सपना


प्रकाशित मिति :2015-12-02 14:43:07

गीता चिमोरिया

geetaमनु अफिसबाट फर्किंदा झमक्क साँझ परिसकेको थियो। आज अली ढिला भयो, घरमा आईपुग्दा त लगभग आठ नै बजी सकेछ। घरमा आईपुगेर यसो हेरी भाई मनिष मसला पिन्दै रैछ। बुबा खाना बनाउँदै हुनुहुन्थ्यो, भान्सामा। आमाको कोठामा गएँ, आमा हुनुहुन्न थियो। अझै आईपुग्नु भा रैनछ अफिसबाट।

हुन त आमाको ताल सँधै यस्तै हो, जहिले घर आईपुग्दा ९/१० बजेकै हुन्छ। अफिसको काम सकेर पनि जहिल्यै साथीभाईसँग भेला भयो, गफ गर्‍यो। त्यतिमात्रै भए त हुन्थ्यो नि, धेरैजसो पिएरै आउनुहुन्छ। अनि सँधै घरमा झगडा। कहिलेकाही त मनुलाई दिक्क लाग्छ आमाको ताल देखेर। जति सम्झाए पनि मान्ने हैन आमाले, उल्टै गाली खानुपर्छ। आमाको ताल देखेर वाक्कदिक्क भएकी मनु हिजोआज आफूपनि अलिअलि पिउन थालेकी छे।

मनु एउटा विदेशी संस्थामा काम गर्छे, सदरमुकाममा छ अफिस। आमाचाहिँ सदरमुकामकै एउटा बैंकमा हुनुहुन्छ। आमाछोरी नै जागीरे भएपछि घरव्यवहार सम्हाल्ने सबै जिम्मा बुबाको काँधमा। भाई मनिष पढ्दैछ, यसपाली १२ कक्षामा पुग्यो। पढेर आएपछि घरको काममा सघाँउछ, बुबालाई। मनिषले पनि नसघाउँने हो भने त बुबाको हालत के होला ? बिहान ४ बजेदेखि उठेर घरको सब काम भ्याउनुपर्छ। बिहान मनिष कलेज जाने बेला खाजा तयार पार्नुपर्‍यो, ९ बजे आमाछोरी अफिस हिँड्छन्, उनीहरूलाई खाना ठिक्क पार्नैपर्‍यो। भनेको बेला खाना तयार भएन भने आमा फन्किदै अफिस हिँड्नुहुन्छ। कम्ता गाह्रो छ बुबालाई।

घर सफा गर्ने, भाडा माझ्ने, कपडा धुनेदेखि लिएर खेतबारी पनि भ्याउनुपर्छ। कहिलेकाही त दिक्क लाग्छ मनुको बुबालाई, तर, सुनाउनु कसलाई? कसको फुर्सद छ र हिजोआज यस्ता पीडा सुन्ने? आमाछोरी फिटिक्क केही काम सघाउँदैनन्, त्यही मनिषले अलिअलि सघायो भने सघायो नत्र आफैँ। वर्षौ बितिसक्यो यसरी मनुको बाले घरव्यवहार सम्हालेर बसेको।

कहिलेकाहीँ त घर छोडेर हिँडौं कि जस्तो पनि लागेको थियो, मनुका बालाई। फेरि एकछिनमा आफैँलाई सम्झाउँथे, मैले पनि छोडे भने त यी केटाकेटीलाई कस्ले हेर्ला? यिनीहरू ठूला भएपछि त पक्कै मलाई सुख दिन्छन्। यसरी नै २५ वर्ष भयो, मनुका बाले आफैँलाई सम्झाउँदै घरव्यवहार सम्हालेको। ‘सानामा पढ्न पाको भए मैले पनि केही काम पाउँथे होला, यतिका सास्ती त खेप्नु पर्ने थिएन।’ कहिलेकाहीँ आफैँसँग गुनासो पोख्छन्, मनुका बा। हिजो आज त अलि निराश बन्न थालेका छन्, छोराछोरी ठूला भएर पनि आफ्नो दैनिकी नफेरिएकोमा चिन्ता छ उनलाई।
हातगोडा धोएर मनु टिभी हेर्दै थिई, भाई कोठामा आएछ। दिदीलाई हेरेर थोरै मुस्कायो, अलिअलि डराएजस्तो पनि थियो। मनुपनि भाईलाई हेरेर हाँसी। उसले बुझिसकेकी थिई कि, भाई केही भन्न खोज्दै थियो। भाईको बानी उसलाई थाहा छ, केही भन्नुपर्‍यो भने पहिल्यै डराएजस्तो हुन्छ।

उसले भाईलाई केही सहज बनाईदिई, गफगाफको सुरुवात आफैँले गरी। एकछिनमा भाईले मनको कुरा खोल्यो………भन्यो, …दिदी हाम्रो कलेजबाट पिकनिक जान लागेका छन्, म पनि जान्छु है ?’ भाईको कुरा सुनेर मनु एकछिन सोंचमग्न भई……अनि भनि, ह्या किन जानपर्‍यो पिकनिक? कोसँग जाने, कहाँ जाने, भरपर्दो साथी छ कि छैन, कतिबेला फर्किने ठेगान हुन्न। समय ठिक छैन, छोरामान्छे भएर जहाँ पनि हिड्न खोज्नु हुन्न। दिदीको कुरा सुनेर मनिषको मुहार अध्याँरो भयो।

आमासँग भन्दा दिदीसँग अनुमति लिन सजिलो होला कि भनेर सोचेको थियो। आमासँग त चाहेर पनि यस्तो कुरा गर्न सक्दैन, मनिष। कहाँबाट आउनु यस्तो आँट उसलाई? त्यही पनि आशाको त्यान्द्रो बाँकी नै थियो। अनि फेरि भन्यो, …जान्छु के दिदी, क्लासका सबै साथी हुन्छन्। केटीहरू म्ाात्रै होइन, अरु केटाहरू पनि हुन्छन्।’ भाईको कुरा सुनेर मनुले मुन्टो हल्लाई, हुन्छको संकेत गरी। भनि म आमालाई भन्दिन्छु। तर चाडै फर्किनु, धेरै अबेला गरेर बस्ने हैन नि। मनिषले हुन्छ भन्दै टाउको हल्लायो।

खाना पाकिसकेपछि बुवाले मनु र मनिषलाई खाना खान बोलाउनु भयो। आमा त अझै आईपुग्नु भएकै थिएन। दिदी भाईले खाना खाए, बुवाचाहिँ आमालाई कुरेर बस्नु भयो। मनु भन्न चाहन्थी, “बुबा तपाई पनि खाना खानु अनि आमाको भाग छोपेर राख्दिनु। ” तर उसले चाहेर पनि भन्न सकिनँ। किनकी उसलाई आमाको बानी थाहा छ, बुबाले पहिल्यै खाना खाको थाहा भयो भने आमाले खाना खानुहुन्न। खाना खाईसकेर मनु चुपचाप कोठातिर लागि। मनिष पनि दिदीभाईले खाना खाको भाडा सफा गरेर पढ्न बस्यो।

त्यस्तै १० बजेतिर आमा लरखराउँदै घर आईपुग्नु भयो। खै के के बोल्दै हुनुहुन्थ्यो, आवाज प्रष्ट थिएन। आफूले बोलेका कुरा आमा आफैंले पनि बुझ्दै हुनुहन्थ्यो कि थिएन, भन्न गाह्रो थियो। बुबाले ढोका खोल्दिनु भयो। भित्र छिर्ने बित्तिकै आमाले भन्नु भयो, “मैले खाना खाईवरी आको। ” आमाको यति कुरा सुन्ने बित्तिकै बुबा चुपचाप भान्सामा छिर्नुभयो। चिसो भईसकेको खाना तताउन थाल्नुभयो। खाना त खानुनै थियो, किनकी बुबा भोकै हुनुहुन्थ्यो।

मनमाया…….ए मनमाया……उज्यालो भईसक्यो, हेर यो त अझै पो सुतिराकि रैछे। हैन, उठ्न पर्दैन भन्या ? आमाको चर्को आवाजले मनमाया …मनु’ झल्याँस्स भई। निन्द्राबाट ब्यूँझेर यताउति हेरी …..आफू बसेको खाट, टेबल, दराज, टेबलमाथिको किताब, नजिकै रहेको ऐना एकएक गर्दै सबै घुमेजस्तै भयो।

