महिला खबर
पोखरा, मंसिर २० । समाजमात्रै होइन महिलाका लागि कोख नै असुरक्षित हुने क्रम बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सचेतना समाज नेपाल पोखराद्धारा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र नेपाली महिला विषय अन्तक्रियाकार्यक्रममा सहभागि वक्ताहरूले समाज मात्रै होइन महिलाका लागि कोख नै असुरक्षित हुने क्रम बढेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले १६ दिने अभियान र नेपाली महिलाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै महिला कोखदेखि काखसम्म नै असुरक्षित हुने क्रम बढिरहेको भन्दै त्यसको कारणको खोजी गरिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले महिलालाई गर्भपतन गर्न बाध्य पार्ने समाज र परिवार सबैभन्दा बढी दोषी रहेको बताउनुभयो । जबसम्म महिलालाको लागि कोख सुरक्षित हुँदैन तबसम्म काख पनि सुरक्षित हुन नसक्ने उहाँको भनाइ थियो । उहाँले महिला र पुरुष कानुनी तथा सामाजिक दृष्टिकोणबाट समान भएकाले पुरुषलाई महिलामाथि हिंसा गर्ने अधिकार नभएको प्रष्टाउनु भयो ।
समाता मूलक समाजका लागि एकले अर्काको आत्मसम्मान, सहअस्तित्व र समान जिम्मेवारी र भुमिकाबाट अघि बढ्न सके हिंसा न्यूनिकरण हुने उहाँको भनाइ थियो ।अधिवक्ता तिलक पराजुलीले सभ्य समाजका लागि लैंगिक हिंसा कलङ्क भएको बताउनु भयो । महिला अधिकारको आन्दोलनको उपज राष्ट्रपति र सभामुख महिला भएको बताउँदै अधिकार प्राप्तिको आन्दोलनमा महिला पछि हट्न नहुने बताउनु भयो ।
अर्का वक्ता कमल ढकालले समाज परिवर्तनकालागि साँस्कृतिक रुपान्तरणमा जोड दिनु पर्ने बताउनु भयो । अधिवक्ता विनिता नेपालीले समाजले महिला र पुरुषलाई हेर्ने गहिरो भेदभाव र फितलो दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताउनुभयो । अधिवक्ता गिता आचार्यले पुराना धर्म ग्रन्थहरूले नै महिलालाई सम्मान गर्न नसक्दा त्यसैबाट विकसित संस्कृतिले महिलामाथिको हिंसालाई बढावा दिएको बताउनु भयो ।
मिडिया विश्लेषक शेखर पराजुलीले लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारको महत्वपूर्ण भूमिका हुने बताउँदै पत्रकारले तथ्यांकको भन्दा तथ्यकोपछि लागेर वास्तविकता उजागार गर्नु पर्ने बताउनु भयो ।
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले हिंसा न्यूनिकरणको पहल घर घरबाट थालनी गर्न सके स्वतः हिंसा रहित समाज र राष्ट्र बन्न सक्ने बताउनु भयो ।
सचेतन समाज पोखराका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले महिला हिंसा बढ्नुमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारण प्रमुख रहेको भन्दै समाजको निर्माणका लागि शारीरिक र मानसिक रुपमा महिलाहरु मजबुत हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमा अधिवक्ता शिव सुनार, प्रभाष पराजुली, भगवति शर्मा, सौन्दर्यकर्मी गिता के.सी, रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीलगायतलेघर शान्तिनै विश्व शान्तिको आधार भन्ने भनाइलाई आत्मसात गरीहिंसा रहित समाजको साझा अभियानमा महिला पुरुष दुवै जुट्न सके परिवर्तन सम्भव हुने बताउनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर २० गते आइतवार
Comment Here!