समानताकालागि महिला र पुरुष भनेर विभाजित हुनुहुँदैनः लक्की कार्की


प्रकाशित मिति :2015-11-22 11:41:38

जमुना वर्षा शर्मा

पाेखरा, म‌ंसिर ६ । पर्यटन क्षेत्रमा थ्री सिस्टर्स एउटा पहिचानसहित स्थापित नाम हो। महिला सशक्तिकरणको नमुना बनेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमै आफ्नो छविलाई चम्काउन सफल थ्री सिष्टर्स मध्ये, एक हुनुहुन्छ लक्की कार्की।

महिलाका लागि छुट्टयाइएका परम्परागत भूमिकाभन्दा फरक पर्यटन क्षेत्रमा नयाँ आयामको शुरुवात गर्ने लक्की कार्कीका सुरुका दिन निकै चुनौतीपूर्ण र संघर्षमय बने। शुरुका दिनमा पाइला पाइलामा काँडा विझे, खुट्टाबाट रगत बग्यो, तर आफ्नो स्पष्ट गन्तब्यमा अगाडि बढेका पाइला रोकिएनन् र त आज सबैले उच्चारण गर्ने सफल र सम्मानित नाम बनेको छ लक्की कार्की। unnamed (2)

उहाँ सन् १९९३ सालमा दार्जिलिङ्गबाट सपरिवार पोखरा आउनुमा कुनै निहित उद्देश्य थिएन। आफ्ना व्यवसायी बुबाको निधनको शोकले उत्पन्न बेचैनी विर्साउन उहाँ पोखरा आउनुभएको हो। काठमाडौंमा भुगोल विषयमा स्नातकोत्तर पढ्दै गर्दा फिल्ड भिजिटमा पोखरा आउँदा कार्कीलाइ पोखराको सुन्दरताले लोभ्याएको थियो।

पछि शान्त रमणीय वातावरणमा परिवार सहित आउने निधो गर्नुभयो। तीन दिदी–बहिनी आमा र भाइबुहारीका साथ पोखरा आउनुभयो र नयाँबजारमा दार्जिलिङ रेष्टुरेण्ट संचालन गर्नुभयो। सम्पन्न र सुविधायुक्त वातावरणमा हुर्कनु भएकी कार्कीको परिवारलाई रेष्टुरेण्ट चलाउनु कुनै रहर नभई बाध्यता थियो, केही त गर्नै पर्थ्याे। राम्रो अंग्रेजी बोलेको देखेर आफ्नै रेष्टुरेण्टमा काम गर्ने एक जना भाईले लेकसाइडमा गएर व्यवसाय शुरु गर्न सुझाए र सहयोग पनि गरे।

कार्की भन्नुहुन्छ ‘उनै भाइको सहयोगमा लेकसाइडमा पुष्कर गेष्ट हाउस लियाैं। हाम्रो गेष्ट हाउस आउने पर्यटकहरू बढ्न थाले। विदेशी पर्यटकहरूले महिला आफै खटिएर गेष्ट हाउस चलाएको देख्दा निकै प्रशंसा गर्थे। विस्तारै थ्री सिस्टर्सको नामले गेष्ट हाउस परिचित बन्दै गयो। पछि थ्री सिष्टर्स गेष्ट हाउस नामकरण नै गर्‍यौं।’

 

गेष्ट हाउसमा पर्यटकको भिड बढ्न थालेको थियो। व्यवसाय सफलताउन्मुख भइरहँदा उहाँविरुद्ध केहि व्यक्तिहरू लागे। विभिन्न नाटक रचेर नचाहिने आरोप लगाए। शक्तिको आडमा अदालतमा समेत उभ्याउने काम भयो। सत्यका अगाडि सतिसाल झै उभिएका थ्री सिष्टर्स विचलित भएनन्। अन्ततः २ वर्षमा अदालतले थ्री सिष्टर्सका पक्षमा फैसला गर्‍यो। सत्यको अगाडि झुट टिकेन। जीवनको सबैभन्दा नमिठो पल जसलाई आज उहाँले सम्झँदा पनि आखाँहरू रसाइरहेका थिए। भित्र भित्र मन भक्कानिएको थियो । किनकि स्वच्छ निर्मल भावनामाथि कसैले तिखो प्रहार गरेका थिए। घाउ निको भएपनि चोट बल्झरहेको थियो।

समय आफ्नै रफ्तारमा वितिरहेको थियो। गेष्ट हाउसमा आउने पर्यटक महिलाले ट्रेकिङ्गका बारेमा विभिन्न समस्याहरू सुनाउने गर्थे। एक दिन लक्की कार्कीलाई पनि यथार्थ बुझ्न ट्रेकिङ्ग जान मन लाग्यो। उहाँ अन्नपूर्ण बेश क्याम्प जानुभयो। त्यसपछि महिलाले पनि ट्रेकिङ्ग गाइड गर्न सक्ने संभावना देख्नुभयो। उहाँले पर्यटनमा महिला सहभागितामा जोड दिएर महिला सशक्तिकरण नेपाल मार्फत महिलालाई ट्रेकिङ गाइडको प्रशिक्षण शुरु गर्नुभयो।

SAMSUNG DIGITAL CAMERA

पश्चिम नेपालको विकट गाउँहरू घुम्दा महिलाले भोग्नु परेका दुखदायी जीवनले उहाँलाइ पिरोलिरहन्थ्यो। दिनभर काममै जोतिदाँ पनि राम्रोसँग शरीर छोप्न नपाएका र पेटभरी खान नपाएका महिलाको श्रमको मूल्य नहुँदा उहाँलाई नरमाइलो लाग्थ्यो। तसर्थ महिलाको श्रम अर्थमा रूपान्तरण भएको हेर्ने चाहाना अहिले केहि भए पनि पुरा भएको छ। ग्रामीण भेगका महिलालाई तालिम दिएर ट्रेकिङ गाइड बनाउन सफल भएपछि बढेको आत्मविश्वासर र सशक्तिकरणले उहाँलाइ आनन्दित बनाएको छ।

अहिले महिला सशक्तिकरणबाट झण्डै २ हजार ५ सयजना महिलाले तालिम लिइसकेका छन्। तालिमपछि दैनिक १३ सय रूपैयाँ उनीहरूको पारिश्रमिक हुन्छ। आर्थिक अभाव र गरिबीले बिखण्डन भएको परिवार पनि आर्थिकरूपमा निर्भर भएपछि जोडिएका उदाहरणले उहाँलाई आत्मसन्तुष्टि मिलेको छ।

जीवन एउटा रंगमञ्च र हामीसबै त्यसैका पात्र भएको लक्की कार्की बताउनुहुन्छ। अविवाहित रहनुको कारण बारे कार्की भन्नुहुन्छ ‘सबैका लागि सबै कुरा अपरिहार्य हुन्छ भन्ने लाग्दैन, मैले विवाहलाई आजसम्म पनि जीवनको आवश्यक पक्ष मानेकी छैन। संसारमा जन्मदाँ जसको भागमा जे परेको छ त्यही भूमिका निर्वाह गर्नुपर्छ। आज मैले विवाह नगरीकनै मेरो भूमिका र दायित्वहरू निर्वाह गरेकी छु। त्यसैले नै म बढी खुशी छु। मानिसको जीवन शैली र जीउने अधिकार स्वयं व्यक्तिलाई नै हुन्छ। त्यो अधिकार मैले प्रयोग गरेकी छु।’

‘जीवनमा प्रारम्भिक दिनमा नयाँ परिवेशमा जे जति दुःख गरियो त्यो आफ्नै लागि थिए, तर आजभोलिका यी सारा व्यस्तता सबै नेपालीकालागि हो’ उहाँ भन्नुहुन्छ। अन्तराष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि उहाँले पाउनुभएको छ। अमेरीकाका पूर्व राष्ट्रपति विल क्लिन्टनले थ्री सिष्टर र देशको बारेमा चासो दिएर सोधेका छन्। यस्ता कतिपय अनुभवहरूले ‘हामीबाट हाम्रो’ बनाएको छ’ सम्झेर उहाँ रोमाञ्चित हुनुहुन्छ।

महिला सशक्तिकरण एवं पर्यटनको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले सम्मानित एवं पुरस्कृत गरेका छन्। कार्की अशोका फेलोसिप, , Nike game changer award, national geography geo tourism award,  फ्रान्स इको टुरिज्म, लण्डनबाट रेस्पोन्सिबल टुरिज्म, स्पेनबाट गोल्ड ट्रफि (Global Sports forum barcilona) र ट्राभललाइफ जस्ता अर्न्तराष्ट्रिय सम्मान उहाँले पाइसक्नु भएको छ। नेपालबाट पर्यटन मन्त्रालय, सिद्धी सेतुली, जेसिज, रोटरी क्लव, क्षेत्री समाजलगायत दर्जनौं संस्थाले उहाँलाई सम्मान गरेका छन्।

समाजमा समानता कायम गर्न सबै भन्दा पहिले महिला र पुरुष नभनी मानवीय कर्तब्य निर्वाह गर्नुपर्ने बताउनु हुन्छ। अझैपनि महिलाको क्षमताको पहिचान हुन नसक्दा आर्थिक रूपमा परनिर्भर हुन बाध्य भएको उहाँको धारणा छ। परिवर्तनका लागि सशक्तिकरण आवश्यक ठान्ने कार्की आफूहरूले चालेको कदमलाई विश्वमा स्थापित भएको देख्न चाहनु हुन्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: