बलात्कार : पीडित झन् असुरक्षित


प्रकाशित मिति :2015-12-06 11:35:16

बलात्कारीलाई राजनीतिक संरक्षण दिने र पीडितलाई पैसा दिएर मुद्दा मिलाउने चलन धेरै रहेछ। बाहिर हल्ला भए भोली छोरीको विवाह गर्न समस्या पर्छ भनेर अभिभावक र आफन्तहरू पनि समस्यालाई गुपचुप बनाउँन चाहँदा रहेछन्। यसले पीडकको मनोवल झन बढ्ने र पीडित झन असुरक्षित हुने अवस्था छ।

अरुणा उप्रेती

Aruna Upretyकेहि दिन अघि एउट अन्तर्राष्ट्रिय पत्रिकामा समाचार छापियो– ल्याटिन अमेरिकाको एक गरिब देश पारागुवामा ११ वर्षकी बालिका बलात्कार पछि गर्भवती भइन्। क्रिश्चियन धर्मको बाहुल्यता भएको त्यो देशमा सरकार र धर्मगुरुले ती किशोरीको गर्भपात गराउन दिएनन्। अधिकारकर्मीहरूले यसको बारेमा सरकारको आलोचना गरे तर सरकार टसमस भएन र केहि समय अघि उनको शल्यक्रिया गरेर बच्चा जन्माइयो। यो समाचार पढ्दा हामीहरू मध्ये कति ‘ओहो, यस्तो भयो’ भनेर दिक्क पनि भयौँ।

तर, नेपालमा पनि बालिका र किशोरीहरू माथि यसरी बलात्कार भइरहेको छ। ती मध्ये थोरै मात्र समाचारमा अाउँछन्। अति थोरै पीडकले मात्र सजाय पाँउछन्। किनभने यस्ता अपराधीहरूलाई प्राय राजनीतिज्ञहरूले संरक्षण दिन्छन्। मकवानपुरमा बालिकामाथि हुने यौन हिंसा सम्बन्धी छलफल गर्दा अधिकारकर्मी विष्णु ओझाले एउटा लुकाइएको सत्य बाहिर ल्याए।

मकवानपुरको एक स्कूलमा एकजना शिक्षकले एउटी किशोरीलाई परीक्षामा पास गराउन अंग्रेजी पढाइदिन्छु भनेर घरमा बोलाएर बलात्कार गरे। कसैलाई नभन्न धम्की दिएपछि ती किशोरीले यो कुरा लामोसमयसम्म कसैलाई भनिनन्।

आमाबाबुले बारम्बार ‘त्यही शिक्षकसँग’ पढ्न जान दवाव दिन थालेपछि किशोरीले आफ्नो साथिलाई समस्या सुनाईन्। यो कुरा बाहिर आयो र प्रहरीलाई खबर गरेपछि शिक्षक समातिए। तर, शिक्षकले यस्तो काम गर्न सक्दैनन् भनेर अपराधी शिक्षकलाई छुटाउन स्कुलका शिक्षकहरूले अधिकारकर्मी ओझालाई भेटेर दबाब दिए। शिक्षकले पनि जेल बाहिर बसेर मुद्दा लड्न पाउँ भने हार गुहार गरे। अधिकारकर्मी ओझा भन्छन् ‘कतिपय अपराधमा नेताको फोनका भरमा जेलबाट छुटाउने समेत गरिन्छ। बालिका बलात्कार त पान चपाए झैँ मान्छन यहाँका नेताहरू।’

रौतहट जिल्लामा मात्रै २०७२ वैशाखदेखि साउनसम्म ८ जना बालिका बलात्कृत भए। अपराधी, डाका र राजनीतिक नेताले सकेसम्म त्यस्ता अपराधीलाई छुुटाउन कोशिश गर्छन्। अपराधीले पीडितको परिवारलाई डराएर, धम्काएर मुद्दा फिर्ता लिन बाध्य पार्छन्। पत्रकार र महिला अधिकारकर्मीसँग भएको छलफलमा अपराधी छुटाउन जिल्लाका ठुलै भनिने व्यक्ति पनि सक्रिय हुने गर्दा रहेछन्।

बलात्कार गर्न खोजेको, वा बलात्कृत भएको केहि घटना बाहेक केटीहरूको संवेदनशील अंग छोएको वा जिस्काएको गाला सुम्सुमाएको, अपशब्द बोलेको भनेर कतैबाट उजुरी परेको देखिँदैन्। तर, यस्ता घटनाहरू समाजमा भई नै रहन्छन्। अर्को कुरा पीडित महिला तथा किशोरी यस्तो कुरा अरुलाई भनेर के फाईदा र? भनि हाले तँ नै खराव थिईस र जिस्कियो होला भन्ने अपमान सहनु पर्छ। अरु कसैलाई केटाले नजिस्काउने, तँलाई मात्र जिस्काउने हुन्छ र? भनेर उल्टै आरोप लगाउने गर्नाले पनि आफूमाथि भएको हिंसा चुपचाप सहन बाध्य देखिन्छन्।

हामीले कपिलवस्तु, मकवानपुर र रौतहटमा गएर छलफल गर्‍यांै। समस्या जताततै एकैखाले समस्या देखेपछि मन चसक्क भयो। संस्कृती र संस्कारलाई दोष देखाएर अपराधीलाई जोगाउने प्रचलन हाम्रो सामाजिक रोगको रुपमा विकास भइहरको छ। विशेष गरि राजनीतिक संरक्षण भएका अपराधीलाई जोगाउन दवाव आउने अवस्था थाहा पाइयो। बलात्कारीलाई राजनीतिक संरक्षण दिने र पीडितलाई पैसा दिएर मुद्दा मिलाउने चलन धेरै रहेछ। बाहिर हल्ला भए भोली छोरीको विवाह गर्न समस्या पर्दछ भन्ने डरले अभिभावक र आफन्तहरू पनि समस्यालाई गुपचुप बनउँन चाहँदा रहेछन्। यसले पीडकको मनोवल झन बढ्ने र पीडित झन असुरक्षित हुने अवस्था छ। हामीसँगको भेटमा विभिन्न ठाँउमा प्रहरी अधिकारीले ‘उजुरी नआएसम्म कसैलाई समात्न मिल्दैन’ भनेर गुनासो गरे।

रौटहट, मकवानपुर, कपिलवस्तुमा बालिका बलात्कारका धेरै घटना हुँदा पनि राजनीतिक नेता मौन रहनु, विरोध नगर्नुबाट नेताहरूमा समवेदनाको अभाव छ र अपराधको राजनीतिकरण गरिएको छ भन्ने अनुमान लगाउन सकिन्छ। निष्पक्ष छानविन गर्न नपाएकोमा प्रहरीहरू पनि खुशी छैनन। बालिका र किशोरी बलात्कृत हुँदा, र यौन शोषणमा पर्दा नेताहरूलाई खासै वास्ता छैन। किनभने उनीहरूको आफ्नो परिवार सुरक्षित ठाँउमा छ भन्ने सोचाइमा छन्। घर जसले बालिकालाई संरक्षण दिनु पर्ने हो, उसैले बालिकालाई यौन शोषण गरे पछि बालिका कहाँ सुरक्षित हुन्छन्? जवसम्म यो घटना बाहिर ल्याउँदैनन, पीडकहरू बाहिर नै हुन्छन्। समस्या घर बाहिरको मात्र होईन घर भित्र पनि उस्तै छ।

आफूमाथि भएको ज्यादतीलाई बाहिर ल्याउने हिम्मत सबैसँग हुँदैन्। मकवानपुरमा १४ वर्षीया बालिकाले यौन शोषण गरेको भन्दै आफनै बाबुविरुद्ध उजुरी गरिन्। सुरुमा कसैले विश्वास गरेन। तर, संस्थाहरूको दबाब पछि प्रहरीले जव बाबुलाई समातेर ल्यायो। त्यसपछि पो थाहा भयो कि त्यस बाबुले आफ्नी दुई अन्य छोरीलाई बलात्कार गरेको रहेछ। तर ती दुईकिशोरीहरू बाबुको विरोधमा केहि बोल्न सकेनन र विवाह गरेर घरबाट निस्के। आमा बिरामी थिइन्। शायद त्यसैले उनले थाहा पाइनन् वा थाहा पाएर पनि केही बोल्न सकिनन्। किनभने घरमा कमाएर ल्याउने अरु कोही थिएन। ती किशोरीले हिम्मत गरेर बोलेपछि कुरा बाहिर आयो। अहिले ती पीडक बाबु जेलमा छन्।

पीडकले लोभ्याएर पीडित पक्षलाई आफ्नो प्रभावमा पारेर अदालतको मुद्दा नै खारेज गरेको उदाहरण पनि छन्। एक बलात्कारी छोरालाई बचाउन नाम चलेका नेताको दौडधुप देखेर पनि हाम्रो समाज कस्तो छ भनेर सहजै अनुमान लगाउन सकिन्छ। पीडित युवतीले जाहेरी दिएपछि हामीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर अदालतमा मुद्दा दर्ता गर्‍यौ। तर पीडक पक्षले पीडितलाई साढे ३ लाख दिएपछि पीडितले मलाई बलात्कार भएको हो तर उक्त व्यक्तिले गरेको होईन भने पछि मुद्दा नै खारेज भयो।

नेताको छोराले पीडित पक्षलाई मार्ने धम्कि दिएको थियो। मुद्दा हेरीरहेका सरकारी वकिलको यो भनाईले पनि अदालतमा गएका मुद्दा समेत पैसाका कारण बिचमै हराउँछन् भन्ने स्पष्ट हुन्छ। समाजमा बालिकामाथि हुने यौनहिंसा र बलात्कारका घटनामा अति कम मात्रै प्रहरी कहाँ दर्ता हुन्छन्। सरकारी संयत्रमा अविश्वास, उजुरी गर्ने सहज वातावरणको अभाव, ज्ञान र आत्मविश्वासको कमीले गर्दा काठमाडाैं जस्ता शहरमा त अपराधहरू विरुद्ध उजुरी हुँदैन भने गाँउघरमा त के हुन्छ र ? पहाड र तराईका विभिन्न ठाँउमा काम गरेर अनुभव बटुलेका एकजना सरकारी वकिल भन्छन् ‘कुनै किशोरी, बालिका र युवती बलात्कृत भएका २० भन्दा कम मात्र उजुरी पर्दछन्। उजुरी हालेपछि यो सरकारवादी मुद्दा भएपनि पीडित व्यक्तिले नै सबै साक्षी जुटाउनु पर्ने हुनाले प्रायः अपराधीहरू खुल्ला साँढे झै‌ं समाजमा घुमिरहन्छन्।’

प्रकाशित मितिः २०७२ म‌ंसिर २० गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: