धनगढी,मंसिर २२ । चिसो बढेको छ । लेकाली भेकमा यसको असर झन बढ्दो छ । तर, शरिरनै कठाङ्ग्रिने चिसोको वास्ता नगरी डोटीको घण्टेश्वरस्थित गैराका एक हुल महिला जंगल पस्दै छन् ।
चसोको बेला भान्छामा रहेको ग्यॉस र टुकी बाल्न मट्टितेल सकिएपछि उनीहरू दैनिक समस्यामा छन् । हिजो छिमेकी भुवनेश्वरीसंग दाउरा सापट लिएर भान्छा चलाएकी उर्मिला पनि उनीहरूसंगै थिइन् । आगो सेक्न समेत दाउरा नभएपछि उनी पनि जंगल गएको बताइन् ।
‘जसरी भएपनि परिवारलाई खाना खुवाउनै प-यो’ उनले भनिन् ‘घरमा दाउरा छैन, ग्याँस पाईदैन, त्यसैले जंगल जादैछु ।’
इन्धन अभावको समस्या आम नेपालीले भोग्दै आएका छन्, । तर, भान्छा चलाउने पिरलो गृहिणीलाई बढी हुने भएकाले इन्धन अभावको सकस गृहिणीलाई पनि परेको उनको भनाइ छ ।
‘पुरुषलाई भान्छामा के समस्या छ त्यति थाहा हुँदैन’, उनले भनिन् ‘उनीहरू आफ्नै काममा हुन्छन्,समस्या भएको वेलामा घरमा पनि हुँदैनन्, त्यसैले दिउँसोको खाना पकाउन दाउँरा खोज्न जाँदैछु ।
दाउँरा इन्धनको लागि मात्रै प्रयोग नभई आयआर्जनको रुपमा पनि लिइने गरेको छन् । सुदूरपश्चिमका अधिकांश ग्रामिण क्षेत्रबाट शहरमा दाउरा विक्रीका लागि ल्याइन्छ । यस कार्यमा पनि महिलाहरु नै बढी सक्रिय हुने गरेका छन् । दाउरा वेचेर पढाई खर्च र घरायसी नुन तेल जुटाउन पनि महिला दाउरा खोजेर बजारमा बेच्ने गरेका छन् ।
भारतीय अघोषित नाकाबन्दी बढेपछि जंगलबाट दाउरा ल्याएर प्रयोग गर्नेक्रम पनि बढेको छ । स्थानीय सामुदायिक वन, सार्वजनिक जंगलबाट दाउरा ल्याएर इन्धनको समस्या पूर्ति गर्नुको साथसाथै जिवीकाको माध्यम पनि बनाउदै आएको अमरगढी नगरपालिका स्थित पोखरा निवारी पार्वती जोशीले बताइन् ।
भारतीय अघोषित नाकाबन्धी भएको ७३ दिन पुगेको छ । यस क्षेत्रका महिला गृहणीहरु पनि नाकाबन्दीले सृजना भएको इन्धन र खाद्यन्नको चरम अभावमा परेका छन् । दैनिक गुजराका लागि प्रत्यक्ष संलग्न रहने महिलाहरु साझ विहानको छाक टार्न आवश्यक सरसामानको जोहो नहुँदा मर्कामा परेको सुनाउँछिन् ।
यो समस्याले पुरुषलाई चिन्ता नहुने भने होइन, तर भान्छामा बढी महिला जिम्मेवार भएको हुँदा उनलाई कसरी खाना खुवाउने भन्ने चिन्ता अगाडी परेको हुन्छ, धनगढी उप महानगरपालिका ७ की विद्या थापाले बताइन् ।
उनले ग्याँस नपाउँदा मट्टीतेल किनेर स्टोभमा खाना पकाउन थालेको बताइन् । ‘दाउँरा पनि महङ्गो छ, ग्यॉस पाइदैन ।’ उनले भनिन् ‘इन्धन समस्याले हामीजस्ता गृहणीलाई निकै पिरलो भएको छ ।’
प्रकाशित मिति २०७२ मंसिर २२ गते मगलवार
Comment Here!