महिला खबर
नेपालगन्ज, मंसिर २४ । राजनीति गर्ने महिला नेताले घरभित्र र पार्टीमा समेत आफूहरूले दोहोरो हिंसा खेप्न बाध्य भएको गुनासो गरेका छन् ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा अखिल नेपाल महिला संघ बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले घरको काम गर्ने र पार्टीको काम गर्ने कुरामा महिला भएकै कारण हिंसा सहनु परेको बताए ।
अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नन्दा शर्माले महिलाको पहँचमा जग्गाजमीन र अन्य आर्थिक स्रोत नभएका कारण घरमा श्रीमानको भर पर्नुपर्ने र पार्टीभित्र पनि महिला भएकै कारण अवसर दिने कुरामा पछि पारिने गरेकाले आफूहरू दोहोरो हिंसा सहन बाध्य भएको बताउनुभयो ।
अखिल नेपाल महिला संघ बाँकेका उपाध्यक्ष इता अर्यालले औपचारिक कार्यक्रममा ठूला ठूला प्रतिवद्धता आउने भएपनि व्यवहारमा महिलामाथि कुनै न कुनै वाहनामा निरन्तर हिंसा भईरहेको स्पष्ट पार्नुभयो । ‘राजनीतिमा महिला सहभागिता भएन भन्ने गरिन्छ, तर, राजनीतिमा लागिरहेका महिलालाई अवसर दिने कुरामा पार्टी नेतृत्वले ध्यान दिँदैन ’ अर्यालले भन्नुभयो ।
उहाँले भन्नुभयो ‘लाभको पद लिने कुरा होस वा पार्टी नेतृत्वको कुरा होस् महिला भएकैकारण पहिल्यै सक्दैन भन्ने हल्ला गरिन्छ यो पनि महिलामाथिको हिंसा हो ।’
महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अछरी पोखरेलले वर्षमा एकपटक १६ दिने महिला हिंसाविरुद्धको अभियानका सन्दर्भमामात्रै महिला हिंसाको कुरा उठाएर हिंसा अन्त्य असम्भव रहेको बताउनुभयो । उहाँले राजनीतिक दलले पार्टीभित्र पनि नियमित रुपमा महिला हिंसाविरुद्धको अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।
नेकपा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले घरभित्र सासु बुहारी विच हुने हिंसाको पहिचान गरी घर भित्रैबाट चेतना जगाउन सकेमा हिंसामा कमी गर्न सकिने बताउनुभयो । उहाँले संविधानले महिलालाई दिएको अधिकारका बारेमा गाउँगाउँमा चेतना फैलाउन सके पनि हिंसामा कमी आउने बताउनुभयो ।
प्रकाशित मिति : २०७२ मसिंर २३ गते विहिवार
Comment Here!