महिला खबर
रुपन्देही, मंसिर १८ । छोरी भएकै कारण हुने हिंसा कम गर्न जुटेका रुपन्देही र नवलपरासीका किशोरकिशोरीहरूले हिंसाविरुद्ध सञ्चार अभियान थालेका छन् ।
लैंगिक हिंसा रोक्न र बालबालिकाको अधिकार जोगाउन सक्रिय भएका किशोरकिशोरी सञ्जालले भित्तेपत्रिका मार्फत् सञ्चार अभियान थालेका हुन् । नवलपरासी र रुपन्देहीका २ दर्जन गाविसका बालबालिकाले अहिले लैंगिक हिंसाको विरोध र बालअधिकारका बारेमा भित्तेपत्रिका निकाल्ने गरेका छन् ।
व्यक्ति व्यक्तिलाई भेटेर सम्झाउनु साटो सार्वजनिक स्थलहरूमा बालिकाको अवस्था र अब गर्नुपर्ने कामबारे लेखेर भित्तेपत्रिका टाँसिदिँदा बढी प्रभावकारी भएको उनीहरू बताउँछन् । भित्रेपत्रिका निकाल्ने कामको अगुवाइ गरेकी नवलपरासी पक्लीहवाकी किशोरी सञ्जालकी सदस्य विना कुमारी गाह आफ्नो काम बताउन र चेतना फैलाउन भित्ते पत्रिका निकै सजिलो भएको बताउँंछिन् ।
उनका अनुसार गाउँमा हुने बाल हिंसा रोक्न र बालबालिकाको अधिकार जोगाउन समूह सक्रिय छ । समूहमा आवद्ध सदस्यहरूले गाउँमा बालबालिकालाई जम्मा पारेर समस्याबारे छलफल गर्छन् । यसपछि घरदैलो गरेर अभिभावकलाई सम्झाउँछन् । यतिमात्रै होइन स्कूलहरूमा गुरुहरूलाई भेटेर पनि बालअधिकार जोगाउन आग्रह गर्छन् ।
कोठे छलफलको विधिबाट मात्रै बालअधिकार जोगाउन र बाल हिंसा घटाउन नसकिने देखेपछि उनीहरूको समूह अहिले बाल भित्तेपत्रिका निकाल्न जुटेकोे हो । ‘भित्तेपत्रिका निकाल्न थालेपछि अभिभावक र सरोकारवालालाई सम्झाउन गाउँगाउँमा जाने समस्या कम भएको छ।’ उनले भनिन् । लैंगिक हिंसाविरुद्ध बालबालिकाको भित्तेपत्रिका निकाल्ने अभियानमा स्ट्रोम नेपाल र एबीसी नेपाल नामक गैर सरकारी सस्थाले सहयोग गरेका छन् ।
यी संस्था कै सहयोगमा चलेका छलफल कक्षामा छलफल हुने बालहिंसा, महिलाहिंसा, कुरीति, कुप्रथा, लैंगिक हिंसा, छुइप्रथा, छुवाछुत लगायतका समस्यालाई समाधान गर्न पनि भित्तेपत्रिका मार्फत् अभियान थालेका हुन् ।
एबीसी नेपालका कार्यक्रम संयोजक प्रदीप तिवारीले बालअधिकार संरक्षण र छोरी भएकै कारण भोग्न परेका हिंसा घटाउन भित्तेपत्रिका अभियान प्रभावकारी भएको बताए । उनले भने ‘बालबालिकालाई मात्र होइन सरोकारवालाहरूलाई प्रतिवद्ध पार्न र सजिलो तरिकाले जनचेतना फैलाउन पनि निकै सहज हुँदो रहेछ ।’
भित्तेपत्रिका लेखन बालअधिकार जोगाउन लागेका बालबालिकालाई अभियान सफल बनाउन निकै उपयोगी छ । यो मात्रै होइन किशोर उमेरका बालबालिकालाई सिर्जनात्मक बनाउन र उनीहरूको क्षमता बढाउन पनि बाल भित्तेपत्रिका लेखन सहयोगी बनेको छ ।
भित्तेपत्रिकाले गाउँ तथा विद्यालयमा हुने गतिविधिलाई समाचार बनाएर प्रचार गर्न, राम्रा कुराको प्रसंशा गर्न र नराम्रो कुरा सुधार गर्न सहयोग पुग्छ । यसले लेखन कला र आफुमा भएको अभिव्यक्ति क्षमता तथा प्रतिभा बाहिर निकाल्न निकै सहज भएको उनीहरूको अनुभव छ ।
बालबालिकाले बालबालिकाका लागि बनाएको भित्तेपत्रिकालाई विद्यालय, गाविस कार्यालय, हेल्थपोष्ठ, सामूदायिक सूचना बोर्ड लगायतमा टाँसिदिने उनीहरूको योजना छ ।
नवलपरासीको मनौरीको किशोरी सञ्जाल सदस्य सुमित्राकुमारी गुप्ताले यसो गर्दा आफ्ना कुरा सरोकारवालालाई सुनाउन र अभियानमा सहयोग जुटाउन पनि सहज हुने बताइन् ।
प्रकाशित मिति २०७२ मंसिर १८ गते शुक्रवार
Comment Here!