अधिकारकर्मी महिला आफैँ हिंसामा


प्रकाशित मिति :2015-12-04 15:23:57

अन्यायमा परेका महिलालाई न्याय दिलाउन हिडेका अधिकारकर्मी महिला आफैँ हिंसामा पर्दा समेत चुपचाप बस्दा रहेछन् । घरभित्रको कुरा बाहिर लैजाँदा राम्रो हुन्न भन्ने सोच यस्ता अधिकारकर्मीमा पनि हुँदो रहेछ ।

नुनुता राई
अन्यायमा परेका महिलालाई न्याय दिलाउन हिँडेका अधिकारकर्मी महिला आफैँ हिंसामा पर्दा समेत चुपचाप छन् । विहानदेखी साँझसम्म घरबाहिर रहनुपर्ने र काम अनुसार आम्दानी नहुँदा परिवारमा समस्या उत्पन्न हुने एकजना अधिकारकर्मीको भोगाइ छ । उनी भन्छिन्, ‘गाँउ—घर र छिमेकका मुद्दा मिलाउनु पर्छ यो सजिलो छैन । एउटालाइ न्याय दिँदा अर्को रिसाउँछ । प्रकारान्तरले त्यो समस्या आफ्नो परिवारसम्म आईपुग्छ ।’

‘अर्काको घरको मामिलामा किन सरोकार राख्नु पर्‍यो ? महिला अधिकारकर्मीले भोग्ने ठूलो सामाजिक समस्या हो’ धरानस्थित पारालिगलकी कमिटीकी अध्यक्ष मीना पुलामी भन्छिन्, ‘त्यो पनि निःशुल्क ।’ पुलामीका भनाइमा, बाहिर निस्कनु परे घरमा सबै विवरण दिएर जानुपर्ने भएकाले हरेक दिन यो गर, यो नगर भन्ने समस्या सामना गर्नुपर्छ । त्यसैगरी कतिपय अवस्थमा अर्काको घर बिगारेको आरोप समेत सहनुपर्छ ।

१८ वर्षदेखि विभिन्न कारणले अन्यायमा परेका महिलालाई अधिकार दिलाउन हिँडिरहेकी मीना पुलामी पहिले पहिले श्रीमानले आफ्नो काम मन नपराएर घरमै बस्न दबाव दिएको गुनासो गर्छिन् । परिवारको विश्वास जित्न धेरै समय लागेको अनुभव सुनाउदै उनी भन्छिन् ‘श्रीमानले घरमै बस्न भने पनि सासु आमाको म प्रतिको विश्वासले घर बाहिर निस्कन सकेँ र आज एउटा अधिकारर्मीको रुपमा परिचित छु ।’
अधिकारकर्मी हुन सजिलो छैन । समाजमा अधिकारकर्मी भनेर परिचित भएपनि घरमा दोहोरो जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था छ । अर्काको समस्या मिलाउँदै जाँदा आफ्नो घर पनि बिगार्नु भएन । अधिकारकर्मी पुलामी भन्छिन् ‘पहिला घर, आमा, श्रीमतीको जिम्मेवारी पुरा गरेपछि मात्र अन्य दिदी बहिनीको न्यायको लागि हिँड्नुपर्ने बाध्यता छ ।’

अर्की अधिकारकर्मी सपना राईका भनाइमा, पीडित महिलाले उजुरी गर्न सक्ने भएपनि पीडकलाई कार्वाही हुने अवस्था नरहेकाले अधिकारकर्मी महिला समेत समस्यामा पर्ने गरेका छन् । उनी भन्छिन्, ‘समाजमा समस्या छदैछ, घरमा पनि हरेक दिन कामको स्पष्टिकरण दिनुपर्ने हुन्छ । अरुको पत्रपत्रिकामा आउँछ, तेरो खोइ नी भनेर समेत सोध्छन् । घरको धेरैजसो सोधीखोजी कहाँ जान्छस भन्ने हुन्छ ।’

समय मिलाउँन असाध्यै कठिन हुने भएपनि आफूले ठूलो समस्या नभोगेको अर्की अधिकारकर्मीको भनाइ छ । महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्य भन्छिन्, ‘अन्यायमा परेका दिदी बहिनीले जत्ति बेला नि बोलाउनु हुन्छ । धनकुटा, मोरङ, झापा समेत पुग्नुपर्छ । यस्तो बेला छिटो घर पुग्न सम्भव हुन्न ।’ उनी भन्छिन्, ‘मलाई पनि शुरुका दिनमा गाह्रो भयो । अहिले ‘मेरो परिवारले विश्वास गर्छ, समस्या छैन ।’ उनका बुझाइमा, संस्थामा आवद्ध धेरै दिदी बहिनीलाई गाह्रो छ । यतिसम्म कि कतिपय अधिकारकर्मी दिदी बहिनी बेलुका घर जा“दा श्रीमान्लाई खुशी पार्न रक्सी उपहार बोकेर जान विवश छन् ।

परिस्थिति अनुसार कहिले काहीँ घरमा सबैकुरा नभनी हिँड्नु पर्दा बेला बेलामा समस्या हुने गर्छ । अधिकारकर्मी बज्राचार्य भन्छिन् ‘कतिपय अवस्थामासँगै गएको साथीहरूको घरमा गएर हामी सँगै थियौं, यस्तो केसमा गएका थियौं भनेर स्पष्टीकरण दिनुपर्ने अवस्था आउँछ ।’

पन्चकन्या पारालिगल अध्यक्ष कोपीला भट्टराई महिला भएर समाजसेवी बन्नु फलामको चिउरा चपाउनु जस्तै भएको अनुभव सुनाउँछिन् । उनी भन्छिन् ‘घरको सम्पुर्ण काम सकेर निस्किनु पर्छ । यति गर्दा पनि कहिलेकाँही भनाई खानुपर्छ ।’ परिवारको साथ हुँदाहुँदै पनि बेलाबेलामा आफ्नो समाजसेवाको उद्देश्य माथि प्रश्न उठाउने गरेको उनी बताउँछिन् । भट्टराईका अनुसार समस्या भएपनि अधिकारर्मी भएकोले आफैँ समाधान खोज्नुको विकल्प छैन । उनका भनाइमा, अधिकारकर्मी महिला नै श्रीमानले कुटपिट गर्दा घाईते भएर हिडिरहेको अवस्था छ । घरायसी समस्या अरुलाई सुनाए बाहिर निस्कन नपाउने डरले गुपचुप राख्ने गरिन्छ । भट्टराईका अनुसार, ‘चार जना महिला अधिकारकर्मीको समस्या इलाका प्रहरी कार्यालय धरान पर्‍याउनु परेको छ ।’

अधिवक्ता दर्शन राईका अनुसार आफैँ सचेत हुने भएकाले अधिकारकर्मीहरू हिंसामा कम पर्ने बताउँछन् । सामाजिक परिवेशले गर्दा समाज सेवामा हिड्ने महिलालाई अहिले पनि पुरुषको तुलनामा समस्या भोग्नु पर्ने अवस्था छ । आफ्ना समस्या बाहिर भन्न अप्ठ्यारो मान्ने भएकाले पनि महिलालाई समस्या पर्ने गर्छ ।

एक महिला अधिकारकर्मी भन्छिन् ‘नाम चलेका अधिकारकर्मीहरू समेत पारिवारिक समस्या खुलाउन चाहदैनन् । धेरैलाई न्याय दिलाउन लागेकाहरू आफैँ अन्यायमा परे भन्न सजिलो छैन । इलाका प्रहरी कार्यालय धरानका डि.एस.पी सुदम कुमार सि“जापति महिला अधिकारकर्मीहरू आफैँमा सक्षम भएकोले आफ्नो समस्या लिएर प्रहरीमा नआएको बताउछन् । उनी भन्छन् ‘समस्या नै नहुने त होइन तर, घरको कुरा प्रहरी, प्रशासनसम्म आउन दिनुहुन्न भन्ने सोचले पनि आफैँ मिलाउने गरेका छन् ।’

धरान इलाका प्रहरी कार्यालय महिला सेल प्रमुख मुना डाँगीका अनुसार पछिल्लो समयमा महिला अधिकारकर्मीका कारण महिला हिंसाका घटनाको उजुरी बढे पनि अधिकारकर्मीहरू सार्वजनिक रुपमा चिनिएकाले घरको कुरा बाहिर ल्याउन चाहदैनन् । अरुलाई न्याय दिन हिँड्दा पीडित महिलाका परिवारले डर, धम्की दिने र त्यो आफनो घरसम्म पुग्ने हुँदा पारिवारिक समस्या हुने गरेको महिला सेल प्रमुख डाँगीको भनाइ छ ।

प्रकाशित मिति:  २०७२ मसिंर २०७२ शुक्रवार १८ गते

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: