।
‘स्वास्थ्य संस्थामा गर्भवती चेकजाँचका क्रममा आउने आमा सङ्क्रमित भए नभएको बारे तालिम पाएका दक्ष स्वास्थ्यकर्मीले यकिन गरी महाकाली अञ्चल अस्पतालबाट औषधि उपलब्ध गराई सुरक्षित तरिकाले सुत्केरी गराउने व्यवस्था मिलाएका छौँ’ निरीक्षक विष्टले बताउनु भयो ।
सङ्क्रमित भएका आमाले नियमित औषधि सेवन गरे जन्मिने शिशुमा सङ्क्रमणको असर नहुँने यहाँले बताउनुभयो । औषधि सेवन गर्ने सङ्क्रमित आमाले जन्माएका ८० प्रतिशत शिशु स्वस्थ्य जन्मिने बताइएको छ ।
हालसम्म औषधि सेवन गरेका सङ्क्रमित चारजना आमाबाट स्वस्थ्य शिशु जन्मिएको निरीक्षक विष्टको भनाइछ । उनका अनुसार कञ्चनपुरमा ३३४ जना एचआइभी एड्सबाट सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति २०७२ कात्तिक २९ गते बिहीवार
Comment Here!