महिला खबर
काठमाडाैं, मङ्सिर २३ । सभामुख ओनसरी घर्तीले महिलाले आफूलाई जिम्मेवारी दिएर पठाएकाले महिला अधिकारका लागि लड्नुपर्ने जिम्मेवारी आफूमा भएको बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगले गरेको सम्मान, शुभकामना एवम् ‘अग्रज महिला’ पुस्तक विमोचन कार्यक्रममा सभामुख घर्तीले नयाँ संविधानमा राष्ट्रिय महिला आयोग संवैधानिक भएकोले महिलाका मुद्दामा लाग्न र उद्देश्यमा पुग्न थप प्रयास जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले नयाँ सविधानले महिलाका बारेमा सुनिश्चित गरेका कुरा सकारात्मक भएपनि त्यो पूर्ण भने नभएको बताउनुभयो । महिलाका बारेमा समेट्नुपर्ने कुरा संविधानमा थप्दै र संशोधन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
महिलालाई मूलप्रवाहमा ल्याई सक्षम बनाउने कुरा ठूलो चुनौती भएको बताउँदै मन्त्री मैनालीले ती चुनौतीलाई पूरा गर्ने मूख्य जिम्मेवारी राजनीतिक पार्टीको भएको बताउनुभयो ।
महिलाले उठाएका मुद्दालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सरकारलाई घच्घच्याउने दायित्व महिला आयोगको भएको बताउनुभयो । केही उपलब्धी पाएकोमै सन्तुष्ट नहुन सचेत गराउँदै मन्त्री मैनालीले आफ्ना माग पूरा गराउन र भएका कुरा कार्यान्वयन भएकि भएनन् भनी अनुगमन गर्ने कार्य महिला आयोगको भएको स्पष्ट पार्नुभयो ।
आयोगले नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका अग्रज महिलाको जीवनी समेटिएको पुस्तक पनि प्रकाशित गरेको छ । आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाँईले अग्रज महिलाले गरेका कार्य र उपलब्धिका कारण महिलालाई आफ्ना हकअधिकारका लागि लड्न पुस्तकले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पुस्तकले आफ्नो लक्ष्यमा पुग्न विभिन्न संघर्ष गर्दै राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा सफलता हासिल गरेका महिलाको जीवनीले वर्तमान महिलालाई प्रेरणा पुग्ने बताउनुभयो ।
प्रकाशित मितिः २०७२ मंसिर २३ गते बुधवार
Comment Here!