आमाको पर्खाइमा अनाथहरू


प्रकाशित मिति :2015-11-30 15:30:50

सी एन एन हिरोको उपाधि जितेकी म्यागी डोयन कहिले अमेरिकाबाट फर्केलिन र खुशियाली साटौँला भन्ने व्यग्र प्रतिक्षामा छन् सुर्खेतका महिला तथा बालबालिका ।

ललितबहादुर बुढा

3

सन् २००५ मा भारत घुम्न आउँदा अमेरिकन नागरिक म्यागी डोयनसँग खासै ठूलो योजना थिएन । फुर्सदको समय सदुपयोग गर्न उनी एशियाली मुलुक घुमफिर गर्न निस्किएकी थिईन् । भारतमा रहँदा उनले नेपाली बालबालिकाले कष्टपूर्ण काम गरिरहेको देखिन् । मध्यपश्चिम र विशेषगरी कर्णाली अञ्चलका कलिला बालबालिकाले पढ्न छोडेर मजदुरी गरेको दृश्य देखेपछि म्यागीले नेपालमै पुगेर अनाथ बालबालिकाका लागि शिक्षाको व्यवस्था गर्ने योजना बनाईन् । त्यही योजनाले आज उनलाई विश्वमा चर्चित सीएनएन हिरो–२०१५ को उपाधि दिलायो ।

दस वर्षअघि नेपालको नाम नै नसुनेकी ती अमेरिकी युवतीले नेपालमा गरेको कर्मले संसारभर परिचित बनाएको छ । धेरैलाई सामाजिक सेवामा लाग्न प्रेरणा र उत्साह थपिदिएको छ । अमेरिकाको न्युजर्सीमा जन्मिएकी म्यागी बाल्यकालदेखि नै सामाजिक सेवामा रुची राख्थिन् । उनले परिवार तथा आफन्तले खाजा खर्चका लागि दिएको रकम र उपहार बचत गरी राखेकी थिईन् । भारतमा नेपाली बालबालिकाहरूको दयनीय अवस्था थाहा पाएर नेपाल आएकी म्यागीले सुर्खेतमा पुग्दा थप कहालीलाग्दा दृश्यहरू देखिन् । विद्यालय उमेरका बालबालिकालाई गिट्टी कुट्दै गरेको, सडकमा माग्दै हिँडेको, अर्काको घरमा श्रम गरिरहेको र कतिपय बालबालिकाहरू सडकमा वेवारिसे अवस्थामा रहेको देखिन् । सोही क्रममा वीरेन्द्रनगरको खोर्के खोलामा हिँड्दै गर्दा एकजना बालिकासँग भेट भयो । वीरेन्द्रनगरकी ७ वर्षीया हिमा टमटा आफ्नी आमासँग सकी नसकी गिट्टी कुट्दै थिईन । यो दृश्य देखेपछि उनको मन थामिएन । उनले बालबालिकाको उज्यालो भविष्यका लागि आवासीय सुविधासहितको विद्यालय स्थापना गर्ने अठोट् गरिन् ।
2
यसरी घुम्न आएकी म्यागीले वीरेन्द्रनगरमा आवासीय सुविधासहित कोपीला भ्याली विद्यालय स्थापना गरिन् । उनले सानैदेखि खाजा खर्च कटाएर ५ हजार अमेरिकी डलर बचत गरेकी थिईन् । त्यही रकम मगाएर विद्यालय स्थापना गरिन् ।  २९ वर्षीया अविवाहित म्यागी अहिले ४९ जना अनाथ तथा सडक बालबालिकाकी आमा बनेकी छन् । उनीहरूसँगै खाना खान्छिन्, नुहाइ दिन्छिन्, बिरामी हुँदा औषधी गर्छिन् । आफँैले जन्माएको सन्तानलाई जस्तै काखमा राखेर सुताउँछिन् । म्यागीको यही ममता पाएकै कारण बालबालिकाहरू उनलाई मम्मी भन्छन् । होस्टेलमा बस्दै आएका ४९ जनाको मात्र होईन, विद्यालयमा अध्ययनरत सबै साढे तीन सय बालबालिकाकी आमा बनेकी छन् म्यागी ।

म्यागीको माया पाएपछि बालबालिकाले आफ्नो परिवार र आफन्त समेत भुलिसकेका छन् । अनाथ बालबालिकाको शिक्षा र पालनपोषणमा नै व्यस्त भएपछि उनी स्वदेश फिर्ता भईनन् । विदा मनाउन निस्किएकी छोरी फिर्ता नभएपछि उनको परिवारले घर फर्कन बारम्बार आग्रह गरेको थियो । त्यत्तिबेला परिवारले आफूलाई घर फर्कन गरेको आग्रह सम्झँदै म्यागी भन्छिन्, ‘उहाँहरूलाई मेरो चिन्ता थियो, त्यसकारण मलाई घर फर्कन आग्रह गर्नुभयो । तर, मलाई मेरा छोराछोरीको चिन्ता थियो । मैले उहाँहरूको आग्रह अस्वीकार गरेँ ।’

