महिला खबर
ललितपुर, मंसिर ४ । विश्वका २५ करोड बालबालिका द्वन्द्व प्रभावित मुलुकहरूमा बस्ने र उनीहरूको अवस्था निकै जोखिमपुर्ण रहेको युनिसेफले जनाएको छ । युनिसेफले आज सार्वजनिक गरेको प्रतिवेदनमा विश्व अति विपन्न तथा उपेक्षित बालबालिकाका लागि गम्भीर रूपमा पक्षपातपूर्ण रहेको उल्लेख छ ।
अमेरिकाको न्युयोर्कमा प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले सन १९८९ मा बालअधिकार महासन्धि पारित भएपछि महत्वपूर्ण उपलब्धिहरू हासिल भएपनि अझै विश्वको विपन्न समुदायमा झन्डै आधा जनसङख्या बालबालिकाको रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘लगभग एक पुस्ताको अवधिमा विश्वमा बाल मृत्युदर आधाले घटेको छ । ९० प्रतिशत बालबालिका प्राथमिक विद्यालयमा पढ्छन् र सुरक्षित पानीमा पहुँच भएका व्यक्तिको सङख्या २ अर्ब ६० करोडले बढेको छ ।’
यस वर्ष युरोपमा शरण खोजिरहेका दुई लाखभन्दा बढी बालबालिकाको जीवन जोखिममा रहको प्रतिवेदनले जनाएको छ ।
युनिसेफले सम्पन्न परिवारका बालबालिकाको तुलनामा विपन्न परिवारका बालबालिकाको पाँच वर्ष पुग्नुभन्दा अगाडि नै मृत्यु हुने सम्भावना झन्डै दुई गुणाले बढी र बीचमै विद्यालयको पढाइ छाडने सम्भावना पाँच गुणाले बढी रहेको जनाएको छ ।
प्रतिवेदन अनुसार सम्पन्न परिवारका बालिकाको तुलनामा विपन्न परिवारका बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने सम्भावना चार गुणाले बढी छ । दुई अर्ब ४० करोडभन्दा धेरै मानिससँग अझै पनि शौचालयको पहुँच छैन जसमध्ये ४० प्रतिशत दक्षिण एसियामा छन । ६६ करोडभन्दा बढी मानिसहरुसँग सफा पिउने पानी छैन जसमध्ये झन्डै आधा उपसहारा अफ्रिकामा बस्ने गर्छन् ।
यसैगरि पुडकोपनको समस्या भोगिरहेका करीव १ करोड ६० लाख बालबालिकामध्ये झण्डै आधा बालबालिका दक्षिण एसियामा र एक तिहाई अफ्रिकामा बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
‘यस्तो व्यापक असमताले गरिबी र उपेक्षाको अन्तरपुस्ता दुस्चक्रलाई मलजल गर्दछ,’ लेकले भन्नुभयो ।
प्रत्येक बालबालिकाका लागि निष्पक्ष र समान अवसरले विश्वमा देखिएका बिभेदका खाडललाई साँघुरो बनाउँने युनिसेफले भनेको छ । अति जोखिममा रहेका बालबालिकाका लागि लगानी गर्नु सैद्धान्तिक तथा व्यवहारिक दुवै रूपमा आवश्यक भएको प्रतिवेदनमा आंैल्याइएको छ ।
‘प्रत्येक नौ बालबालिकामध्ये एक जना सशस्त्र द्वन्द्वबाट प्रभावित मुलुकमा बस्छन र डरलाग्दो हिंसा तथा आफूले पाउनुपर्ने जीवन, स्वास्थ्य र शिक्षाको हक नष्ट भएको देख्छन भन्ने कुरा सोच्दा मन दुख्छ’, युनिसेफका सदभावना दूत तथा बेलायती अभिनेता अर्लान्डो ब्लुमले भन्नुभयो ।
उहाँले युद्धले बालबालिका तथा उनीहरूका परिवारलाई आफ्ना घरबाट कसरी बाहिर निकाल्छ भन्ने बुझन आफू युगोस्लाभियाको मेसिडोनिया र सर्बिया पुगेको बताउँदै दोस्रो विश्वयुद्धपछि विश्वले अति गम्भीर शरणार्थी सङ्कटको सामना गरिरहेको बताउनुभयो । ।
प्रकाशित मिति :२०७२ मंसिर ४ गते शुक्रवार
Comment Here!