महिला खबर
कैलाली, कात्तिक २९ । यौन तथा स्वास्थ्य प्रजननका बारेमा कुरा गर्ने र आफ्ना यौन समस्या भन्न लाज मान्ने किशोरीहरू अहिले यौनका बारेमा खुलेर बोल्न थालेका छन् ।
किशोर अवस्थामा पुगेपछि देखिने परिवर्तनका बोरमा धेरैले आफ्ना परिवारसँग भन्न लाज मान्ने गर्दछन् तर, कैलाली पहलमानपुरकी प्राचि अहिले गाउँगाउँमा यौन शिक्षाको बारेमा जानकारी गराउने गछिन् । ‘महिनावारी भएको बेलामा आफूमादेखिने समस्या बारे कसैलाई भन्न पनि लाज लाग्ने गर्दथ्यो कसैले केही भन्ने हो की भन्ने डर लाग्थ्यो ।’ प्राचि भन्छिन् ‘यौन शिक्षाका बारेमा थाहा पाएपछि गाउँमा परिवार नियोजनका साधन बाड्ने, यौन र प्रजनन स्वास्थ्यका बारेमा बताउने गर्दछु ।’
कक्षामा शिक्षक शिक्षिकाले यौन तथा प्रजननका बारेमा पढाउन लाजले तल टाउको गर्ने हामी अहिले पुरुषलाइ अस्थायी साधन वितरण गर्ने काम समेत गर्ने गरेको पहलमानपुरकी जानकी बम बताउँछिन् । ‘यौनका बारेमा धेरै मान्छे जानकार नहुँदा यौन सम्बन्धि रोग लुकाएर बस्ने बानी छ, त्यसैले हामीले यस सम्बन्धि जानकार गराउँदा धेरै मान्छे खुलेर आफ्ना समस्या भन्ने भएका छन् ।’ उनी भन्छिन् ‘असुरक्षित यौन सम्पर्कले विभिन्न रोग लाग्न सक्ने भएकाले सुरक्षित यौन सम्पर्कका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन वितरण समेत गरेका छौ ।’
अभियानमा लागेकी सुस्मिता दाहाल भन्छिन् ‘गाविसमा क्लिनिक भएपछि यौन शिक्षाका बारेमा जानकारी लिन,यौन र प्रजनन स्वाथ्यका बारेमा खुलेर भन्न सक्ने भएका छाैं । यसको बारेमा कुरा गर्ने के को लाज ।’
कैलाली हसुलियाकी सुनिता चौधरी पनि यौन प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न सक्ने भएकी छिन् । उनले भनिन् ‘परिवार नियोजनका साधनका बारेमा जानकार नहुँदा धेरैले असुरक्षित गर्वपतन गराउँदा कैयौँ महिलाले ज्यान गुमाउनु परेको छ, त्यसकारण किशोरकिशोरीहरू मिलेर गाउँमा चेतना जनाउने अभियान चलाएपछि यसका बारेमा जानकारी लिने समेत बढेका छन् ।’
नेपाल सरकारले हेल्थपोष्टहरूलाई युवामैत्री हेल्थपोष्ट भनेर तोकेको छ । हेल्थपोष्टमा गएर किशोरकिशोरीहरूले सहज रुपमा आफ्ना यौन तथा प्रजनन समस्या राख्ने गरेका छन् ।
पहलमानपुर हेल्थपोष्टकी स्टाप नर्सले किशोर किशोरीले यौन र प्रजनन स्वास्थ्य बारे गाउँमा चेतना मुलक कार्यक्रम गर्दा यस सम्बन्धि जानकारी लिन आउने महिलाको संख्यमा बृद्धि भएको बताईन ।
महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार तथा प्रजनन स्वास्थ्यमा सुधारका बारेमा किशोर किशोरीहरूलाई जानकारी दिने उद्देश्यले नेपाल परिवार नियोजन संघ कैलालीले एकिकृत जनसख्या,स्वास्थ्य तथा वातावरण कार्यक्रम सञ्चालन गरेको छ ।
संघका शाखा प्रबन्धक चेतराज जोशीले विद्यालयमा अध्ययनरत १५ देखि १९ वर्षका किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिएपछि उनीहरू अहिले खुलेर आफ्ना स्वास्थ्य समस्या राख्ने गरेको बताउँछन् ।
‘यौनका कुरा गर्ने डर र लाज मान्ने हिजोका किशोरकिशोरी अहिले यौन र प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन विद्यालयमा अन्तरक्रिया कार्यक्रम, सडक नाटक, समुदायका युवासगं अन्तरक्रिया गर्ने गरेका छन् ।’ प्रबन्धक जोशी भन्छन् समाजमा अहिले किशोरकिशोरीहरूले परिवार नियोजनका साधनका बारेमा खुलेर बताउने गरेका छन् ।’
किशोर किशोरीहरूले एचआईभी रोकथाम, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र यौन स्वास्थ्य बारे गाउँगाउँमा पुगेर चेतना जगाउने काम गरेको प्रबन्धक जोशी बताउँछन् ।
प्रकाशित मिति :२०७२ कात्तिक २९ गते आइतवार
Comment Here!