हिंसा अन्त्यका लागि पुरुषमा जागरुता ल्याउनुपर्छ : अध्यक्ष राष्ट्रिय मानव अधिकार आयोग
महिला खबर
काठमाडौं, मंसिर ९। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनपुराज शर्माले महिला सशक्तिकरण नहुँदासम्म महिलामाथि हुने कुनैपनि हिंसाको अन्त्य नहुने बताउनु भएको छ।
ओरेक नेपालले वर्षभर भएका महिला हिंसाका घटनालाई समेटेर तयार पारेको पुस्तक ‘अन्वेषी’ लोकाअपर्ण गर्दै उहाँले भन्नुभयो–’केही महिला सत्तामा पुग्दैमा हिंसा अन्त्य हुँदैन। त्यसका लागि घरदेखि नै महिला पुरुष दुबैमा जागरुता ल्याउन अत्यन्तै जरुरी छ।’
महिलाको सवाल महिलाले मात्र उठाएर सफल हुँदैन, त्यसका लागि पुरुष सहभागिता गराउनु पर्ने भन्दै अध्यक्ष शर्माले भन्नुभयो ‘हिंसा गर्ने र हिंसा विरोधी कानुन बनाउने ठाउँमा धेरै उनीहरूनै हुन्छन्।’ उहाँले यो वर्ष महिला हिंसाका घटना धेरै भएको तथ्यांकले देखाएको जानकारी समेत दिनुभयो।
पुस्तक लोकाअपर्ण कार्यक्रममा बोल्दै महिला आयोगका अध्यक्ष मनु हुमागाईले १६ दिने लैंगिक हिंसा विरोधी अभियान काठमाडौंमा मनाएर मात्र हुँदैन यसको सन्देश गाउँ गाउँसम्म जानुपर्नेमा जोड दिनुभयो।
उहाँले लैंगिक हिंसाविरुद्धको सन्देश दिनका लागि महिला आयोगले देशका विभिन्न स्कुलमा कार्यक्रम गर्न लागेको जानकारी पनि दिनुभयो।
ओरेकले आज काठमाडौंमा सार्वजनिक गरेको वर्ष पुस्तक अन्वेषीमा २०७१ साउनदेखि २०७२ असारसम्ममा १९ सय ३० वटा महिला हिंसाका घटना अभिलेख गरेको उल्लेख छ।
प्रकाशित मिति २०७२ मंसिर ९ गते बुधवार
Comment Here!