‘मेरो बिन्ती कसैले सुनेन’


प्रकाशित मिति :2015-12-11 10:27:15

परिवारले छिःछिः र दुर दुर गर्न थालेपछि द्वन्द्वकालमा सुरक्षा निकायबाट यौन शोषणमा परेका पीडित महिला घरका न घाटका भएका छन् ।

नुमा रिजाल

Numaरुकुम । खाराका धेरै मानिसले अहिलेसम्म द्वन्द्वको घाउ बिर्सन सकेका छैनन् । त्यसमा पनि जुनमायाको पीडा अरुको भन्दा गहिरो छ । फागुन १० गतेको दिनले अहिले पनि उनलाई झस्काई रहन्छ । २०५६ सालको यसै दिन तत्कालिन राज्यपक्षबाट बलात्कृत भएकी जुनमायाले न्याय त पाईनन् नै पर पुरूषसँग सम्बन्ध राखेको भन्दै परिवारबाट समेत एक्लिनु पर्‍यो । आफू निर्दोष हुँदा पनि श्रीमानले जहिल्यै पिट्ने, घरबाट निस्केर जा भन्दै अपशब्द बोल्न थालेपछि उनका दुःखका दिन शुरु भए ।

सदरमुकाममा गिट्टी कुटेर परिवार चलाउँदै आएकी जुनुमाया न्याय नपाँउदा परिवारबाटै एक्लिएको बताउँछिन । २५ वर्षको उमेरमा बलात्कृत भएकी जुनमायालाई जति बिर्सन खोजेपनि त्यो घटना आँखामा आईरहन्छ । जुनमायाका अनुसार दुई महिनाको गर्भवती भएको समयमा २ जना सैनिकले  सामूहिक बलात्कार गरेका थिए ।

पुरानो घटना सम्झँदै जुनमाया भन्छिन् ‘दिउँसोको १२ वजेको थियो, हेलीकप्टरको आवाज आयो राइफल भिरेका धेरै जना सैनिक घरमा आए र मलाई तेरो श्रीमान खोई ? लड्न पठाएकि छस् ? भनेर सोधे । तेरो श्रीमानले हाम्रा साथीलाई मार्‍यो, अब तँलाई पनि मार्छौ भन्दै टाउकोमा राईफल राखेर लर्छादै पर्छादै गहुँ बारीमा लगे । मेरो लोग्ने कालापार कमाउन गएका छन् । मलाई यस्तो नगर्नुस सर मेरो पेटमा बच्चा छ भनेर धेरै पटक बिन्ती गर्दा पनि मार्ने धम्की दिएर बलात्कार गरे ।’

बलात्कारपछि बेहोस भएकी जुनमाया होसमा आँउदा वरिपरी कुनै सेना थिएनन् । गाउँकै एकजना दिदीले पानी खुवाएपछि ब्युँझिएकी जुनमाया भाग्न नसकेका कारण बलात्कारमा परेको बताउँछिन् । उनको अवस्था देखेर गहुँबारीमा आएका गाउँलेलाई सबै कुरा बताउँदा घरमा सासु र श्रीमानले किन सबैलाई भनेको भन्दै उल्टै गाली गरे ।

त्यसपछि लोग्नेको पिटाइ शुरु भयो । रक्सी खाएर सँधै पिट्ने श्रीमानले एकदिन कति जनालाई गराईस ? त नै खराव होस् भन्दै दाउराले हानेर शरिर छियाछिया पारिदिए ।  आफ्नो शरिरका घाउ देखाउँदै जुनमायाले भन्छिन् ‘मलाई त्यतिकै छाड्नुभन्दा मारेको भए आनन्द हुन्थ्यो । त्यतिबेला जन्मिएको बच्चा सेनाको हो भनी श्रीमानले लगाउने आरोप त सहनु पर्ने थिएन ।’ यस्तै आरोपले दिनहुँ परिवारमा हुने कलहले गर्दा परिवार छोड्नु पर्ने बाध्यता आएको बताउँछिन जुनमाया ।

द्वन्द्व पीडितले न्याय र क्षतिपुर्ति पाउँछन् भन्ने समाचार आएपनि आफूले केही नपाएको गुनासो गर्ने जुनमाया भन्छिन् ‘न गरिखान सकिएको छ न मरिजान सकिएको छ ।’  जिल्लामा सरकारी कार्यालयमा उजुरी लिएर जाँदा कतैपनि सुनुवाइ नभएको उनको भनाइ छ । तपाँइ के चाहनुहुन्छ भन्दा जुनमाया भन्छिन्, ‘त्यो अपराधीलाई झुण्ड्यार मारे मेरो मनलाई शान्ति मिल्ने थियो ।’

खाराकी सुकमाया पनि यस्तै पीडामा छन् । त्यसबेलाको घटना सम्झँदै सुकमाया भन्छिन् ‘हेलिकप्टरको आवाज आयो, मलाई भिडन्त भएको पनि थाहा थिएन । घरका सबै केटाकेटी र श्रीमान जंगल तिर भाग्न लागे । मेरो पेटमा बच्चा थियो म भाग्न सकिनँ । घरमा आर्मी आए, तेरो श्रीमान खोई भन्दै सोधे र मैले इन्डीया गयो भनेँ । तर, उनीहरूले श्रीमानलाई लड्न पठाउने, माओवादीलाई खाना पकाएर खुवाउने भन्दै घरमा आगो लगाईदिए ।’ घरमा आगो लगाएपछि सुकमायाको टाउकोमा वन्दुक राखी २ जना सैनिकले लछारपछार गर्दै गहुँबारीमा लगि बलात्कार गरे । यस पछि श्रीमानले आर्मीसँग सुतिस् भन्दै  नानाथरीका आरोप लगाउन थाले । त्यसपछि जन्मिएको वच्चा पनि आफ्नो होइन भन्दै जोसँग सुतेको उसैसँग जा भने ।

श्रीमानबाट एक्लिएपछि पनि जाने कुनै ठाँउ नभएकाले अन्याय सहेरै भएपनि बसेको गुनासो गर्छिन् सुकमाया । उनी भन्छिन्, ‘आर्मी आएर एक दिन अत्याचार गरे, अहिले घरमा सँधै त्यही कुरा निकालेर दिनदिनै अत्याचार गर्छन्, मर्नु न वाँच्नु भो ।’ आफूजस्ता पीडितलाई कसैले नहेरेको गुनासो गर्दै सुकमाया भन्छिन् ‘द्वन्द्वमा मरेकाहरूका परिवारले राहत पाए, अपाङ्गता भएकाले पनि राहत पाए तर हामी जस्ता बलात्कृत महिलाले कहिले न्याय पाउने ?’

पीडित महिलाले राज्यबाट उचित राहत पाउनुपर्ने, छोराछोरीलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने, उपचारको व्यवस्था गरिनुपर्ने र स्वरोजगार सम्बन्धि तालिम एवं परामर्श दिनुपर्ने माग छ उनीहरूको ।

आफू बलात्कृत भएकै दिन आफ्नी बहिनी पनि बलात्कार भएको र डरले अहिलेसम्म कसैलाई भन्न नसकेको सुकमाया बताउँछिन् । बलात्कारमा परेर आफ्नो समस्या सुनाउँदा परिवार र समाजबाट अपहेलित हुने डरले कति महिला अन्याय सहेर चुपचाप बसेको उनको भनाइ छ ।

यी दुवै महिलाले न्याय पाउँ भन्दै मानवअधिकार आयोगमा २०७१ सालमा निवेदन दिए ।  तर एक वर्ष बितिसक्दा पनि त्यसको सुनाई हुन सकेको छैन । महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष डा‍ रेणु राजभण्डारी द्वन्द्वको समयमा भएका बलात्कारका पीडितले अझै न्याय पाउन नसकेको बताउँछिन् । सञ्जाल रुकुमकी अध्यक्ष कल्याणी खड्का द्वन्द्वको समयमा यौन शोषणमा परेको भन्दै सात जना महिलाले उजुरी दिएपनि धेरै महिला परिवार  र समाजको डरले बाहिर आउन नसकेको बताउँछिन् । बाहिर आएका महिलाको पारिवारिक सम्बन्ध बिग्रिएको देखेकाले अन्य महिला उजुरी गर्न डराएको खड्काको भनाई छ ।

नेपालमा चलेको दश वर्षे द्वन्द्वको समयमा आफन्त गुमाएका, अङ्गभंङ्ग भएका र बेपत्ता परिवारले राहत पाउँदा पनि राज्यपक्ष र विद्रोही पक्षबाट यौन शोषणमा परेका पीडित महिलाले राहत पाउन सकेका छैनन् । यौन हिंसामा परेका र बलात्कृत भएका महिलाले स्थानीय शान्ति समितिमा निवेदन त दिएका छन् तर, त्यसको कुनै सुनुवाई हुन सकेको छैन । १० फागुन २०५६ मा भएको खारा घटनामा मात्र होईन, द्वन्द्वको समयमा महिला र बालिकामाथि भएको यौन शोषणको अहिलेसम्म कतै पनि सुनुवाई हुन सकेको छैन् । सञ्जालकी अध्यक्ष खड्काका अनुसार मनोपरामर्श र पारिवारिक सहयोगको अभावमा पीडित महिलामा मनोसामाजिक समस्या समेत देखिएको छ ।

(आलेखमा उल्लेख गरिएका पीडितको नाम परिवर्तन गरिएको छ)

प्रकाशित मितिः २०७२ माघ २३ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: