अमृता अनमोल
रुपन्देही । मन त उनको नेपाली सेना बनेर देशको सेवा गर्ने थियो। अवसर पनि आएकै हो। विडम्वना, सदुपयोग गर्न सकिनन्। दूधे बालक जिम्मा लिने कोही नभएपछि नम्रता अर्थात सावित्रा कुमाल बाेहाेरा सेना समायोजन प्रक्रियामा जान सकिनन्। कृष्णसेन स्मृति ब्रिगेटको प्लाटुन कमाण्डर बनिसकेका उनका पति धनलाल बोहरालाई पनि सेनामा जवान मात्रै भएर बस्नुपर्ने भन्दै साथीहरूले मनोबल खस्काइदिए। त्यसपछि सावित्रीसँगै उनका पतिले पनि स्वेच्छिक अवकाश लिए।
पाल्पामा जन्मे हुर्केकी सावित्रा र हुम्लाको दार्म गाविसका धनलालले रुपन्देहीकाे सालझण्डी ३ पानबारीमा ४ कठ्ठा जग्गा लिएर घरबार बसाउनेे निधो गरे। राजमार्गबाट जंगल हुँदै झण्डै आधा घण्टामा पुगिने यो गाउँ बस्न राम्रो थियो। माओवादी र लडाकु यी दुई उपमाले भने सुरुवातमा यो जोडीलाई नीकै समस्या पार्यो। ब्यारेकबाट निस्केपछि सावित्राले सालझण्डी बजारमा सिलाइ सिकिन्। गाउँमा सिलाउने मान्छे कोही थिएन। घुलमेल नभएको गाउँमा कसरी व्यवसाय सुरु गर्ने अलमलमा थिइन्।
रुपन्देहीको सालझण्डीका पूर्व लडाकु सावित्रा बोहोरा पति धनलाल छोरा आयुषका साथ आफ्नै किराना पसलमा
यस्तैमा २ वर्षअघि युएसआइडीको सहयोगमा केयर नेपाल र नमूना एकिकृत विकास परिषदले सञ्चालन गरेको शान्तिकालागि संवाद परियोजनासँग उनी सम्पर्कमा आइन्। यसले आफूजस्तै द्वन्द्वमा सहभागी भएका धेरै परिवारसँग भेट गरायो। स्थानीय शान्ति समितिको काम, भूमिका र गाउँमा द्वन्द्वपछि पुर्नमिलनका कुरा गर्न संवाद सत्र चल्यो।
यसले मनका कुरा छिमेकीसित साट्ने मौका पनि मिल्यो। उद्यमशीलता तालिमको पनि अवसर दियो। गाउँको सहकारीमा आवद्ध गरायो। व्याज तिर्नु नपर्ने गरेर २० हजार ऋण पनि उनले पाइन्। त्यसपछि सावित्रामा व्यवसायी बन्ने सोच आयो। उनले सिलाइ मेसिन र किराना पसल सँगसँगै खोलिन्। अहिले दुवै व्यवसाय राम्रोसित चलेको छ। ‘हामी अहिले निकै खुसी छौं।’ सावित्राले भनिन् ‘गाउँछिमेकमा सबैसित राम्रो सम्बन्ध छ। व्यवसाय राम्रो चलेको छ।’
गाउँघरमा हेलमेल हुँदै जाँदा लडाकु, प्रहरी, सेनालगायतका परिवारबीचको सम्बन्धसमेत सुधि्रएको अनुभव उनले सुनाइन्। ‘पहिले प्रहरी र सेनाको परिवार देख्दा आफैँलाई पनि सत्रुजस्तो लाग्थ्यो। उनीहरूले पनि त्यसै गर्थे, अहिले त्यस्तो हुँदैन’ सावित्राले भनिन् । परिस्थितिले लडेका थियौं त्यस्ता कुरा सम्झनु हुँदैन भनेर सबैले बिर्सेका छौं।’
बोहोरा दम्पती अहिले गाउँका अगुवा बनेका छन्। उनीहरू शान्ति स्वयंसेवक र नागरिक वडा मञ्चमा छन्। अहिले उनीहरूसँग स—सानो कुरामा पनि गाउँले सल्लाह लिन आउँछन्। सामान किन्ने मात्रै होइन उनीहरूबाट सरसापट लिने पनि धेरै छन्। सहयोगी र मिजाशीला उनीहरू गाउँका कोही बिरामी हुँदा र मर्दापर्दा सवैभन्दा पहिला पुग्छन्।
‘कुनैबेला मर्ने या मार्ने विकल्प बोकेर हिँडेका मान्छे अहिले बाँच्ने र बचाउने अभियानमा लागेका छौं, ‘समय र संगतले यस्तो हुँदो रैछ’ सावित्राले भनिन्। यी दुई व्यवसायबाट उनीहरूको जीवनमा नसोचेको परिवर्तन आएको छ। व्यवसायसँगै पाएको सामाजिक प्रतिष्ठाले सावित्रा औधी खुसी छन्। भन्छिन् ‘देश बनाउँछु भनेर १३ वर्षमै घर छोडेर हिँडेकी थिएँ। देश हेर्दा घर, पढाइ सवै बिग्रियो। अहिले समाज बनाउँन लागेकी छु। समाज बनाउँदा घर र समाज सँगसँगै बन्दो रैछ।’
गाउँमै फरक देखिने चार कोठेे चिटिक्कको टीनले छाएको घर सावित्राका पति धनलालले आफ्नै अड्कलमा बनाएका हुन्। सिपालु इन्जीनियरले बनाएको भन्दा कम छैन। यौटा कोठामा सिलाइ मेसिन छ। अर्कोमा किराना पसल छ। यौटामा भान्छा र अर्कोमा बेडरुम बनाएका छन्। घरछेउमा गोठ छ। गोठमा एकातिर कुखुरा, बाख्रा र अर्कोतिर बंगुर पालेका छन्। कुखुरा, बाख्रा, बंगुर हेर्ने र पसलमा सामान ल्याउने जिम्मा धनलालले लिएका छन्। दुवै पसल चलाउने काम सावित्राको।
खाना पकाउने ख्वाउने र छोरा स्याहार्ने काम दुवैको पालैसित। सबैतिरबाट गरेर मासिक झण्डै ३० हजार रुयैयाँ कमाउछ यो जोडीले। आधा घरखर्चमा लगाउँदा पनि आधा कमाइ बचाएको छ। यो कमाइले छोरालाई उच्च शिक्षा दिलाउने उनीहरूको धोको छ। ‘हामीले सानोमा पाएको दुःख आफ्ना सन्तानले भोग्न नपरोस् भनेर सजग छौं।’ कक्षा १ मा पढ्दै गरेका ८ वर्षे छोरा आयूषतिर हेर्दै धनलालले भने।
ब्यारेकबाट छुटेपछि बोहोरा दम्पति पार्टीमा सक्रिय छैनन्। यसो हुँदा पनि संविधान आएकोमा भने निकै खुसी छन्। आफूहरू जस्तैको त्यागका कारण संविधान आएजस्तो उनीहरूलाई लागेको छ। जीवनको उर्वर समय लडाईंमा बिताएकी सावित्रा भन्छिन् ‘धेरै कुरा आएको छ। अब यो भएन ऊ भएन भनेर फेरी लड्नु हुँदैन। सामाजिक रुपमा सद्भाव राख्ने र आयआर्जन गर्ने काममा लाग्नुपर्छ। ‘
प्रकाशित मितिः २०७२ पुस १५ गते बुधवार
Comment Here!