‘हलो जोत्दा जमीन भासिँदैन’


प्रकाशित मिति :2015-11-17 16:33:45

महिलाले हलो जोत्नु कुलक्षण हो, यदि हलो जोती हाले जमीन भासिन्छ भन्ने परम्परागत रुढिवादी मान्यताको पर्खाललाई भत्काउन नेपाली महिला सफल हुँदै गएका छन् । तर, पनि नेपाली समाजमा हलो जोते जमिन भासिन्छ र गोरु बहुलाउँछन् भन्ने मान्यताले अहिले पनि जरो गाडेर बसेको छ । 

ईश्वरी जी.एम

रोल्पा, मंसिर १ । रोजगारीको लागि गाउँका पुरुषहरू विदेशिएपछि रोल्पाका महिला हलो जोत्न अभ्यस्त भएका छन् । गाउँघर पुरुषविहीन हुँदै गएपछि हलो जोत्न हुँदैन भन्ने मान्यता तोड्दै उनीहरू सो काम गर्न अभ्यस्त भएका हुन ।

माओवादी युद्धको बेला हलो जोत्नहुँदैन भन्ने मान्यता तोड्न पार्टीका महिला कार्यकर्ताले रोल्पाबाट जोत्न सुरु गरेका थिए भने अहिले गाउँका महिला बाध्यताले यस्तो पराम्पराविरुद्ध उभिएका हुन् । महिलाले हलो समाएर गोरुलाई माथि तल भनेको सुन्दा गाउँमा परिवर्तन भएको अनुभूत जो कसैले गर्न सक्छ ।

रोल्पा ह्वामाकी आसा थापाका श्रीमान वैदेशीक रोजगारीमा गएकोे धेरै भयो । श्रीमान रोजगारीमा गएपछि परिवारको सम्पूर्ण जिम्मा आसाको काँधमा छ । श्रीमानको कमाईले मात्र उनको परिवार चल्दैन । गाउँमा उनले खेती किसानी गर्नुपर्छ ।

????

ह्वामा गर्पाकी ३८ वर्षीया आशाले श्रीमान विदेश गएको पहिलो वर्ष खेती लगाउने बेला घरमा पुरुष नहुँदा केही बारी बाँझै राख्नु प¥यो, कारण महिलाले हलो जोत्नु हुँदैन भन्ने परम्परावादी सोच ।

उनको गाउँका धेरै पुरुष रोजगारीको लागि मुग्लान पसिसकेका छन्  । तर, केही वर्षयता आशाको बारीमा मौसमी खेती हेर्न लायक हुन्छ । श्रीमान मतिराम थापा वैदेशिक रोजगारीमा गएको एक वर्षपछि उनले बारी जोत्ने काम आफँैले सम्हालेकी छन् । उनी काँधमा जुवा काखमा बच्चा बोकेर बारी जोत्न बिहानै निस्कीन्छिन् ।

आशा आजभोली बारी जोत्नमै व्यस्त छन् । गाउँमा महिलाले हलो जोत्नुहुन्न भन्ने परम्परा रहेपनि बाध्यता आईपरेका कारण हलो समाउनुपरेको आशा बताउँछिन् ।

आफैले हलो जोत्न थालेपछि छिमेकी पुरुषलाई ज्याला दिएर वा पर्म लगाएर गुहार्नु पर्ने बाध्यताबाट उनलाई मुक्ति मिलेको छ । पहिले आशा बारी जोत्ने बेला कस्को घरमा हलो जोत्न सक्ने पुरुष छन् भन्दै गाउँ चहार्दै र आफ्नो पीडा सुनाउँदैमा खेती गर्ने समय टल्थ्यो । उनकै जस्तो पीडा भोगेका अन्य छिमेकी महिला पनि उनको देखासिकि गर्न थाले ।

????

