महिला खबर
नेपालगन्ज, कात्तिक ३० । वैदेशिक रोजगारीमा गएर फर्केका महिलालाई समाजमा आत्मसम्मानका साथ बस्न सक्ने वातावरण सिर्जना गर्न बाँकेमा पारिवारिक परामर्श सञ्चालन गरिएको छ ।
विदेशबाट फर्केका महिलालाई समाजमा विभिन्न किसिमका लाञ्छना लगाईने हुँदा आत्मसम्मानका साथ बस्न सक्ने वातावरण नभएको र घरपरिवारबाट समेत अपहेलित हुनुपरेको पाईएको छ ।
वैदेशिक रोजगारीमा गएर राम्रैसँग काम गरी आर्थिक सशक्तिकरण भए पनि समाजले अस्वीकार गरेका कारण ठाउँनै छोड्नु परेकोले पारिवारिक परामर्श सचेतना सञ्चालन गरिएको साथी संस्थाकी क्षेत्रीय संयोजक कमला पन्तले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक नरहेकोले अन्तत घरपरिवारबाट समेत अपहेलित हुन पुगेको पाईएकोले पारिवारिक परामर्श सञ्चालन गरी घरपरिवारबाटै सकारात्मक सोंच र दृष्टिकोणको विकास गरिने उहाँले बताउनुभयो ।
‘हामी रमाईलो गर्न विदेश गएका होईनौं, घरको अवस्था कम्जोर भएकोले दुःख पाएर गएका हौँ ।’बाँकेको चिसापानी गाविस स्थित पीडित प्रभावित महिलाले भनिन्‘हामी हिम्मत हारेका छैनौँ, हामीलाई मात्रै सम्झाएर हुँदैन,श्रीमानलाई सम्झाईदिनु पर्यो, परिवारलाई बुझाईदिनु पर्यो ।’
गाउँ समाजमा लगाईने लाञ्छनाले विदेशबाट पैसा ल्याएर आएकी श्रीमतीलाई श्रीमानले स्वीकार गर्न नसक्ने अवस्था सिर्जना भएकाले पारिवारिक परामर्श अत्यन्त जरूरी भएको चिसापानी गाविस सचिव वसन्तकमल आचार्यको भनाइ छ ।
महिला वैदेशिक रोजगारमा हुँदा घरपरिवारमा छोराछोरीको बिचल्ली हुने र विदेशबाट फर्किएपछि आत्मसम्मानमा ठेस पुग्ने गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले बताउनु भयो ।
समाज आफै जागरूक र सचेत नहुँदासम्म वैदेशिक रोजगारबाट फर्किएका महिला समाजमा आत्मसम्मानका साथ बाँच्न कठिन रहेको कोईरालाको बुझाई छ ।
प्रकाशित मिति २०७२ कात्तिक ३० गते सोमवार
Comment Here!