महिला खबर
काठमाडौं, मंसिर ८ । राष्ट्रिय महिला आयोगले मधेश आन्दोलनका कारण महिला बालबालिका तथा अपाङ्गता भएकाहरूलाई सवै भन्दा बढी असर परेको बताएको छ। महिलाहिंसाविरुद्ध १६ दिने अभियानमा हुने कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाइले लैङि्गक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी मनाउने तयारी भइरहँदा मधेशमा भड्किएको आन्दोलनले मानविय संकट उत्पन्न भएको बताउनुभयो।
आन्दोलनका कारण विरामी बोकेका एम्बुलेन्समा तोडफोड, आगजनी र एम्बुलेन्समा पुर्याइएको अवरोधका कारण उपचारका लागि अस्पताल जाँदै गरेको नावालकको बाटैमा मृत्यु हुनु र सुरक्षाकर्मीको गोली लागि घर मै बसेकी बालिका घाइते हुनु जस्ता घट्नाले आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै हुमागाइले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपानाई मानव अधिकारको सम्मान गर्न आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा महिलाहिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस २५ नोभेम्बरदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बर गरि १६ दिने अभियानका क्रममा गरिने कार्यक्रमका बारेमा जानकारी दिइएको थियो।
लिङ्गका आधारमा हुने हिंसाविरुद्ध विश्वव्यापी रुपमा मनाइने १६ दिने अभियान मंसिर ९ गते बुधवारदेखि सुरु हुँदैछ। यस अवसर उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीको नेतृत्वमा बुधवार भृकुटीमण्डप प्रदर्शनीमार्गबाट विहान साढे सात वजे बृहत र्याली निकालिने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो। आयोगले सरकार र बिभिन्न संघसंस्थाले १६ दिनसम्म गर्ने गतिविधिसहितको पुस्तिका प्रकाशन गरेको छ।
यसवर्षको १६ दिने अभियानको नारा ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुर्ननिर्माण, शिक्षा र समान व्यवहार नारा रहेको छ।
प्रकाशित मितिः २०७२ मंसिर ८ गते मङ्गलवार
Comment Here!