1

सुरुवातको चरणमा उनले आफ्नो परिवारको सहयोगबाट विद्यालय सञ्चालन गरिन् । तर, विस्तारै बालबालिकाको संख्या थेगि नसक्नु भयो । अहिले म्यागीको कामलाई सहयोग गर्न अमेरिकामा संस्थागत संरचना नै तयार भइसकेको छ । ‘ब्लिङक नाउ’ नाम गरेको संस्थाले नै हिजोआज म्यागीले स्थापना गरेको विद्यालयलाई आर्थिक सहयोग जुटाई दिने गरेको छ । यो सहयोगबाट नै म्यागीले सुर्खेतमा कक्षा १० सम्म बालबालिकालाई पढाइरहेकी छन् । यो विद्यालयमा अहिले साढे तीन सय बालबालिका अध्ययनरत छन् । ‘बालबालिकाले सडकमा माग्दै गरेको र स्कुल जान छोडेर भारी बोकिरहेको देखेपछि मेरो मन थामिएन’ विगत सम्झँदै म्यागी भन्छिन्, ‘त्यस्ता बालबालिकाहरूको सुन्दर भविष्यको लागि नै मैले विद्यालय स्थापना गरेकी हुँ ।’

सीएनएन हिरोको उपाधी जित्न सफल भएपछि उनलाई आफ्नो काममा थप हौसला मिलेको छ । उनी भन्छिन्, ‘राम्रो काम गर्दै गएपछि कुनै न कुनै दिन फल पनि पाइन्छ, कामको मुल्याकंन सबैले गर्छन् । आज मेरो कामको पनि सही मुल्यांकन भएको छ, नेपालीको पनि शीर ठाडो भयो ।’ उपाधि जित्नका लागि आफूले काम गरेको नभई बालबालिकाको उज्यालो भविष्य नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाइ छ । अब वीरेन्द्रनगरमा आवासीय सुविधासहितको बालगृह स्थापना गर्ने उनको योजना छ । हाल भाडाको जग्गामा विद्यालय सञ्चालन भइरहेको छ । म्यागीका सहयोगी टोपबहादुर मल्लले आफूहरूले वीरेन्द्रनगरमा अब आफ्नै जग्गा खरिद गरिसकेको र पक्की विद्यालय भवन निर्माणको काम सुरु गर्ने जानकारी दिए ।
4
कोपीला भ्याली समाजको मातहतमा विद्यालय सञ्चालन भइरहेको छ । अबको एक वर्षभित्रमा उच्च माध्यमिक तहको पढाई सुरु गर्ने तयारी छ । सीएनएन हिरो भएपछि म्यागीले भनिन्, ‘मेरो सफलतामा छोराछोरीको हात छ । उनीहरूले मेरो जीवनको बाटो नै मोडिदिए । सायद उनीहरूसँग भेट नभएको भए मलाई आज कसले चिन्थ्यो, आफ्नै परिवारको सुखमा रमाएको भए आज यो सफलता मिल्थ्यो र ?’ आफू नेपाल र नेपालीकी छोरी भएको बताउँदै उनले थपिन्, ‘केही पाउन केही त गुमाउनै पर्छ । मैले आफ्नो परिवार त्यागेँ, देश नै छोडेँ, व्यक्तिगत सुखसयलमा ध्यान दिईन् । त्यसको परिणाम आज बालबालिकाले शिक्षा पाएका छन्, उनीहरूको भविष्य उजज्वल बन्दैछ ।’

समय छदैँ सबैले समाजका लागि काम गर्नुपर्ने भन्दै उनले बालबालिकाको रेखदेख गर्दा आफूलाई सबैभन्दा बढी सन्तुष्टी मिल्ने बताईन् । आउँदा दिनमा पनि नेपालमै बसेर थप सेवा गर्ने उनको योजना छ । सुरुवातमा परिवारले नेपाल छोडेर घर फर्कन आग्रह गरेको भएपनि अहिले भने सहयोग गर्न थालेका छन् । अमेरिकी टेलिभिजन च्यानल सीएनएनले हरेक वर्ष विश्वमा सामाजिक सेवामा क्रियाशील व्यक्तिहरूमध्येबाट उत्कृष्ट एक जनालाई सीएनएन हिरोको उपाधी प्रदान गर्दछ । यस वर्षको उपाधी जितेपछि म्यागीले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेकी छन् । उक्त रकम पनि नेपाली बालबालिकाहरूको शिक्षामा नै खर्च गर्ने उनको योजना छ ।  प्रमाणपत्र तहको पढाई पूरा गरेकी म्यागी परिवारकी माइली छोरी हुन् ।

म्यागीले बालबालिकाका लागि मात्र होइन कमजोर आर्थिक अवस्था भएका महिलाका लागि समेत सहयोग गरेकी छन् । उनले वीरेन्द्रनगरमा एकल र गरिब महिलाका लागि सीपमुलक तालिम समेत प्रदान गरेकी छन् । उक्त तालिममा सहभागी भएपछि हालसम्म दुई दर्जन भन्दा बढी महिलाले रोजगारी प्राप्त गरिसकेका छन् । महिलालाई सिलाई कटाई तथा अन्य उद्यम सम्बन्धि तालिम प्रदान गर्ने गरिएको छ । म्यागीको समाज सेवाको भावका कारण मध्य तथा सुदूरपश्चिमका महिला तथा बालबालिकाले नयाँ जीवन प्राप्त गरेका छन् । पुरस्कार ग्रहण गर्न अमेरिका पुगेकी तिनै आमा फिर्ता भएपछि  खुशीयाली साट्ने व्यग्र प्रतिक्षामा छन् यहाँका महिला तथा बालबालिका ।

प्रकाशित मिति :२०७२ मसिंर गते १४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: