पुर्ननिर्माणमा महिलाकाे समानुपातिक सहभागिताकाे माग
प्रधानमन्त्रीको सम्बोधनमा महिला नसमेटिनु दुखद
महिला खबर
ललितपुर, मंसिर २ । भूकम्पपछिको पुर्ननिर्माण प्राधिकारणमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग महिलाले गरेका छन्। भुकम्पपछि मानविय सहायतामा लैगिंक समानता तथा सशक्तिकरणका लागि साझा अभियानद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट सवैभन्दा प्रताडित महिला तथा बालबालिका भएपनि प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनमा पुर्ननिर्माणका क्रममा महिला सहभागितालाई स्थान दिने कुरा नसमेट्नु दुखद भएको उल्लेख छ।
साझा अभियानका तर्फबाट संयोजक चाँदनी जोशीले जारी गर्नुभएको विज्ञप्तिमा पुर्ननिर्माणका क्रममा महिलालाई नेतृत्वदायी भूमिकामा सहभागी गराउन आग्रह गरिएको छ। यस्ता निकायमा महिलालाई सहभागी गराउँदा राजनीतिक आस्थाका आधारमा भागबण्डा नगरी समस्याको गहिराइ बुझेका विज्ञ महिलालाई प्रथमिकता दिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
साथै राष्ट्रिय महिला आयोग तथा अन्य संवैधानिक निकायका नियुक्तिमा पनि दलगत भागवण्डा नगरी विषयगत दक्षता हासिल गरेका र महिला अधिकारको क्षेत्रमा क्रियाशील रहेका महिलालाई समावेश गर्दा आयोगको कार्य सम्पादन प्रभावकारी हुने विज्ञप्तिमा भनिएको छ। राज्य संयन्त्रका अन्य निकायमा पनि महिलाको अर्थपुर्ण सहभागिताको माग महिलाले गरेका छन्।
यो अभियानमा संचारिका समूह, साथी, फेडो, एकल महिला समूह, महिला विकास र कानुन मञ्च, बियोण्ड बेइजिङ, म्याग, जागरण नेपाललगायतका संस्था आवद्ध छन्।
प्रकाशित मितिः २०७२ मंसिर २ गते बुधवार
Comment Here!