खेमा बस्नेत
कैलाली, मंसिर ७ । सूर्यको किरण पश्चिमबाट छड्के परिसकेको छ । बिहान ५ बजेतिर घरबाट वन निस्केका बझाङ वित्थड स्थित बोहरागाउँका महिला भर्खर मेलाबाट गाँजो (सुकेको घाँस) ल्याएर घर फर्कदैछन् । उनीहरू आफूभन्दा आकारले भण्डै दोब्बर भारी लिएर घर फिरका हुन् ।
झिसमिसे उज्यालो नहुँदै हिजो बेलुकी बचेको खानेकुरा बोकेर उनीहरू गाजो काट्न करिब डेढ घण्टा टाढा जंगल हिँडेका थिए । पखानमा रहेको घाँस काटेर उनीहरू बेलुका मात्रै फिर्ता हुँदै गर्दा बाटोमा भेटिएका थिए । आधा पेटमा दिनभर काम गर्दा उनीहरूलाई खान र आरामको कुनै चिन्ता देखिदैन बरू काम पो कहिले सकिएला भन्ने चिन्ता मनबाट हट्न सकेको छैन् ।
काम अधुरै छोडेर लिइएको आरामले झन पिरोल्ने गरेको वित्थडकी सकुन्तला बोहराले बताइन् । सुरूमा कुरा गर्न नमानेकी बोहोराले लामो समयसम्म सँगसँगै हिडेपछि भनिन् ‘के गर्नु आराम ग-यो भने काम छुट्छ । काम सकेपछि आराम गर्नुत छँदैछ ।’
घरधन्दाको सबै काम आफ्नै जिम्मेवारी भएको सम्झने विकट ग्रामिण महिलालाई काम निम्टाउनु नै सबैभन्दा ठूलो आराम ठान्ने गरेको उनले बताइन् । उनी मात्रै होइन् बझाङका अधिकांश महिलालाई मंसिरको खेती सकेर मेलापात तथा घरधन्दाको चटारो छ ।
वित्थड निवासी जानु बोहोराले गहुँ छरिसके पनि आराम गर्न पाएकी छैनन् । आफ्नो मेला(घाँसको लागि रोकेको निजी क्षेत्र)मा सुकेको गाँजो घर भित्र्याउन उनलाई भ्याइनभ्याछ ।
हिँउदमा हिउँ पर्ने, वर्षा हुने र घाँसपात नपाइने भएकाले गाईवस्तुलाई खुवाउन घासको अहिलेनै जोहो गर्ने गर्दछन् । यसको मुख्य जिम्मा महिलाको नै हुने गरेको निर्मला बोहोराले बताइन् ।
‘घाँस पाता हामीले नखोजे कस्ले गर्छ’ उनले भनिन् ‘लोग्नेमान्छेहरू खेतीपातीको काम गर्छन्, सकेपछि कमाउन तिर जान्छन् ।’
ग्रामिण महिला औपचारीक शिक्षामा पछाडी भएपनि परिश्रमी भने पढेका भन्दा सयाैँ गुना अगाडी झै लाग्छ । बिहान देखि बेलुका माहुरी जस्तै काममा व्यस्त हुन्छन् । खेतीको काम सकेपछि मेलापातको , मेलापातको काम सकेपछि घरायसीकाम व्यस्त ।
बझाङ जिल्लाको सबै ठाउँमा एक नासको मौसम भने छैन् । बझाङको २ नम्बर क्षेत्रका महिला गहुँ छरेर मेलापातको काममा लागि सकेका छन् भने १ नम्बर क्षेत्रका कुनै कुनै गाउँमा भर्खर गहुँ छर्दैछन् ।
गहुँ छरेपछि मेलापातमा लाग्ने उनीहरू बताउँछिन् । बझाङ जयपृथ्वी नगरपालिका स्थित देवल निवासी मनिषा धामीले आफूहरू अहिले गहुँ छर्नमै व्यस्त रहेको बताइन् । गुहँ छरेपछि हिँउदमा गाइवस्तुलाई खुवाउन घासपातको जोहोमा लाग्ने बताइन् ।
खेतीपाती मेलापातको र चुलोचौकोको काम मात्रै होइन् सुदूरको पहाडी जिल्ला बझाङका महिला हरेक काममा पुरुषको सहयोगी छन् । उनीहरूलाई मिलेर काम गर्नुपर्छ भन्ने वोहक बुझेका छैनन् ।
महिलाले खाना पकाए पुरुषले भाडा माझ्नुपर्छ भन्ने होइन् आवश्यक परे सबैले सबैकाम गर्दा सुखी र खुशी बन्न सकिन्छ भन्ने उनीहरूको बुझाई छ । त्यसैले पनि यस क्षेत्रका महिला आजकाल पुरुषले चलाउँदै आएका व्यहारमा पनि सहयोगी बन्न थालेका देखिन्छन् । हिजोको चुलो चौकोमा सिमित महिला व्यवापार व्यवसायमा लागेका छन् भने कोहि श्रीमानको अनुपस्थितिमा घर व्यहार चलाउन थालेका छन् ।
मटेला गाविसको जयपृथ्वी राजमार्गमा पर्ने भ्यागुते खोला स्थित होटलसंग रहेको किराना पसल सञ्चालिका विस्ना बाहोरा चुलोचौकोको काम छोडेर व्यवसायमा लागको बताउँछिन् । गाउँमा रहेको सानो जमिन समेत बेचर ४ वर्षदेखि व्यापारमा लागेकी हुन् ।
समयको परिवर्तनसंगै महिला पनि व्यवसायीक बन्न खोजेपनि प्राविधक ज्ञान र सिपको अभावले समृद्धि चुम्न भने सकेका छैनन् । नयाँ गर्न खोजिएको काममा पुरानै तरिका भएकाले आर्थिक हैसियत भने सुधार हुन नसकेको बझाङ कँडेल स्थित स्थानीय शिक्षक सत्यराज सोतीले बताउँछन् ।
यद्यपी महिलामा व्यवसायिकताको विकासको प्रारम्भ भने भइसकेको उनी बताउँछन् ।‘पहिले पहिले आफैलाई खानको लागि काम गर्थे, अहिले त्यसैबाट आर्थिक उपार्जन गर्नुपर्छ भन्ने चेतना विकास भएको छ’ सोतीले भने ‘प्राविधक ज्ञान र सहयोग पाएमा महिला जुनसुकै काममा सफल हुन सक्छन् भन्ने देखिन थालेको छ ।’
प्रकाशित मिति २०७२ मंसिर ७ गते सोमवार
Comment Here!