खेमा बस्नेत
कैलाली, कात्तिक २९ । केही समय पहिले चुलो चौकोमा मात्र गर्दै आएकी एक महिला अहिले अफसेट प्रेस बनेकी छिन् ।अवसर पाए महिलाले जे काम पनि सहज रुपले गर्न सक्ने उदाहरण बनेकी छिन् धनगढी बइयाबेहडीकी जानकी चौधरी ।
करिब डेढ दशक देखि अफसेट प्रेस अपरेटरको काम गर्दै आएका श्रीमानसँग काम सिकेर जानकी अपरेटर बन्न सफल भएकी हुन् । उनी आजकाल दैनिक पत्रपत्रिका छाप्नको लागि बिहान ३ बजेदेखि मेसिनमा काम गर्छिन् ।
सामान्यतया मेसिनको काम गर्नु जोकोहीलाई जोखिम मानिन्छ । तर जानकी एक निरक्षर महिला भएर जोखिमयुक्त काम सहज ढंगले गर्दै आएकी छिन् । उनीसँगै उनका श्रीमान पनि काम गर्छन् । श्रीमानले मेसिन चलाएमा उनी सहायक काम गर्छिन् । श्रीमान कतै जानुपर्ने भए उनी आफै मेसिन चलाउँछिन् र पत्रपत्रिका छाप्छिन् ।
जानकीले मेसिनमा काम गर्न लागेको करिब ३ वर्ष भयो । यसअघि गाउँमा खेतीपाती र चौपायाको रेखदेख गर्ने गरेको जानकी बताउँछिन् ।
‘मलाई मेसिन चलाउँन राम्ररी आउँछ’ विहान ४ वजे गार्डनर अफसेट प्रेसमा पत्रिका छाप्दै भेटिएकी जानकीले भनिन् ‘श्रीमान नहुँदा म नै चलाउँछु ।’
आफूलाई केही समस्या परेमा श्रीमानले सघाउने गरेको उनको भनाइछ ।जानकीको प्लेट हिट गर्दा श्रीमानले कागज मिलाउँछन् । एकले मेसिन चलायो भने अर्कोले हेल्प गर्छन् ।
दुवै जना मेसिन अपरेटिङ गर्न सक्षम भएपछि हेल्परको आवश्यकता पनि टरेको उनका श्रीमान काली चौधरी बताउँछन् । ‘यसअघि राम्रो हेल्पर नपाएर समस्या हुने गरेको थियो ।’ अपरेटर कालीले भने ‘श्रीमतिले काम सिक्दा आजकाल सजिलो भएको छ ।’
जानकी पत्रिकाको प्लेट(मास्टर कपी) हिट गर्ने, मेसिनमा चढाउने, खोल्ने, कागज काट्ने र मेसिन समेत चलाउने काम गर्छिन् ।
महिलाले अवसर र साथ पाए जस्तो सुकै काम गर्न सकिने जानकी बताउँछिन् । आफू निरक्षर भएर पनि आत्म निर्भरमूखी सिप सिक्न पाएकोमा उनी खुसी छिन् । यो संगै उनका श्रीमान पनि खुसी र सुखी बनेका छन् ।
काम जेसुकै भएपनि आत्मविश्वासका साथ गर्यो भने सफल हुने जानकी बताउँछिन् ।
प्रकाशित मिति :२०७२ कात्तिक २९ गते आइतवार
Comment Here!