अंगुरबाबा जोशी : समाजसुधार आन्दोलनको दियो


प्रकाशित मिति :2015-11-15 14:11:54

नेपालको समाजसुधार आन्दोलनको एउटा ननिभेको दियो अंगुरबाबा जोशीको जीवन–कथा नेपाली महिलाका लागि प्रेरणाको बलियो स्रोत हो ।

कल्पना भण्डारी

छोरी जन्मिँदा नाक खुम्च्याउने समाजमा उनी दोस्री छोरी थिइन् । उनको जन्मले परिवारका सदस्यलाई त खुसी बनाएन नै, बाबुसमेत मलिन अनुहारमा थिए । बुहारीले प्रसव पीडा खेप्दै जन्माएकी नातिनी देख्नासाथ सासूले भनिन्, ‘हरे, साहिँली दुलैले फेरि छोरी पाइछे ।’
लोकले अंगुरबाबा जोशीको नामले चिन्ने एउटी विदुषीको कथा हो यो । उनी त्यस्तो परिवारमा जन्मिइन्, जहाँ सामान्य आँखाले विभेद देखिँदैन । धेरैले पढ्न नपाउने समयमा उनले पढ्न पाइन्, तर दाजुभाइले जसरी अङ्ग्रेजी पढ्न पाइनन् । पाइला–पाइलामा असमानता झेलिन्, तर त्यसमा अलमलिएर बसिनन् ।

angurbaba (1)गोरो अनुहार, ठूलो निधारमा रातो मखमली टीका, आँखामा तेज र आवाजमा ओजनका साथ ८४ वर्षे जोसमा उनी ‘दीक्षा’को तयारीमा छिन् । एउटी गोज्याङ्ग्री लाटीमैयाको दीक्षा दिने हैसियत चामत्कारिक छ । यो चमत्कार मिहिनेत र आत्मबलबाट मात्र सम्भव भएको हो ।
परिवारमा उनी चिन्ताको विषय थिइन् । ‘यो फर्सीले के गरेर खाली,’ बाबु सुर्ता गरिरहन्थे । घरमा मास्टर राखेर सन्तानलाई पढाउने चलन थियो । प्रायजसो छोराले मात्र त्यो सुविधा पाउँथे । खान्दानी परिवारकाले छोरालाई अङ्ग्रेजी पढाउँथे, तर छोरीलाई बढीमा हिन्दीसम्म । परिवेश अंगुरबाबाको पनि त्यस्तै थियो । उनी भाइ र काकाको छोराहरूले पढेको हेरेर बस्थिन् । लुकी–लुकी उनीहरूका किताब पल्टाउँथिन् ।
एकपटक मास्टरले सोधेको प्रश्नको जवाफ भाइहरूले दिन सकेनन् । छेउमै बसेकी अंगुरबाबाले फ्याट्टै मिलाइन् । भाग्यवश आमाले छोरीको त्यो प्रतिभा देखिन् । त्यसपछि छोरीहरूले पनि अङ्ग्रेजी पढ्ने अवसर पाए । भाइको ब्रतबन्ध थियो, पण्डितजीले खुसुुक्क गायत्री मन्त्र सिकाए । उनलाई मन्त्र जान्ने उत्सुकता भयो । भाइलाई फकाएर सोधिन् । छोरी मान्छेले गायत्री मन्त्र जान्न हुन्न भनेका कुरा अहिले पनि अंगुरबाबालाई सम्झना छ । उनी मौकाको प्रतीक्षामा थिइन् । शिवरात्रि सुरु भयो । शिवमन्दिर पशुपतिमा भारतबाट साधुहरूको आगमन हुन थाल्यो । त्यसबेला शिवरात्रिको सात दिनअघि र सात दिनपछिसम्म मात्र साधुहरू पशुपतिमा बस्न पाउँथे । त्यो पनि अनुमति लिएर मात्रै । एक भारतीयसँग आफूले बचाएको पैसाले तस्बिर किनिन् । त्यसमा लेखिएको गायत्री मन्त्र कण्ठ गरिन् । सबैका अगाडि गायत्री मन्त्र सुनाइन् । बज्यैले जिब्रो टोकिन् । त्यहीँदेखि उनले विभेदको विरोध थालिन् नजानिँदो रूपमा ।

आफू प्राध्यापक भएपछि धर्मशास्त्रले महिलामाथि गरेको विभेद पढाइन् । पद्मकन्या क्याम्पसमा छँदा ६ महिना लगाएर ‘Study of norms and codes of sanatan dharma in gender equality’ विषयमा अध्ययन गराउनुलाई उनी यस्तै विभेदविरुद्धको प्रतिक्रिया बताउँछिन् । उनको प्रयत्नले अन्धविश्वासको पर्दा उघार्‍यो । धर्मशास्त्रमा कतै पनि महिलामाथि विभेद गरिएको पाइएन । वेदका मन्त्रद्रष्टा महिला, ऋषिमुनि महिला, गुरुकुलमा पढ्ने पनि महिला थिए भन्ने जानकारी गरायो । विभेद धर्मले होइन समाज विकासका क्रममा विभिन्न धर्मगुरुहरूले गराइएको भेद खुल्यो । महिनावारी नहुँदै छोरीको विवाह गरिए पुन्य हुन्छ भन्ने विश्वासमा कति साना नानीहरू कलिलै उमेरमा विवाह गर्न बाध्य बनाइए ।

धर्मशास्त्रलाई आफूअनुकूल बनाउँदै लैजाँदा पुरुष हावी भएर महिलालाई पछि पारिएको उनको कथन छ । यहाँ पितृसत्ता हावी हुनुमा पुरुषको दोष देख्छिन् उनी । उनी भन्छिन्, ‘पुरुषहरूले एउटाबाट दुइटा विवाह गर्न थाले । महिलालाई पढाइबाट वञ्चित गरियो । जसका कारण महिलाको आत्मविश्वास कमजोर भयो । उनीहरू पुरुषमा आश्रित हुन थाले । यसरी महिला र पुरुषबीच विभेद बढ्यो ।’ दिदीको नौ वर्षमा विवाह भयो । मोटी र हलक्क बढेकी अंगुरबाबा विवाह नगर्दै महिनावारी हुने डरले बुबाआमा वर खोज्न हतारिए । डिल्लीबजारका जोशी परिवारका एकल छोरासँग उनको कुरा छिनियो । विवाहको बेला बुबाले भने, ‘चखेवा–चखेवीको जोडीजस्तै हुन्छ लाटीको जोडी ।’

उनलाई अहिले लाग्छ, बुबाले ठीक भन्नुभएको रहेछ । विवाहपछि उनले सासू र श्रीमानको अपार माया पाइन् । ११ वर्षमा विवाह गरेर १५ वर्षमा छोरा पाएकी सासू, छोरा आठ महिना नपुग्दै विधवा भइन् । एकल सासूले १२ वर्षीय छोरा र १० वर्षीया बुहारी अंगुरबाबालाई शिक्षादीक्षामा कुनै कमी गरिनन् । उनी अझै सासूसँग बस्छिन् । बागबजारस्थित घरको दोस्रो तल्लामा ८४ वर्षीया बुहारी, माथिल्लो तलामा १०० वर्षीया सासू । उनी गर्वका साथ दाबी गर्छिन्, ‘मजस्तो सासूको माया पाउने बुहारी शायदै होलान् । यो माया दशकौँदेखि निरन्तर छ ।’

परीवार संग अंगुरबाबा

परिवार संग अंगुरबाबा

सङ्घर्ष र अध्ययन सँगसँगै
अंगुरबाबा जीवनभर स्कुल गइनन् । उनले घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन् । सन् १९४८ मा श्रीमान–श्रीमतीले सँगै एसएलसी दिए । उनी सम्झिन्छिन्, ‘त्यसबेला हामी जम्मा चारजना महिला थियौँ एसएलसी दिने । साहना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा र म ।’ श्रीमान बोर्डमा परे, उनी दोस्रो श्रेणीमा पास भइन् । एसएलसी पास श्रीमान–श्रीमतीको सपना र उद्देश्य एउटै बन्यो– विज्ञान जगत्मा तहल्का मच्चाएका वैज्ञानिक जोडी म्याडम क्युरी र पियरे क्युरी बन्ने । दुवै विज्ञान पढ्ने सल्लाहअनुरूप त्रिचन्द्र क्याम्पसमा भर्ना हुन गए । तर, श्रीमानले भर्ना पाए, उनले पाइनन् । उनले अनुनय गरिन्– मलाई प्राक्टिकल मात्रै गर्न देऊ, थ्योरी घरमै पढ्छु । तर, क्याम्पसले फर्म नै बुझेन । उनी भन्छिन्, ‘त्यसपछि मेरो जीवनको कोर्स नै परिवर्तन भयो ।’

उनले अर्को सपना देख्न थालिन् । प्राइभेट पढेर सरस्वती सदनमा आईएको परीक्षा दिइन् । एक महिनाअगाडि सुत्केरी भए पनि त्यसको पर्वाह नगरी परीक्षामा सामेल भइन् । परीक्षाहलमा एक पुरुष र महिला गार्डसँगै उनी एक मात्र परीक्षार्थी थिइन् । न कलेज न स्कुल देखेकी उनले आईए पास गरिन् । त्यतिञ्जेल श्रीमानले पनि आईएस्सी सके । पढाइमा अब्बल श्रीमान भारतको बनारस हिन्दु विश्वविद्यालय पढ्न जाने भए । उनी पनि श्रीमानसँगै गइन् । राजनीतिशास्त्र र संस्कृत विषय लिएर बीएमा भर्ना भइन् । बीए पढ्दै गर्दा गर्भवती बनिन् । नेपाल आएर छोरी जन्माइन् । ६ महिनाको छोरो सासूको जिम्मा लगाएर पढ्न गएकी बुहारी फेरि दुई महिनाकी छोरी पनि सासूलाई छाडेर पढाइलाई निरन्तरता दिन बनारस गइन् । एमए पढ्ने बेलामा उनी ‘को एडुकेसन’मा गइन् । उनका लागि यो अर्को अप्ठ्यारो अवस्था थियो । आफ्नो श्रीमानबाहेक अरू लोग्नेमान्छेको अनुहार हेर्न हुन्न भन्ने सिकेकी उनलाई त्यो समय निकै कठिन थियो । भुइँमा हेरेर कक्षामा छिर्ने, महिलाका लागि छुट्याइएको अघिल्लो बेन्चमा बस्ने, अनि पढाइ सकेपछि पछाडि नफर्की घर फर्कने । कतिसम्म भने त्यही कक्षामा चारजना नेपाली पुरुष पनि पढ्ने रहेछन् भन्ने उनले धेरै वर्षपछि पद्मकन्या कलेजमा भेट हुँदा थाहा पाइन् । उनी हल्का हाँसो ल्याउँदै भन्छिन्, ‘यो बानी मेरो अहिले पनि गएको छैन । बाटोमा हिँड्दा अंगुरबाबा बोलिन भनेर चित्त नदुखाउनु । म कि भुइँमा हेर्छु कि धेरै टाढा हेर्छु ।’

पढाइ सकेर फर्केपछि पद्मकन्या कलेजमा पढाउन थालिन् । सन् १९५४ मा एमए पास गरेकी उनले काठमाडाैंमा पढाउँदै गर्दा बीएल पनि गरिन् । त्यतिबेला ब्रिटिस सरकारको कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति खुल्यो । शिक्षा मन्त्रालयले श्रीमानको फर्म बुझ्यो, तर उनको रोकिदियो । राजा महेन्द्रको अगाडि पुग्ने अवसरको उपयोग गर्दै राजालाई बिन्ती गरिन् । भोलिपल्ट उनको फर्म मन्त्रालयले बुझ्यो । फेरि अढाइ वर्षकी कान्छी छोरीलाई सासूको साथ छाडेर उनी श्रीमानसँग बेलायतको प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीअन्तर्गतको समरभिल कलेज पढ्न गइन् । श्रीमान अर्र्कै ठाउँमा विद्यावारिधि गर्न थाले । सुरुमा निकै ‘होमसिक’को सामना गरे पनि श्रीमान र परिवारको साथले लगातार चार वर्षको अध्ययन पूरा गरिन् ।

पहिलो महिला क्याम्पस प्रमुख
बेलायतबाट फर्केपछि भने २०१९ मा पद्मकन्या कलेजमा प्रिन्सिपल भइन् । १८ वर्ष कलेजमा सेवा गरेकी अंगुरबाबा १२ वर्ष प्रिन्सिपल रहिन् । अहिलेका कलेजहरूमा हुने राजनीतिप्रति वितृष्णा छ उनको । उनको कार्यकालमा प्रहरीलाई कहिल्यै कलेजभित्र छिर्न दिइनन् । काठमाडाैंका विद्यार्थीलाई भन्दा ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइन् उनले । काठमाडाैंमा दोस्रो श्रेणीमा उत्तीर्ण हुनेभन्दा ग्रामीण भेगबाट तेस्रो श्रेणीमा उत्तीर्ण गरेकालाई कलेज भर्नामा प्राथमिकता दिएको उनी बताउँछिन् । आफूले विज्ञान विषय पढ्न नपाएको तिर्सना उनले पद्मकन्यामा विज्ञान विषय राखेर पूरा गरिन् ।

लोकगीत र संस्कृतिलाई विश्वव्यापी बनाउन लोकगीतको सङ्काय खोलिन् । गाउँ बुझे मात्रै नेपाल बुझिन्छ भन्ने दृष्टिकोणले गर्दा एमए पास गरेका विद्यार्थीलाई दश महिना गाउँमा बसेर काम गर्नैपर्ने नियम बनाइन् । सहरीया विद्यार्थी अप्ठ्यारो मान्दै गाउँ जान्थे, तर फर्कंदा गाउँले परिवेशसँग भिजेर रुँदै फर्केको अनुभव छ उनीसँग ।

१८ वर्ष निरन्तर काम गरिन्, तर ‘ख’ श्रेणीबाट ‘क’ श्रेणीमा कहिल्यै उक्लिनन् । महेन्द्र सरकारको मन्त्रिपरिषद्ले आदेश दिएको शिक्षकलाई आफूले हाजिर गर्न नदिएको गर्वका साथ सुनाउँछिन् । उनी भन्छिन्, ‘निजामती सेवा नियमावलीअन्तर्गत क्याबिनेटको डिसिजन नमानेको पहिलो म नै होला ।’ राष्ट्रिय पञ्चायतमा मनोनीत भएपछि कलेजबाट राजीनामा दिइन् ।

जीवनको सुखानुभूति
जन्मँदै रोग लिएर जन्मिएकी अंगुरबाबाले दुईपटक क्यान्सरजस्तो खतरनाक मानिएको रोगलाई जितिन् । घाँटीमा लागेको क्यान्सर काटेर फाल्दा अनुहार बाङ्गियो, तर सकारात्मक सोच र आध्यात्मिक चिन्तनले उनको मन सीधा भयो । पहिले–पहिले आउने नकारात्मक सोच अहिले आउन छाडे । जीवन झनै सुन्दर लाग्न थालेको छ । यसमा पनि केही खड्किएको खुसी भने एउटै छ, श्रीमानले यो सौन्दर्य देख्नुपरेन । श्रीमान भइदिएको भए के सोच्दा होलान्, उनलाई अहिले यस्तो लाग्छ । कति सीधा अनुहारमा बाङ्गिएको मन लिएर हिँड्छन् । अनुहारमा के हुन्छ, जति मन सुन्दर र कञ्चन हुनुमा आत्मसन्तुष्टि हुन्छ । ऐनामा अनुहार होइन मन हेर्न सक्ने हो भने जगत् अझै सुन्दर हुन्थ्यो होला ।
अनुहारको सौन्दर्यले उनलाई खासै असर गरेन । तर, ब्रेस्ट क्यान्सरका कारण छातीको भाग काटेर फाल्दा भने उनलाई कताकता चसक्क दुख्यो । मातृत्वमाथिको प्रहारझैँ लाग्यो । त्यसलाई पनि सकारात्मक सोच राखेरै मन बुझाइन् । उनी भन्छिन्, ‘म एउटा छाती लिएर हिँड्छु, यदि कसैलाई देख्दा अनौठो लाग्छ भने द्याट्स नट माई प्रोब्लम, द्याट्स देयर प्रोब्लम ।

क्यान्सरलाई प्राणघातक रोग मानिने समाजमा उनी यसलाई बरदान मान्छिन्, त्यसैले क्यान्सर रोगीमा हुने मानसिक समस्या हटाउन उनले प्रेरणादायी पुस्तक लेखेर समाजलाई दिइन्– ‘क्यान्सर : बरदान ।’ त्यसो त उनको पाठेघरको अप्रेसन भइसकेको छ । अहिले मुटुमा पेसमेकर राखेर जीवनको गाडी हाँकिरहेकी छिन् । उनलाई देख्दा लाग्दैन उनले यत्तिका रोगहरूलाई जितेकी छिन् । शरीर मेसिनको भरमा चलेको छ । कसरी यस्तो हुनु भो ? ‘भगवानको कृपा, अरूको आशीर्वाद अनि आफ्नो आत्मबल ।’

महात्मा गान्धी ‘आइडियल’ मानेर हुर्किएकी उनी खप्तड बाबाकी भक्त हुन् । क्यान्सरको बिरामी भएर भारतमा उपचार गराउँदा खप्तड बाबाको अङ्ग्रेजी किताब नेपालीमा उल्था गरेर सकिन् । यो किताब नसकी म मर्न हुँदैन, मेरो मृत्यु हुनै सक्दैन भन्ने आत्मबल थियो उनमा ।
वृद्धावस्थालाई बोझ मान्नेहरूको अगाडि उनी उदाहरणीय छिन् । आफ्नो उमेरकालाई समर्पण गर्दै ‘वृद्धा अवस्था : जीवनको श्रीपेच’ पुस्तक लेखेकी छिन् । ८४ वर्षको उमेरमा पनि उनी लेखनमा उत्तिकै सक्रिय छिन् । अगाडि एक झोला औषधि राखेर कलम चलाइरहेकी हुन्छिन् । फेरि यही वर्ष उनको अर्को कृति निस्कँदै छ ‘दीक्षा’ । ‘अभिभावक, समाज र राज्य सन्ततीलाई शिक्षा दिन्छन्, तर दीक्षा ओझेलमा छ,’ उनी भन्छिन् । जीवनको यो क्षणमा अर्को खुसीको कुरो, भर्खरै मात्र उनलाई मुलुकको प्रतिष्ठित पुरस्कार जगदम्बाश्री समर्पण गरिएको छ ।

प्रकाशित मिति: २०७२ कात्तिक २९ गते अाइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: