महिला खबर
नेपालगन्ज, मंसिर २१ । भारतले गरेको अघोषित नाकाबन्दीले बाँकेका ग्रामीण स्वास्थ्य संस्थामा गर्भवती/सुत्केरी महिलालाई नभई नहुने आइरन चक्की र एन्टिबायोटिकको पनि चरम अभाव भएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि सुगम जिल्लामा मानिने बाँकेमै जीवनजल, आइरन चक्की, आँखा पाक्दा हाल्ने औषधी र एन्टिबायोटिकको चरम अभाव भइसकेको छ । गाउँ–गाउँमा रहेको उप–स्वास्थ्य चौकीहरूबाट सरकारले ३५ प्रकारका औषधी निःशुल्क दिने व्यवस्था मिलाए पनि नाकाबन्दीले औषधी आपूर्ति हुन नसक्दा अभाव भएको हो ।
बैजापुर उपस्वास्थ्य चौकीका इन्चार्ज हिरामणी थारूले आइरन चक्की, एन्टिबायोटिक र जीवनजलको समेत अभाव रहेको बताउनुभयो ।
पहिलो पटक गर्भ जाँच गरेदेखि सुत्केरी भएको ४२ दिनसम्म अनिवार्य खानुपर्ने आइरन चक्की पनि ग्रामीण स्वास्थ्य संस्थाले सहजै उपलब्ध गराउन सकेका छैनन् ।
गर्भवती/सुत्केरीलाई रगत बढाउन आइरन चक्की खुवाइन्छ । बैजापुरकी महिला स्वयंसेविका लिलाकुमारी डाँगीले गर्भ जाँच गराउन र आइरन चक्की खान प्राथमिकताका साथ सल्लाह दिने गरेको बताउनुभयो ।
उपस्वास्थ्य संस्थाहरुले पहिलो पटक गर्भ जाँच गर्न आउँदा आफैले र त्यसपछि महिला स्वयंसेविकामार्फत् आइरन चक्की दिने गर्दछ । किशोरी अवस्थामा विवाह गर्ने र बच्चा जन्माउने, आवश्यक पोषणयुक्त खानेकुरा नखाने, गर्भवती अवस्थामा पनि गहु्रंगो काम गर्ने ग्रामीण गर्भवती/सुत्केरीलाई आइरन चक्की अझ बढी जरुरी हुने चिकित्सक र स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । बिनौना उप–स्वास्थ्य चौकीले पनि आइरन, पारासिटामोललगायत औषधीको चरम अभाव भइसकेको जनाएको छ ।
बाँकेका सबै ग्रामीण स्वास्थ्य संस्थामा उल्लेखित औषधीको अभाव रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका प्रमुख डा. विनोदकुमार गिरीले आइरन, एन्टिबायोटिकको अभाव रहेको बताउनुभयो । औषधी अभाव भएपछि ग्रामीण स्वास्थ्य चौकीहरूले बिरामीलाई केही औषधी दिएर बाँकी आफै बाहिरबाट किन्न लगाउने गरेका छन् ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले भन्नुभयो,–‘औषधी अभाव रहेको छ । स्वास्थ्य चौकीमा आएका बिरामीलाई एक/दुई पिस दिएर अरु बाहिरबाट किन्न लगाउने गरेका छौं ।’
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमवार
Comment Here!