नाकाबन्दीको मारमा सुत्केरी


प्रकाशित मिति :2015-12-02 11:46:05

भारतीय नाकाबन्दी र मधेस आन्दोलनले सबैभन्दा धेरै गर्भवती र सुत्केरी महिलालाई असर पारेको छ । यतिसम्म कि अस्पताल जान नपाएर केहीको मृत्यु भइसकेको छ ।

सुशीला बुढाथोकी

  DSC02641 (2)७ मङ्सिर ०७२ मा नुवाकोट गोल्फुटार–८ की सुलोचना अर्याल (२२) नियमित गर्भ जाँच गर्न एम्बुलेन्स चढेर शिक्षण अस्पताल महाराजगञ्ज पुगिन् । एम्बुलेन्सचालक चिनजानकै भएकाले उनलाई गाडीको जोहो गर्न कठिन भएन । तर, धेरै गर्भवती उनीजस्ता भाग्यमानी हुँदैनन् । खासगरी मधेस आन्दोलन सुरु भएयता गर्भवती महिलालाई अस्पतालसम्मको यात्रा दुर्भाग्यपूर्ण हुन थालेकोे छ ।

यातायातको साधन नभएपछि धादिङ, धार्के गाविस पाँचकिलाकी प्रमिला अधिकारी (२८) जोखिम मोलेर अस्पताल पुगिन् । गएको ८ मङ्सिरमा सुत्केरी बेथा लाग्दालाग्दै पतिको मोटरसाइकलमा धादिङदेखि परोपकार प्रसूतिगृह, काठमाडौं आइपुगेकी अधिकारीले भोलिपल्ट छोरीलाई जन्म दिइन् । नियमित जा“चको क्रममा एक हप्ताअगाडि पनि उनी यसैगरी अस्पताल पुगेकी थिइन् । उनी भन्छिन्, ‘गाडी पाइएन, ट्याक्सी र एम्बुलेन्सले चर्को भाडा भनेपछि मोटरसाइकलमा आउन बाध्य भयौँ ।’

टाढाबाट काठमाडौंमा उपचारका लागि आउने गर्भवतीले झनै ठूलो समस्या भोगिरहेका छन् । सुत्केरी बेथा लागे पनि बच्चा जन्मन नसकेपछि ओखलढुङ्गा वरुणेश्वर, रामपुर–२ का चूडाबहादुर भुजेलले पत्नी शारदालाई खचाखच भएको सार्वजनिक बसमै काठमाडौं लिएर आए । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको भोलिपल्ट भुजेलले शल्यक्रियापछि छोरीलाई जन्म दिइन् । भुजेल भन्छन्, ‘हिँड्न–उठ्न नसक्ने बेलामा यसरी कोचिएर आउनुपर्‍यो, साहै्र गाह्रो भयो ।’ भुजेलदम्पती अब गाउ“ फर्किंदा त्यस्तै कठिन यात्रा गर्नुपर्ने कुराले चिन्तित छन् ।

Barsa Thapa

बच्चा जन्मिएदेखि पाठेघरसम्बन्धी समस्या भएकी हुम्ला, सा“या गाविस–२ की वर्षा थापा (३०) भने तीन दिनको यात्रापछि काठमाडौं आइपुगिन् । उनले हुम्लाबाट सुर्खेतसम्म हवाईजहाजमा र सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा गर्नुपर्‍यो । यात्रु खचाखच भएकाले बसमा मुढामा बसेर काठमाडौं आएको उनी बताउँछिन् ।

भारतको नाकाबन्दीका कारण इन्धनको चर्को अभाव र कालोबजारी भएपछि सर्वसाधारण मारमा परेका छन् । यात्रुको भीडका कारण सार्वजनिक यातायातको यात्रा कष्टकर बन्दै गएको छ । भाडाका सवारीसाधन सहजै उपलब्ध छैनन् । यस्तोमा अस्पताल जानैपर्ने अवस्थाका सुत्केरी महिला सबैभन्दा धेरै मारमा परेका छन् ।

समयमै उपचार नपाउ“दा कतिपय सुत्केरीले ज्यानै गुमाएका छन् । उपचारको अभावमा १० मङ्सिरमा खोटाङ, कार्मी–८ की २२ वर्षीया गंगादेवी तामाङले ज्यान गुमाइन् । बच्चा जन्माउन नसकी केही दिनसम्म प्रसव पीडामा रहेकी तामाङलाई उपचारका लागि दिक्तेलस्थित जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो ।

सार्वजनिक यातायात नहुँदा गर्भवती महिला धेरैजसो भाडाका ट्याक्सीमा यात्रा गर्छन् । तर, भनेको समय र स्थानमा ट्याक्सी उपलब्ध नहुने भएकाले चर्को भाडा तिर्न सक्नेका लागि समेत यो सहजै उपलब्ध छैन । पछिल्लो समय आन्दोलनकारीले आक्रमण गर्न थालेपछि एम्बुलेन्स सेवासमेत प्रभावित हुन थालेको छ । मङ्सिर ७ गते मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्सलाई अवरोध पुर्‍याउँदा तीनमहिने शिशुको बाटैमा मृत्यु भएको थियो । यसअघि ४ मङ्सिरमा बिरामी बच्चा बोकेको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले आक्रमण गर्दा बच्चाकी आमा घाइते भएकी थिइन् ।

गर्भवतीहरू अस्पताल पुग्न नसकेपछि अस्पतालमा प्रसूति गराउने बिरामीको सङ्ख्या पनि घट्दै गएको छ । देशकै प्रमुख परोपकार प्रसूतिगृहमा सामान्य अवस्थामा दैनिक सयभन्दा बढी सुत्केरी हुने भए पनि पछिल्लो समय दैनिक ७० जनाभन्दा कम सुत्केरी हुन थालेका छन् । विशेषगरी उपत्यका र वरपरका धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट प्रसूति गराउन ठूलो सङ्ख्यामा गर्भवतीहरू यहाँ आउने गर्दछन् । अस्पतालको तथ्याङ्कअनुसार ०७२ मङ्सिरको पहिलो हप्ताभित्र जम्मा ५ सय ११ गर्भवतीले सेवा लिएको देखिन्छ । यस्तै अवस्था त्रिवि शिक्षण अस्पतालको प्रसूति वार्डमा पनि देखिन्छ । सामान्य अवस्थामा दैनिक ३० वटासम्म डेलिभरी हुने भए पनि अहिले दैनिक १० भन्दा कम भइरहेको छ । सबैभन्दा बढी बहिरंग विभागमा दैनिक जाँचका लागि २२ सयसम्म बिरामी आउनेमा अहिले १६ सयको हाराहारीमा झरेको छ ।

Chudabadur Bhujel

चिकित्सक तथा अधिकारकर्मी डा. अरुणा उप्रेती बन्द–हडतालका कारण अस्पताल लैजान नसकेपछि घरमै सुत्केरी गराउने प्रवृत्ति बढेकाले सुत्केरी गराउने कार्य जोखिमपूर्ण बन्दै गएको बताउँछिन् । यसमाथि चिकित्सकसमेत सेवा गर्न नपाएर पीडित बनिरहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘बिरामीहरू हिँडेरै आउनुपर्ने, चिकित्सकहरू साइकलमा आउनुपर्ने अवस्था छ । यो जटिल अवस्था हो । अहिले हामी असाध्यै मानवीय सङ्कटमा छौँ,’ त्रिवि शिक्षण अस्पतालस्थित मंगलादेवी बर्थिङ सेन्टरकी एक स्वास्थ्यकर्मीका अनुसार अहिले घरमै सुत्केरी गराएपछि साल नझरेका र ट्याक्सी डेलिभरी (ट्याक्सीमै बच्चा जन्मने) का केसहरू बढेका छन् ।

परोपकार प्रसूतिगृहका प्रशासक अमरनाथ अमात्य अहिले नियमित उपचार गराउने र बच्चा जन्मिएपछि फलोअप गर्नेहरू कम हुँदै गएका छन् । अति आवश्यक भएकाहरू मात्र अस्पताल आइरहेका छन् । उनी भन्छन्, ‘बिरामीको कम चापले औषधि पुगिरहेको छ । अहिलेको अवस्थामा पहिलेकै सङ्ख्यामा बिरामी आउने हो भने थेग्न सकिँदैन ।’ उनका भनाइमा अस्पतालका गाडीहरूले इन्धन नपाउँदा चिकित्सकको आवागमन र नियमित सेवामा सबैभन्दा ठूलो असर परेको छ, जसको मार बिरामीलाई परिरहेको छ ।

अस्पतालमा सुत्केरी गराउन आवश्यक औषधि पनि अभाव हुन थालेको छ । सुत्केरी भएपछि रक्तश्राव रोक्न प्रयोग हुने अक्सिटोसिनको अभाव देशैभरि छ भने कतिपय अस्पतालमा आइरन चक्की, भिटामिन ए तथा बीसीजीका खोपहरूसमेत अभाव हुन थालेका छन् । त्रिवि शिक्षण अस्पतालकी नर्सिङ निर्देशक कोपिला पालिखे अहिलेसम्म औषधि अभावले उपचार नरोकिएको तर यस्तै भइरहे ठूलो समस्या आउने बताउ“छिन् । उनी भन्छिन्, ‘हामीस“ग स्टकमा भएका औषधिले अहिले जेनतेन चलिरहेको छ । तर, यो अवस्था लामो समयसम्म रहन्न ।’

प्रकाशित मिति :२०७२ मसिंर १६ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: