जापानी राजनीतिकर्मी महिलामाथि धेरै हुन्छ यौन हिंसा
मतदाताले समेत यौनहिंसा गर्छन्
महिला खबर
एजेन्सी , मसिंर २२ । जापानमा महिला राजनीतिज्ञमाथि हुने यौन हिंसा सामान्य रहेको एकजना महिला राजनीतिज्ञले बताएकी छन् । पुरुष सहकर्मीले महिलालाई उनीहरूको इच्छाविपरीत सम्बेदनशील अंगमा छुने कुरा सामान्य भएको जापानी सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेता सिको नोडाले बताइन् ।
उनले विशेष गरी बिभिन्न भोजहरूमा पुरुष सहकर्मीले भोट पाउनका लागि महिलालाई यौनजन्य कार्य गर्ने गरेको खुलासा गरेकी छन् ।
राजनीतिमा सक्रिय रहेका महिलाका अनुसार बरिष्ठ पुरुष राजनीतिज्ञबाट उनीहरूले बेलाबेलामा यस्तो यौन हिंसा खेप्नु पर्दछ । यतिसम्मकी महिलालाई भित्री बस्त्रहरू देखाउनसम्म दबाब दिइन्छ, जसले गर्दा जापानका महिला राजनीतिक क्षेत्रमा प्रवेश गर्न बाट निराश देखिन्छन् ।
जापानका महिला राजनीतिज्ञहरू सिको नोडा, कीयोमी सुजी मोटो तथा रीन्होले पत्रकारसँग कुरा गर्दै यस्तो अवस्थाले जापानमा महिला राजनीतिमा आउनु निकै चूनौतिको विषय भएको बताए ।
नोडा २९ वर्षको उमेरमा सांसद थिइन् । उनले भनिन् ‘सहकर्मी पुरुष राजनीतिज्ञले मात्र होइन पुरुष मतदाताहरूले समेत महिलामाथि यौन हिंसा गर्ने गरेका छन् ।’ती पुरुषले चाहे अनुसार नगरेको खण्डमा ती महिलाले बिभिन्न दुव्र्यवहार झेल्नु पर्ने एक बरिष्ठ कानुनविदले बताइन् । पुरुष राजनीतिककर्मीले आफूहरूलाई महिला भएकाले पुरुषसँग प्रतिस्पर्धा गर्न नसक्ने कुराहरू बारम्बार भनेर आफ्नो मनोवल घटाउने गरेको नोडाले बताइन् ।
डेमोक्रेटिक पार्टीका नेता तथा सांसद सुजी मोटोले मे महिनाको २८ तारिकमा जापानको सुरक्षा सम्बन्धि प्रश्न संसदमा राख्दा प्रधानमन्त्री सीन्जो आबेबाट नराम्रो व्यवहार खेप्नु परेको थियो जुन प्रश्नका कारण भएको विवादले उक्त दिनको संसद नै अवरुद्ध भएको थियो ।
जापानमा सरकारी कार्यालयहरूमा समेत महिलाको सहभागिता निकै न्यून रहेको क्योदो न्यूजले जनाएको छ । क्योदो न्यूजले जुलाई २०१५ मा गरेको अध्ययन अनुसार सरकारी कार्यालयमा महिला सहभागिता जम्मा ३.५ प्रतिशत रहेको छ ।
प्रकाशित मिति २०७२ मसिंर २२ गते मंगलवार
Comment Here!