एकछिन त उसको दिमाग खाली खाली भयो, केही सोच्नै सकिनँ। आमा फेरि चर्किन थाल्नुभयो, …हैन यो केटीलाई के भाको छ आजकाल? एकचोटी बोलाएर त हुँदैहुँदैन। उठ्न भनेको। मैले पधेँरा पुगेर दुई चोटी पानी ल्याईसकें, उ भने अझै सुतिराकी छे। जुठा भाडा असरल्ल छन्, घाम निस्कने बेला भईसक्यो। कतिखेर भ्याउनु काम?’ मनमाया खाटबाट ओर्लिदै सोच्न थाली…..हैन आज मैले यो कस्तो सपना देखें ?

……….. आमा कोठामै आईपुग्नु भयो। अनि सासै नफेरि भन्न थाल्नुभयो, …नानी आज स्कुल नजा ल? मैले दुईचोटी पानी ल्याकी छु, आजलाई पुग्छ। आजलाई पनि पुग्ने घाँस हिजै काटेको छ। भ्याईस् भने एकचोटी पल्लोबारी पुग्नु, तरकारी टिप्ने बेला भाको छ। आज तैंले टिपेर राख्दिस् भने भोली बिहानै मैले बजार लान पाउँछु। म फर्किन अबेला हुनसक्छ। जुठाभाडा माझेर खाना बनाउनु।

९ बजे खाना ख्वाएर भाईलाई स्कुल पठाउनु, खाजा तयार छ भाईको लागि। बा उठेपछि खाना दिनु, हिजो राती अबेला सुतेका छन्। रातभरी मसँग झगडा गर्दैथिए, टन्न धोकेर आएछन्। तिमीहरू त निदाईहाल्यौं, थाहा पाएनौ होला। बाले सोधे भने आमा मेलामा जानुभाछ भन्दिनु। …पर्म तिर्नु छ रे, त्यै भएर बिहानै जानुभयो ‘ भन्दिनु।

तँ स्कुल गईस् भने आज म हिड्न पाउदिनँ। कुरेर बसेका होलान् साथीहरू। आज खै के हो कार्यक्रम छ रे, हाम्रो आमा समूहले गर्ने रे। चाडै आउनु भनेका छन्, १६ दिने अभियान चल्दै छ रे नि त। देशैभरी कार्यक्रमहरू भईराछ भन्दैथिए, समूहका अरु साथीहरूले। र्‍याली पनि निकाल्ने हो रे, त्यही भएर चाँडै आउनु भनेका हुन् के।

हाम्रै अधिकारको लागि हो रे, यो अभियान। न हाम्रा पनि दिन फिर्छन कि? नानी आज तेरो पढाई छुट्ने भो हेर्, दुःख नमान् ल? तैले घर हेर्दिनस् भने म जान पाउदिनँ फेरि। ‘ मनमायाले हुन्छको संकेतमा मुन्टो हल्लाई। उसलाई आफूले देखेको सपना सुनाउन मन थियो, आमालाई। तर आमाको सुन्ने फुर्सद थिएन, निकै हतारमा हुनुहुन्थ्यो आमा। अधिकारको लडाईमा सहभागी हुुनुथियो आमालाई, मुक्ति पाउने आशामा।

आमा हिडेपछि मनमाया आफैंसँग गुनगुन गर्न थाली, एक्लै बरबराउन थाली ……बिहानीपख देखेको सपना पूरा हुन्छ भन्छन्, के मैले देखेको सपना पनि पूरा हुन्छ त? अनि आफैंले आफैंलाई प्रश्न गरी………मैले देखेको सपना बिपनामा बदलियो भने ठिक हुन्छ होला कि गलत? किन आज मैले यस्तो सपना देखें? प्रश्नको ठ्याक्कै सही उत्तर फेला पार्न सकिन मनमायाले। अनि मनमनै भनी…..भरे आमा आएपछि आमालाई सोध्छु, न यसको सही जवाफ आमालाई थाहा छ कि ?

प्रकाशित मितिः २०७२ मंसिर १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: