खेमा बस्नेत
कैलाली, मंसिर १८ । बझाङको देउरा व्यस्त बजार हो । बहुजातीय बसोबास रहेको यो बजार बझाङ, बैतडी र डोटी जिल्लाका सिमावर्तीबासीको व्यापारिक नाका पनि हो । यहाँ आउने हरेक मानिसको आफ्नै उद्देश्य हुन्छ । फाट्ट–फुट्ट सरकारी कार्यालयहरू समेत भएकाले कामकाजको लागि पनि मानिसहरूको आवतजावत हुने गर्छ । त्यसैले देउरा बजार बझाङको व्यापारिक केन्द्र पनि मानिन्छ ।
यही कोलाहलको बजारलाई निकै सुनसान देख्ने मानिसहरू पनि यही बसोबास गर्छन् । जसको कुनै उद्देश्य छैन् र पनि देउरा बजारमा सँधै हाजिर छन् । कोलाहल हेर्दै आफ्नो सन्नाटामा मलम लगाएर उनीहरू बाँचिरहेका छन् ।
देउरा बजारको सेती किनारमा बस्दै आएकी सुनकली दमाइले यही कोलाहल र व्यस्ततालाई नजरन्दाज गरेको ६० वर्ष पुग्यो । रायल गाविस ६ निवासी दले दमाइसँग विवाह गरेदेखि देउरामा बसोबास गर्दै आएकी सुनकलीले आफ्नै आँखाले व्यापार सुरू गरेको देखेकाहरू पनि अहिले गाडी मोटरका मालिक बनिसकेका छन् । तर, उनको जीवनमा भने भएको उमंग पनि सेलाउँदै गयो ।
बजारमा बस्दै गरेको भएपनि के गर्नु उनी जस्तै देउरामा बसोबास गर्दै आएका सबै जसो दलित सुमदायको आयस्तर कमजोर छ । बजारको छेउ, सेती किनारमा जोखिमको जीवन बाचिँरहेका उनीहरूसँग आफ्नो नाममा घरबास समेत छैन् ।
बझाङमा सबै दलितहरूको अवस्था एउटै छैन । कोही दलितबाट राम्रो हैसियतमा पुगिसकेका छन् भने कसैको अवस्था झन दलित बनेको सुनकली बताउँछिन् । सुनकलीको परिवार आफ्नो जीवनस्तर परिवर्तन गर्न संघर्षरत भएको निकै भयो । दलितहरू बाटै पनि हेपाहा प्रवृतिको राज चल्न थालेपछि बाँचुञ्जेल खुशी देख्न नपाएको सुनकलीले बताइन् ।
सुनकलीको परिवार बजार छेउमा बसोबास गर्दै आएको भएपनि उनीहरूले हालसम्म पानी छेक्ने छानोमा बस्न पाएका छैनन् । स्थानीय एक व्यक्तिले घरबासको लागि दिएको जमिनमा झुप्रो घर बनाएर बसेका उनीहरूको घरको छना बदल्ने सपना पनि अधुरै भएको सुनाउँछिन् ।
‘पोहोर साल छानाको खर फालेर टिन(जस्तापात) हालौंला सोचेका थियौं’ सुनकलीले भनिन् ‘पैसा जम्मा गर्न सकेनौं,यतिकै बसेका छौं ।’
घरमा बस्ने ठाउँ नभएर छोरा बुहारी भारतमा बस्दै आएको उनी बताउँछिन् । ढुङ्गाले बनेको उनको घर चारैतिरबाट भत्किन थालेको छ । छानाबाट पानी चुहीएर बर्षातमा ओत लाग्न गाह्रो हुने गरेको सुनकलीका दम्पत्ति बताउँन् ।
पहिले सुनकलीका श्रीमान दले टेलरिङ गर्थे । पैसा र अन्न राम्रै कमाइ हुने भएकाले त्यतिवेला कुनै समस्या थिएन । जब उमेर ढल्कदै गयो , दलेका आँखा कमजोर हुँदै गए । मेसिन चलाउन छोडे । त्यसपछि सुनकलीको परिवार परनिर्भर बन्न पुग्यो ।
आर्थिक अवस्था निकै दयनिय बनेपछि अहिले साँझ बिहानको छाक टार्न समेत दलित दम्पतिलाई निकै चिन्ता छ । धेरै दिनदेखि आफू विरामी भएपनि सुनकललीले उपचार गर्न पाएकी छैनन् । घरदेखि करिव ५०० मिटरको दूरीमा स्वास्थ्य चौकी भएपनि आफू दलित भएकै कारण आवश्यक उपचार नपाएको उनी बताउँछिन् ।
‘अस्पताल गएर के गर्नु हजुर, सिटामोल दिएर पठाउँछन्,’ खुट्टाको चोटले थला परेकी सुनकलीले भनिन् ‘टाढा जाने पैसा छैन, त्यसैले घरमै आराम गरिरहेकी छु ।’
सरकारले दिने बृद्धा भत्ताको भरमा जीवन गुजारा चलाउँदै आएको सुनकलीले बताइन् । त्यस बाहेकका अरू आम्दानी नहुँदा खाने गुजारा बाहेक कुनै काम गर्न नसकेको उनले सुनाइन ।
आफ्नो बोलीदिने मान्छे नभएकै कारण राज्य बाट पाउँने अरू सुविधाबाट बञ्चित भएको उनका श्रीमान दले दमाइले बताए । गतवर्ष दलित तथा विपन्न सुमदायका लागि आएको अनुदानको बंगुर पालन आफूले नपाई टाठाबाठलाई दिएको उनले बताए ।
राज्यले आफूहरू जस्ताको लागि अनुदान दिएपनि दलितहरूका टाढाबाठाहरूले आफूहरूलाई हेप्दै आएको उनीहरूको गुनासो छ । ‘दलितहरूले नै हामीलाई बढी हेप्छन्, अरूको त के कुरा गर्नु,’ सुनकललीले भनिन् ‘आफ्नो मान्छे नहुँदा झन दलित हुनु परेको छ ।’ सुनकलीका दुई छोरा बुहारी छन् । घरमा बस्ने र खाने समस्या भएकाले उनीहरू वर्षौदेखि भारतमै मजदुरी गर्दै आएका छन् ।
प्रकाशित मिति २०७२ मंसिर १८ गते शुक्रवार
Comment Here!