अहिले आशा मात्र होईन गाउँमा रोजगारीका लागि श्रीमान घर बाहिर रहेका अन्य महिलाले पनि बारी जोत्दै गरेको दृश्य ह्वामामा अब सामान्य लाग्न थालेका छन् । अहिले ह्वामाका महिलाले आफ्ना छोरीलाई पनि हलो जोत्न सिकाउने गरेको छन् ।

यस्तै रोल्पा नुवागाउँकी ३६ वर्षीया हरिकला घर्ती मगरले पनि ४ वर्षदेखि लगातार आफ्नो बारी आफैले जोत्न थालेको अनुभव सुनाईन् । पैसा कमाउन ७ वर्ष पहिले भारत हिडेका उनका श्रीमान अहिलेसम्म घर फर्केका छैनन् । श्रीमान भारतबाट नफर्किएपछि हरिकलाले घर व्यवहारका साथै खेतबारी जोत्ने काम आफैँले गर्दै आएको बताईन् । उनले भनिन् ‘म खुसी छु । आफैँले हलो जोत्छु अरु कसैलाई गुहार्नु पर्दैन ।’

बारी जोत्दाको अनुभव सुनाउँदै उनले भनिन् ‘पुरुषले मात्रै गर्दै आएको काम भएकाले सुरुमा अलि अप्ठ्यारो भयो, लाज पनि लाग्यो । तर, अहिले सामान्य लाग्छ । ‘श्रीमान घर छैनन् भन्दैमा बारी बाँझो राख्न त भएन, त्यहि भएर जोत्न थालेको’ उनले सुनाइन ।

5 (2)

नुवागाउँमा हलो जोत्ने उनी एक्लो महिला होइनन् । उनले आफू जस्तै धेरै महिलालाई हलो जोत्न सिकाई सकेकी छन्, भन्छिन् ‘अहिले त उनीहरू जोत्न खप्पिस भईसकेका छन् ।’ हरिकलाले सुरुमा बारी जोत्दा हेर्नेहरूको मेला नै लाग्थ्यो ।
श्रीमान घरमा नहुँदा बारी बाँझै र घरको भकारी खाली हुँदा छाक टार्न गाह्रो भएको दुख पोख्दै उनले भनिन् ‘कैयाैं रात खोले मात्र खायौँ ।’

रोल्पाका धेरै जसो गाविसका महिलाले आजभोली आफैँले खनजोत गर्दछन् । महिलाले हलो जोत्नु कुलक्षण हो, यदि हलो जोतीहालेमा जमीन भासिन्छ भन्ने परम्परागत रुढिवादी मान्यताको पर्खाललाई भत्काउन महिला सफल हुँदै गएका छन् ।
रोल्पामा मात्र होइन पूर्वी नेपालको ओखलढुङ्गाको उँवुमा करिव २५ प्रतिशत महिलाले आफैँ हलो जोत्ने अधिकारकर्मी सविना राईको भनाइ छ ।
एक जना महिलाले हलो जोत्दा अर्को महिलामा आत्मविश्वास बढ्ने, महिला कमजोर हुँदैनन् भन्ने मान्याता स्थापित गर्ने र पुरुषविना खेतबारी जोत्ने काम रोकिँदैन भन्ने परिवर्तनकारी सन्देश दिने सविना राईको बुझाई छ । हलो जोत्नु पनि महिलामाथि थुपारिएको परम्परावादी सोचको अन्त्य गर्दै नयाँ र समानतापूर्ण समाज निर्माणको दिशामा अघि बढ्नु हो ।

2

यसैगरि नेपालगन्जमा महिलालाई नाँगै जोत्न लगाईएको छ । केहीसमय अगाडि नेपालगन्जको एउटा गाउँका सबै महिला नाँगै भएर खेतमा जोत्न पुगेका थिए । उनीहरू घरमा खेत जोत्ने पुरुष नभएर होइन अन्धविश्वासको कारण नाँगै भएर गोरुलाई जस्तो गरि नारेर जोतिएको थियो ।

उनीहरूलाई खेतमा जोत्न पठाउनुको कारण समयमा पानी पर्छ भन्ने अन्धविश्वास हो । रातको समयमा गाउँका महिला नाँगै भएर खेत जोत्दै छन् भन्ने थाहा पाएपछि स्थानीय प्रहरी त्यो ठाँउमा पुगेर महिलालाई लखेटेको थियो ।

प्रकाशित मिति २०७२ मंसिर १ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: