चिसो मौसममा कुपोषित बालबालिका झनै सङ्क्रमित


प्रकाशित मिति :2015-12-02 11:51:08

रमला सिंगक

सुनसरी, मंसिर १६ । जाडो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई धेरै रुघाखोकी, दम, निमोनिया, डायरियाजस्ता रोगसँग लड्न घरेलु उपाय प्रभावकारी हुने बालरोग विशेषज्ञ चिकित्सकहरूको भनाइ छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा लामो समयदेखि कार्यरत बालरोग विशेषज्ञ चिकित्सक प्राध्यापक डा. निशाकेसरी भट्ट कुपोषणले कमजोर भएका बालबालिकालाई चिसो मौसममा विभिन्न सङ्क्रमण हुनसक्ने बताउँछिन् ।

prof. dr nisha kesari bhatta (1)उनले बालबालिकाको लालनपालनबारे सामाजिक र पारिवारिक चलनमा आएको परिवर्तन पनि त्यसको कारकतत्व भएकोमा जोड दिइन् ।
बजारमा बालबालिकालाई लक्षित गरेर बिक्रीमा राखिएका जंकफुड नदिन पनि चिकित्कले सबै आमाबुबालाई सुझाव दिएका छन् । घरेलु खाद्यपदार्थ खाने बानी गराएमा कुपोषित हुनबाट जोगाउन सकिने र चिसो मौसममा हुने सङ्क्रमण कम हुने डा. भट्टले बताइन् । उनले भनिन्, ‘बालबालिकालाई सबैभन्दा पहिले कुपोषित हुनबाट जोगाउन घरेलु उपाय लाभदायक हुन्छ ।’

अहिले गाउँघरमा मकै, कोदो, भट्मास, कन्दमूल, (खगरखण्ड), फूलतरुल, सिमलतरुल, केरा, आलु हुन्छ, तर ती पौष्टिक खाद्यान्नलाई बजारमा सस्तोमा बेचेर महँगो पर्ने बजारिया चामल, कुरमुरे, चाउचाउ, बिस्कुट, क्याटवरी, चकलेट, अनेक ब्रान्डका जुसजस्ता पेयपदार्थ किनेर बच्चालाई दिँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता घटेर कुपोषित भई चिसोमा लाग्ने रोगले समात्ने बालरोग विशेषज्ञहरूको भनाइ छ ।

गरिबीका कारण खान–लाउन नपु¥याएर कुपोषित भई जाडो मौसममा लाग्ने रोग गरिब परिवारका बालबालिकालाई मात्र बढी हुन्छ भन्ने पुरानो मान्यतालाई बालरोग विशेषज्ञ चिकित्सकहरूले खारेज गर्दै भने, ‘हुनेखानेका परिवारमा जन्मेहुर्केका बालबालिकामा समेत कुपोषण लाग्ने गरेको छ ।’

बालरोग विशेषज्ञ चिकित्सक प्रा.डा. निशाकेसरी भट्ट र सह प्रा.डा. ज्योति अग्रवाल

प्रतिष्ठानकी अर्की बालरोग विशेषज्ञ सहप्राध्यापाक डा. ज्योति अग्रवालका अनुसार सामान्य रुघाखोकी, निमोनिया भएको बेला झन् चिसो लाग्छ भनेर आफ्नै खेतबारीमा फलेको सुन्तला, केरा, गाईभैंसीको ताजा दूधदही खानै नदिने चलन छ । अझ पहाड र तराईका गाउँतिर धुवाँ भएको गुम्म परेको कोठामा बच्चालाई राखिन्छ, यो सबै गलत चलन हो ।

घरमा जे फलफूल, खाद्यान्न उपलब्ध हुन्छ, त्यसैको खाना बनाएर बालबालिकालाई दिने बानी गरेमा चिसो मौसममा लाग्न सक्ने रोगबाट सङ्क्रमित नहुनका लागि कुपोषणमुक्त बनाउन सकिने बालरोग विशेषज्ञ चिकित्सक डा. अग्रवालको भनाइ छ ।
उनले भनिन्, ‘बालबालिकालाई मकै, कोदो, गहुँको खानेकुरा बनाएर दिने अभिभावक हाम्रो समाज र परिवारमा भेट्न मुस्किल छ । पत्रपत्रिका, टेलिभिजन, रेडियो र सहरका ठूलाठूला आकर्षक होर्डिङबोर्डमा लेखिएका विज्ञापनको भर परेर त्यसैको आधारमा आजभोलिका बालबालिकालाई खाना–खाजा दिने गरिएकाले पनि सम्पन्न परिवारका बालबालिकामा कुपोषण देखिएको हो ।’

उनले बजारमा किनेर ल्याएको खाद्य तथा पेयपदार्थ पोषणयुक्त नहुने बताइन् । चिसो मौसममा कुपोषित बालबालिका बढी सङ्क्रमित हुनसक्ने भएकाले उनीहरूलाई कुपोषणबाट जोगाउन सस्तो र सामान्य लाग्ने अन्न, खाद्यपदार्थ, फलफूल, तरकारी बढीभन्दा बढी खानाको रूपमा खुवाउने गरेमा रोग लाग्नबाट बचाउन सकिने डा. अग्रवालको सुझाव छ ।

नेपालमा बालबालिकालाई खाना खुवाउने गलत चलन भएकाले पाँच वर्षसम्मका ५० प्रतिशत बच्चा कुपोषित हुने गरेको उनले बताइन् । तीमध्ये गरिबीकै कारण खान–लाउन नपाएर कुपोषित भई चिसो मौसममा बढी सङ्क्रमित हुनेहरूको सङ्ख्या भने कमै मात्र रहेको उनीहरूको दाबी छ ।

कुपोषणग्रस्त बच्चा, आगो बालेर सेकिने बच्चाहरू, आमाको दूध ६ महिनासम्म राम्ररी खान नपाउने, लुगा लगाइदिए पनि कम्मरमुनिको आधा भाग नाङ्गै राख्ने, पिसाब फेरे पनि लुगा नफेरिदिएका बालबालिकालाई चिसोमा अनेक रोगले सताउन सक्ने चिकित्सकले बताए । डा. भट्टले भनिन्, ‘पहाडतिर बच्चालाई चुपचाप सुतिरहोस् भनेर जाँडरक्सी र जाइफल खुवाउने र सुत्केरी आमालाई पनि जाँडको तोङ्बा दिने चलन छ ।

आमालाई खुवाएको तोङ्बा दूधमा जाने भएकाले त्यसले झन् चिसो बढी लाग्छ । त्यस्ता बच्चालाई निमोनिया पनि बढी लाग्न सक्छ । जाँडरक्सीले ज्यान तताउनुको सट्टा चिसो बनाउँछ । उल्टो असर पर्छ । अल्कोहोलिक रोग पनि लाग्न सक्छ ।’ निमोनिया भएको बेला अन्डा, मासु, फलफूल दिनुहुँदैन भन्ने भ्रमलाई हटाउनु पहिलो आवश्यकता रहेको उनले बताइन् ।
चिसोमा दम, एलर्जी र निमोनिया बढी लाग्न सक्ने भएकाले बालबालिकालाई बचाउन घरमा भएका न्यानो लुगा लगाइदिने, तर आगोको कोइलाले सेक्न नहुने डाक्टरहरूको सुझाव छ ।

६ महिनासम्म आमाको दूधबाहेक अरू पेयपदार्थ दिन नहुने, ६ महिनामाथिकालाई दाल, फलफूल, तरकारीको सुप खुवाए बच्चाको रोग प्रतिरोधक क्षमतामा वृद्धि हुने उनीहरूको राय छ । चिसो मौसममा बच्चाको शारीरिक तापक्रम कम भए भाइरल इन्फेक्सन हुने र स्वास–प्रस्वास प्रक्रियामा असर पुग्ने भएकाले आमाबाबुले सचेतना अपनाउनुपर्ने विशेषज्ञ चिकित्सकहरूले बताए ।

प्रकाशित मिति २०७२ म‌ंसिर १६ गते बुधवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: