रुपन्देहीको साँडी गाविसका महिलाले सामान्य तालिमका भरमा आफना लागि घरमै ‘सेनेटरी प्याड’ बनाउन थालेका छन् । देख्दा सामान्य लाग्ने यो कामले उनीहरूको स्वास्थ्य चेतनामा भने ठूलो परिवर्तन ल्याएको छ ।
झविन्द्र देवकोटा
बुटवल, मंसिर ३ । ‘पहिला महिनावारी भएको समयमा घरमा भएको फोहोर कपडा लगाउँथियौ, सरसफाई बारे थाहाँ नहुँदा संक्रमण हुने र क्यान्सर समेत हुने गर्छ भन्ने कुरा अहिले हामीलाई थाहा छ ।’ रुपन्देहीको साँडी गाविस –२ असिधवाकी –३३ बर्षीया मालती थारुको यो भनाइले थारु वस्तीमा आएको चेतना दर्शाउँछ ।
महिनाबारी भएको समयमा फोहोर कपडा प्रयोग गर्ने रुपन्देही साँडी गाविसका महिला अहिले आफैँले बनाएको सफा र ‘हाईजेनिक’ कपडा (प्याड) प्रयोग गर्न थालेका छन् । स्थानीय सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा गठन भएको महिला स्वावलम्बन समूहबाट तालिम पाएका उनीहरूमा सरसफाई सम्वन्धी चेतना बढेको छ ।
मालती जस्तै तराईको ग्रामीण बस्ती साँडीकै ४५ बर्षीया तिलकुमारी चौधरीलाई पनि पहिलो पटक महिनावारी हुँदा धेरै समस्या पर्यो । के गरौं कसो गराैं भनेर आत्तिएकी तिलकुमारीले पुरानो र घरमा आमाले फालेको फोहोर कपडा प्रयोग गरेर महिनाबारीका दिन काटाईन् । उनी भन्छिन्, ‘पहिले सफा कपडा लगाउनुपर्छ, कपडा घाममा सुकाउनु पर्छ भन्ने थाहा थिएन । त्यसैले लुकाएर सुकाउँथ्यौ । अहिले बल्ल थाहा पायौं त्यसो गर्न नहुने रहेछ ।’
साँडीको असिधवाका स्थानीय महिला महिनाबारी हुँदा सरसफाईमा ध्यान दिईएन भने पाठेघर संक्रमण, महिनावारी अनियमित हुने, पाठेघरको क्यान्सरलगायतका समस्या हुन्छन् भन्ने कुरामा समेत सचेत हुँदै गएका छन् । एक पटक प्रयोग गरेको सेनेटरी प्याड राम्रोसँग साबुन पानीले धोएर घाममा सुकाएरमात्र पुनः प्रयोग गर्न सकिन्छ भनेर अरु दिदी बहिनीलाई सिकाउदै हिडेको बताउछिन् तिलकुमारी चौधरी । पहिले ब्यक्तिगत स्वास्थ्यका बारेमा खासै चासो नदिने रुपन्देहीको पश्चिमी ग्रामिण बस्तिका विपन्न तथा गरिव महिलाहरु समुहमा बस्ने र छलफल गर्न थालेपछि प्रजनन् स्वास्थ्यका बारेमा खुलेर छलफल गर्न थालेका छन् ।
स्थानीय २५ वर्षीया लक्ष्मी थारु भन्छिन् ‘हामीले सेनेटरी प्याड साबुन पानीले धोएर घाममा सुकाउने गरेका छौं । घाममा सुकाएकै प्रयोग गर्दछौं । छायाँमा सुकाउने गर्दैनौ । घाममा सुकाउदाँ किटाणु मर्दछन् । सर्फ र साबुनले धुदा किटाणु रहदैनन् ।’
साँडी गाविसमा थारु, यादव, मुसलमान समुदायको बसोबास छ । महिनावारी हुदाँ गरिने सरसफाईका बारेमा पहिले थाहा नभएका कुराहरु अहिले त्यहाँका महिलाले खुलेर छलफल गर्न थालेका छन् । आफ्नो गाँउ—घरका पसलमा सेनेटरी प्याड किन्न असजिलो मान्न छोडेका छन् । लक्ष्मी भन्छिन् ‘प्याड किनेको कसैले देख्यो भने बेइज्जत होला भन्ने डर लाग्थ्यो । अहिले आफैले घरमै बनाएको सेनेटरी प्याडले त्यो झण्झट पनि टारेको छ ।’
राम्रोसंग नेपाली बोल्न नसक्ने यस गाउँका महिला नचिनेका मानिससंग खुलेर नबोल्ने भएकाले पनि गाँउकै दिदिबहिनिलाई यो काममा संलग्न गराउनु पर्ने जितकुमारी थारु बताउछिन् । घरमा बनाएको सेनेटरी प्याड बजारको तुलनामा भरभर्दाे र सस्तो हुने उनको भनाई छ ।
बजारमा पाइने प्याड ४५ देखि २ सय रुपैयासम्म पर्दछ । एउटा प्याकेटमा ५ देखि ८ पिस हुन्छ । एक पटक प्रयोग गरेपछि ती पुनः प्रयोग गर्न मिल्दैन । तर साँडिका महिलाले बनाएको प्याडलाई साबुनपानीले धुने र घाममा सुकाएर निर्मलिकरण गरेपछि पुनः प्रयोग गर्न मिल्ने हुँदा बजारको तुलनामा सस्तो हुन्छ ।
महिलाहरुलाई स्वावलम्बी बनाउन सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले तालिम दिइरहेको छ । केन्द्रकी सुपरभाईजर ईन्दु परियारका भनाइमा, स्थानीय गरिव, विपन्न, दलित, लोध, हरिजन, चौधरी, थारु, यादव, मुसलमान लगायत पछाडी पारिएका समुदायका महिलालाई स्वास्थ्यका बारेमा सचेत बनाउन प्याड बनाउने र प्रयोग गर्ने सीप सिकाउने गरिन्छ । उनी भन्छिन्, ‘प्याड बनाउन सुतिको नयाँ कपडा प्रयोग गरिन्छ । बाहिरी भागमा सेप्टिका लागि छाता बनाउन प्रयोग हुने कपडाको प्रयोग गरिन्छ ।’
असोजको दोस्रो सातादेखि प्याड बनाउन थालेका महिलालाई व्यवसायीक बनाउने बताउछिन परियार । स्थानीय ७० जना महिलाले तालिम लिए पछि गाँउका अन्य महिलालाई सिकाउन थालेका छन् । अहिलेसम्म प्याड बनाउने महिलाको संख्या एक सय बढी भएको छ । तालिम लिएकाले घरका अन्य महिलालाई पनि सिकाउँछन् ।
सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलकी स्त्रीरोग विशेषज्ञ डाक्टर शर्मिला शर्माले रुपन्देही साँडीका महिलाले सुतिको कपडाको प्रयोग गरि घरमै सुरक्षित प्याड बनाउनु प्रशंसनीय कार्य भएको बताईन् । डा. शर्मा भन्छिन्, ‘साबुन पानी नभएमा कपडा उमालेर पनि पुनः प्रयोग गर्न सकिन्छ ।’ महिनावारीको समयमा सरसफाईमा ध्यान नदिने महिला विभिन्न खालका स्वास्थ्य समस्या लिएर आस्पताल आएको अनुभव छ डा शर्मासंग ।
उनका अनुसार महिनावारी भएको समयमा सरसफाईका बारेमा धेरै ध्यान दिनु पर्छ । सामान्य रक्तश्राव भएको अवस्थामा दिनमा दुईवटा प्याड परिवर्तन गर्नपर्ने रक्तश्राव बढी भएमा आवश्यकता अनुसार प्याड परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । महिनाबारी भएको बेलामा ब्यक्तिगत सरसफाईसँगै दैनिक नुहाउने, यौनाङ्ग राम्रोसँग सफा गर्ने, पोषिलो र दागतिला खानेकुराहरु खान जरुरी रहेको डाक्टर शर्माको सुझाव छ ।
प्रकाशित मिति: २०७२ मसिंर ३ गते बिहीवार
Comment Here!