महिला खबर
नेपालगन्ज, मंसिर ८ । महिला हिंसाका घटना मुस्लिम समुदायमा बढी हुने गरेको पाईएको छ । घरेलु हिंसा बढ्दै जाँदा तलाक (धार्मिक सम्बन्ध बिच्छेद) सम्म हुने गरेको छ ।
मुस्लिम समुदायमा पति पत्नीबीचको सम्बन्ध बिच्छेदलाई तलाक भनिन्छ । मुस्लिम महिलामा तलाक लगायत घरेलु हिंसा अत्याधिक बढिरहेको महिला तथा बालबालिका कार्यालय बाँकेले जनाएको छ । महिला तथा बालबालिका कार्यालयमा घरेलु हिंसाका निवेदन बढी मात्रामा मुस्लिम समुदायबाटै आउने गरेका छन् ।
वितेको एक वर्षमा कार्यालयमा परेका घरेलु हिंसाका १ सय १० निवेदन मध्ये ५४ वटा निवेदन मुस्लिम समुदायका महिलाका रहेको फोकल पर्सन बिन्दु कुँवरले जानकारी दिनुभयो ।
तलाकी महिलामाथि उनीहरूबाट जन्मेका बालबच्चाको समेत पालन पोषण गर्नुपर्ने बाध्यता रहेकोले उनीहरूको अवस्था दयनीय रहेको कुँवरले बताउनुभयो । समुदायमा सचेतनाको कमिका कारणले तलाक लगायत घरेलु हिंसाका समस्या हुने गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल मुस्लिम विकास चेतना केन्द्रले तलाकी महिलाको समस्याको सवालमा आयोजना गरेको अन्तक्र्रियामा मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मञ्जरीले मुस्लिम धर्मग्रन्थ कुरानले तलाकलाई बाध्यात्मक र जायज मानेको बताउनुभयो । कुरानमा भएको तलाकी व्यवस्थालाई पछिल्ला दिनमा दुरुपयोग हुँदै गएको उहाँले स्वीकार गर्दै यसलाई व्यवस्थित गर्न नेपालको कानुनले मस्लिम पर्सनलाई मान्यता दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगन्जका निर्देशक मुरारी खरेलले जथाभावी तलाक दिन पाईने नपाईने कुरा धर्मगुरुहरूले समुदायमा स्पष्ट पार्नुपर्ने बताउनुभयो । धेरै छोरी जन्मेका कारण पतिले तलाक दिएको निवेदन समेत आयोगमा परेको उहाँले जानकारी दिनुभयो ।
अधिवक्ता सुनिता शर्माले तलाकी महिलालाई कानूनी प्रक्रियामा आउनु आग्रह गर्नुभएको छ । तलाकी महिलालाई निःशुल्क कानुनी उपचारमा सहयोग गर्न वार तयार रहेको शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर ८ गते मंगलवार
Comment Here!