महिला खबर
कञ्चनपुर, कात्तिक ३० । बच्चा जन्माउन मद्दत पुर्याउने ‘अक्सिटोसिन’ सुई नहुँदा कञ्चनपुरको शङ्करपुर गाविसको स्वास्थ्य चौकीमा सुत्केरी हुन जाने महिलालाई समस्या परेको छ । छ महिनादेखि स्वास्थ्य चौकीमा सुईको अभाव भएको हो ।
ढिलो गरी सुत्केरी हुने महिलालाई छिटो सुत्केरी गराउन सघाउन सो सुई प्रयोग हुने गरेको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताउनुभयो । ढिलो गरी सुत्केरी हुने र सहजै सुत्केरी हुन नसक्ने महिलालाई सो सुईको प्रयोग गरी सहज रुपमा प्रशव गराउन सकिन्छ । सुई काे अभाव भएपछि बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाले कठिनाइको सामना गर्नु परेको उहाँको भनाइ छ ।
जटिल प्रकृतिको सुत्केरी हुने महिलालाई यहाँका वासिन्दाले कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगर पुर्याउनसमेत सडक र यातायातका साधनको अभावले समस्या हुने गरेको छ । उहाँका अनुसार पटकपटक सुई र अत्यावश्यक औषधिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई भन्दै आए पनि उपलब्ध हुन सकेको छैन ।
सुईसँगै सुत्केरी हुने महिलालाई आवश्यक पर्ने औषधि, प्याड, न्यानो झोलालगायतका सामग्रीको समेत अभाव भएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७१/७२ मा ८८ जना महिलाले सुरक्षित सुत्केरी गराएका थिए भने ०७२/७३ को हालसम्म ३० जना महिलाले सुत्केरी गराएका छन् ।
प्रकाशित मितिः २०७२ कात्तिक ३० गते साेमवार
Comment Here!