महिला खबर
खुशियाली जुलुशमा सहभागी विद्यार्थी / तस्बिर सौजन्यः सुशील खड्का
नेपालगन्ज, मंसिर ३ । सुर्खेतको वीरेन्द्रनगरस्थित कोपिला भ्याली स्कुलकी सञ्चालिका डोयन सिएनएन हिरो २०१५ घोषित भएपछि विद्यार्थीले खुशियाली र्याली निकालेका छन् । कोपिला भ्याली स्कुलबाट निकालिएको र्याली बाजासहित वीरेन्द्रनगर बजार परिक्रमा गरेर पुनः स्कुलमै पुगेर कार्यक्रमको आयोजना गरिएको थियो ।
२०६४ सालमा स्थापना भएको कोपिला भ्याली समाजमा हाल ३६० जना बालबालिकाहरू अध्ययनरत छन् । मध्य तथा सुदूरपश्चिमक्षेत्रका सडक र टुहुरा बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले अमेरिकी नागरिक म्यागी डोयनले यो स्कुल सञ्चालन गर्नुभएको हो । डोयनले कोपिला स्कुलमात्र नभएर आर्थिक, समाजिक र शैक्षिक रुपमा पछाडी परेका महिलालाई आत्मनिर्भर बनाउन कोपिला भ्याली महिला केन्द्र समेत सञ्चालनमा ल्याउनुभएको छ ।
२०६७ सालबाट नर्सरीदेखि कक्षा ६ सम्म कोपिला भ्याली स्कुलमा सञ्चालन गरेकी डोयनले कक्षाहरू वृद्धि गर्दै २०७२ सालको एसएलसीमा २१ जना विद्यार्थी उत्तीर्ण भएका थिए । १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरेकी डोयनले १९ जना बालबालिकालाई वीरेन्द्रनगरको होराइजन एकेडमीमा अध्यनरत छन् भने बाँकी दुई जना उच्च शिक्षाको लागि अन्य स्कुलमा पढीरहेका छन् । कोपिला भ्याली स्कुलमा सुर्खेत, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बाँके, बर्दिया, कैलाली र अछामका अनाथ बालबालिका अध्यनरत छन् ।
शुरुमा २६५ जनाबाट डोयन स्कुल सञ्चालमा ल्याएको विद्यालयका सहायक प्रधानाध्यापक मिनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले शुरुमा विद्यार्थी कम भएकाले आमाबुवा भएका अन्य बालिबालबालिकालाई पनि स्कुलमा पढ्ने अवसर दिएको बताउनुभयो । आवाससहितको यो स्कुलमा ४९ जना अनाथ बालबालिका बस्दै आएका छन् । शाहीका अनुसार कोपिला भ्याली महिला केन्द्रमा ४२ जना महिला सीपमुलक आयआर्जन सिकेर रोजगारीमा आवद्ध भएका छन् । केन्द्रका महिलाले सीपअनुसारको काम नपाए डोयन आफैँले रोजगारीको व्यवस्था गर्दै आउनुभएको छ ।
प्रकाशति मितिः २०७२ मंसिर ३ गते बिहीवार
Comment Here!